मंसिर ८ गते कात्तिक शुक्ल पूर्णिमामा लाग्ने मेलाका लागि सरसफाइ, सजावट, व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको छ।
डडेल्धुरा — डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल उग्रतारा मन्दिरमा लाग्ने देहीजाँत (जात्रा)को तयारी सुरु भएको छ। कात्तिक शुक्ल पूर्णिमाका दिन मंसिर ८ गते लाग्ने मेलालाई लक्षित गरी मन्दिर परिसरको सरसफाइ, सजावट तथा व्यवस्थापनका काम थालिएका छन्। मेला आउन केही दिन बाँकी रहँदै मन्दिरमा दर्शन गर्न पुग्ने भक्तजन तथा पर्यटकको चहलपहल बढ्न थालेको छ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अहिले दैनिक करिब एक हजार भक्तजन तथा पर्यटक मन्दिर पुग्ने गरेका छन्। देहीजाँतका दिन भने एक लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको उनले बताए। मेलालाई व्यवस्थित बनाउन मन्दिर क्षेत्र सजाउने तथा आवश्यक व्यवस्थापनका काम भइरहेको उनले जानकारी दिए।
विशेषगरी दसैं–तिहार तथा अन्य बिदाका समयमा घर फर्किएका सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिक तराई तथा काठमाडौं फर्किने क्रममा उग्रतारा मन्दिरमा दर्शन गर्न पुग्ने गरेका छन्। बैतडी र डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्गको छेउमै मन्दिर रहेकाले यात्राका क्रममा दर्शन गर्नेको संख्या बढेको अध्यक्ष साँकीले बताए। उनलेे विभिन्न जिल्लाबाट विद्यार्थी पनि शैक्षिक भ्रमणमा आउने गरेको बताए ।
डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर दूरीमा रहेको उग्रतारा मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिकस्थलमध्ये एक हो। यहाँ दर्शन तथा पूजाआजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। यही आस्थाका कारण प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने देहीजाँतमा डडेल्धुरासहित बैतडी, बझाङ, दार्चुला तथा सुदूरपश्चिमका अन्य जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गर्छन्।
मेलामा हुने भीडभाडलाई ध्यानमा राख्दै सुरक्षा तथा व्यवस्थापनको तयारी पनि अघि बढाइएको छ। जिल्ला प्रशासनले भक्तजनको आवागमन सहज बनाउन तथा सम्भावित भीड व्यवस्थापनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ।