काठमाण्डौ । एनसेलले आगामी पुस २ देखि देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने जनाएको छ। पुरानो प्रविधि विस्थापन गर्दै फोरजी सेवा विस्तारमा केन्द्रित हुन लागेको कम्पनीले ग्राहकलाई फोरजी सिममा स्तरोन्नति गरी भोल्टे सेवा प्रयोग गर्न आग्रह गरेको छ।
कम्पनीका अनुसार कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये ९९२ वटामा सेवा बन्द भइसकेको छ। अब बाँकी २ हजार १३७ साइटमा पनि चरणबद्ध रूपमा थ्रीजी बन्द गरिनेछ। यी साइट कुल थ्रीजी साइटको करिब ६८ प्रतिशत हुन्।
बाँकी साइटमा थ्रीजी बन्द गर्न कम्पनीले चार चरणको तालिका बनाएको छ। पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका साइटमा सेवा बन्द गरिनेछ। दोस्रो चरणमा मंसिर १४ गते काठमाण्डौ, ललितपुर र भक्तपुरका साइटमा थ्रीजी बन्द गर्ने योजना छ।
तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी विभिन्न स्थान तथा चितवनमा सेवा बन्द हुनेछ। चौथो चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी स्थानमा थ्रीजी बन्द गरिने कम्पनीले जनाएको छ।
थ्रीजी बन्द भए पनि तत्काल फोरजीमा स्तरोन्नति हुन नसक्ने ग्राहकका लागि टुजीमार्फत आधारभूत भ्वाइस कल र एसएमएस सेवा निरन्तर रहने एनसेलले स्पष्ट पारेको छ। फोरजी डेटा प्रयोग गर्न भने फोरजी सिमसँगै त्यसलाई सपोर्ट गर्ने मोबाइल आवश्यक पर्नेछ।
ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्री केन्द्रमा पुगेर पुरानो सिम निःशुल्क फोरजीमा स्तरोन्नति गर्न सक्नेछन्। यसरी सिम परिवर्तन गर्दा सात दिनसम्म प्रयोग गर्न मिल्ने २ जीबी डेटा पनि निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ। हाल एनसेलका सक्रिय ग्राहकमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन्।
फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन अर्थात् भोल्टेबाट स्पष्ट आवाज, छिटो कल कनेक्सन तथा कुराकानीसँगै डेटा प्रयोग गर्ने सुविधा प्राप्त हुने कम्पनीको भनाइ छ। यसका लागि फोरजी सिम, भोल्टे सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्कको पहुँच आवश्यक हुन्छ। ग्राहकले *123*11# डायल गरी सेवा सक्रिय गरेपछि मोबाइलको सेटिङमा पनि भोल्टे खुलाउन सक्छन्।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले पुराना प्रणालीको सञ्चालन तथा मर्मतसम्भार खर्च घटाउँदै छिटो र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्ने योजनाअनुसार थ्रीजी बन्द गर्न लागिएको बताइन्। यसबाट भोल्टेसहितको फोरजी नेटवर्क सुदृढ बनाउन र भविष्यको फाइभजी प्रविधिका लागि तयारी गर्न सहयोग पुग्ने उनको भनाइ छ।
थ्रीजी बन्द भएपछि उपलब्ध हुने फ्रिक्वेन्सी फोरजीको क्षमता विस्तार र कनेक्टिभिटी सुधारमा पुनः प्रयोग गरिने कम्पनीले जनाएको छ। एनसेलका अनुसार हाल यसको फोरजी नेटवर्क करिब ९५ प्रतिशत जनसंख्याको पहुँचमा पुगेको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।