फोरजी सिम नलिएका करिब पाँच प्रतिशत ग्राहकलाई एनसेलले निःशुल्क सिम दिँदै टुजीमार्फत आधारभूत सेवा निरन्तर राख्ने जनाएको छ ।
काठमाडौँ — एनसेलले थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । कम्पनीले अब बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइट पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ ।
एनसेलका कुल ३ हजार १ सय २९ वटा थ्रीजी साइटमध्ये हालसम्म ९ सय ९२ वटा साइट बन्द भइसकेका छन् । अब कम्पनीले बाँकी रहेका २ हजार १ सय ३७ वटा साइटमा समेत थ्रीजी सेवा बन्द गर्ने भएको हो ।
थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने रणनीतिअनुरूप एनसेलले यसलाई चार चरणमा कार्यान्वयन गर्दै छ । पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट बन्द गरिने र दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइटहरू बन्द गरिनेछन् । त्यसैगरी, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी विभिन्न स्थानका साथै चितवनमा थ्रीजी सेवा बन्द गरिने एनसेलले जानकारी दिएको छ । चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा बाँकी रहेका सबै थ्रीजी साइट बन्द गरिनेछन् ।
२०७४ मा सुरु भएको एनसेलको थ्रीजी सेवा यही पुस २ गतेदेखि पूर्ण रूपमा बन्द हुनेछ । यससँगै ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत अझ स्पष्ट तथा उच्च गुणस्तरको भ्वाइस कल र छिटो कल कनेक्सनको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । भोल्टे प्रविधिबाट ग्राहकले भ्वाइस कल गर्दै एकै समयमा फोरजी डेटा पनि प्रयोग गर्न सक्नेछन् । भोल्टे चलाउनका लागि ग्राहकले फोरजी सिमका साथै यो सेवा चलाउन मिल्ने मोबाइल प्रयोग गर्नुपर्छ ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले भनिन्, 'पुरानो प्रविधिको सट्टा नयाँ, छिटो र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्ने तथा पुराना प्रणालीको सञ्चालन र मर्मतसम्भार लागत घटाउने योजनाबमोजिम हामीले यो निर्णय लिएका हौं । थ्रीजी सेवा बन्द गर्ने यो प्रक्रियाले हाम्रा बाँकी ग्राहकलाई फोरजी प्रविधिमा आधारित सेवाहरूमा अपग्रेड हुने अवसर प्रदान गर्दछ । थ्रीजी सेवा बन्द भएपछि हामी भोल्टेसहितको फोरजी नेटवर्कलाई थप सुदृढ बनाउन र भविष्यमा फाइभजी प्रविधिका लागि तयार हुन सक्षम हुनेछौं ।'
थ्रीजी सेवा बन्द गर्ने क्रममा कुनै पनि ग्राहक डिजिटल डिभाइडको जोखिममा नपरून् भन्नेमा एनसेल सचेत रहेको र फोरजीमा अपग्रेड हुन बाँकी रहेका ग्राहकले पनि टुजी नेटवर्कमार्फत आधारभूत अत्यावश्यक दूरसञ्चार सेवाहरू निरन्तर प्रयोग गर्न सक्ने व्यवस्था सुनिश्चित गर्ने उनले बताएकी छन् ।
यस कदमले एनसेलको सेवा गुणस्तर थप सुधार गर्न, फोरजी नेटवर्कको क्षमता अभिवृद्धि गर्न र सञ्चालन खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, यसले कम्पनीलाई भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न पनि मद्दत गर्नेछ । थ्रीजी सेवा बन्द भएपछि उपलब्ध हुने फ्रिक्वेन्सीलाई फोरजी सेवा थप सुदृढ बनाउन, नेटवर्क क्षमता बढाउन र कनेक्टिभिटी सुधार गर्न पुनः प्रयोग गरिने एनसेलले बताएको छ ।
हाल थ्रीजी सेवा प्रयोग गरिरहेका ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहुन् भन्ने सुनिश्चित गर्न एनसेलले आफ्नो टुजी नेटवर्क उपलब्ध गराउने स्पष्ट पारेको छ । टुजी नेटवर्कमार्फत ग्राहकले आधारभूत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलको फोरजी यसअघि नै नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पहुँच विस्तार भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
हाल एनसेलका कुल सक्रिय ग्राहकमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरिरहेका छैनन् । थ्रीजी सेवा बन्द हुने क्रममा ग्राहकलाई पर्न सक्ने असुविधा न्यूनीकरण गर्न कम्पनीले अझै थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको एनसेलले जनाएको छ ।