जय नेपाल पार्टीले संस्थागत सुधार र राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको मागसहित अघि सारेका आठबुँदे संकल्पलाई अभियानका रूपमा जनतामाझ लैजाने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष डा. धवलशम्सेर राणाको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले संविधान संशोधनको लक्ष्यसहित गत कात्तिक १७ गते सार्वजनिक गरिएका संकल्पलाई अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।
पार्टीले सुदृढ राष्ट्रियता र सार्थक प्रजातन्त्रका लागि संविधान संशोधन, आकासिँदो बजार भाउ र महँगी नियन्त्रण, संवैधानिक राजसंस्था तथा हिन्दु, बौद्ध र किरातसहितको सनातन हिन्दु अधिराज्य स्थापना गर्नुपर्ने माग अघि सारेको छ ।
त्यस्तै धर्मान्तरण, गौहत्या र गाईको मासु बिक्रीमा प्रतिबन्ध, युवा तथा महिलामैत्री आर्थिक विकास र प्रविधिमा आधारित समुन्नत नेपालको निर्माण, बैंक, सहकारी तथा लघुवित्त पीडितलाई न्याय दिनुपर्ने विषयलाई पनि संकल्पमा समेटिएको छ ।
पार्टीले अधिकारसम्पन्न स्थानीय निकाय निर्माण, प्रदेश संरचनाबारे जनमत संग्रह तथा विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्नुपर्ने मागसमेत अघि सारेको छ । ‘एक पटकको नेपाली, सधैँका लागि नेपाली’ भन्ने मान्यतासहित विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने उसको माग छ ।
बैठकले दसैँ, तिहार र छठका कारण केही समय स्थगित जिल्ला कार्यसमिति गठन प्रक्रियालाई पुनः सुचारु गर्ने निर्णय पनि गरेको छ । गठन हुन बाँकी जिल्लामा प्रक्रिया तीव्र पार्ने पार्टीको निर्णय छ ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले उम्मेदवार बन्न इच्छुक सक्षम र ऊर्जावान् व्यक्तिलाई सम्पर्कमा आउन आह्वान गरेको छ । सम्भावित उम्मेदवारको नामावली देशका ७७ वटै जिल्लाबाट संकलन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यसैगरी पार्टी विधानअनुसार केन्द्रीय कार्यसमिति सदस्यमा मोरङका नरेशकुमार राई, उदयपुरका केशव पाण्डे र गुल्मीका युवराजा रानालाई मनोनयन गरिएको छ । सम्मानित सल्लाहकार समिति सदस्यमा बाँकेका देवेन्द्र पौडेल, मोरङका टीका उप्रेती र राजकुमार कार्की तथा चितवनका कमलराज विष्ट मनोनित भएका छन् ।
कोशी प्रदेश इन्चार्जमा सुनसरीका सुरेशप्रसाद आचार्य र प्रदेश संयोजकमा मोरङका नरेशकुमार राईलाई जिम्मेवारी दिइएको छ ।
स्थानीय तहको निर्वाचन गैरदलीय रूपमा सञ्चालन हुनुपर्ने माग र बहस चलिरहेका बेला यसबारे जनस्तरको राय संकलन गर्न पनि पार्टीले निर्णय गरेको छ । प्रदेश तहका इन्चार्ज र संयोजकलाई जिम्मेवारी दिँदै १५ दिनभित्र पार्टीमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
त्यस्तै अर्को व्यवस्था नभएसम्म पार्टीको प्रचारप्रसार विभागको जिम्मेवारी केन्द्रीय सचिवालय मातहत राख्ने निर्णय बैठकले गरेको छ । पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जारी गरेको विज्ञप्तिमा बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
प्रकाशित: ३० कार्तिक २०८३ १६:५७ सोमबार