सभापति थापाले समाजलाई घृणा तथा प्रतिशोधबाट मुक्त गराउन सकारात्मक सन्देश फैलाउनका लागि पार्टीले एकमहिने अभियान सञ्चालन गर्ने बताए।
रौतहट — कांग्रेस सभापति गगनकुमार थापाले नेपाली समाजमा व्याप्त नकारात्मकता, घृणा, निषेध र पूर्वाग्रह अन्त्य गर्दै सकारात्मक ऊर्जा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । वर्तमान सरकारका गतिविधिप्रति व्यंग्य गर्दै उनले समाजले अब नकारात्मकता, घृणा, निषेध र पूर्वाग्रहको अन्त्य चाहेको बताए ।
पार्टीको १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश भ्रमणमा आएका थापाले आइतबार रौतहटको चन्द्रनिगाहपुरमा चन्द्रपुर नगर समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा देशले यतिबेला सकारात्मक सोच र ऊर्जाको खोजी गरिरहेको बताए । ‘यति धेरै नकारात्मकता नेपाली समाजले बोक्न सक्दैन,’ उनले भने, ‘यति धेरै घृणा, निषेध र पूर्वाग्रह अब सहन सक्ने अवस्था छैन ।’
कांग्रेसले विगतमा पनि विभिन्न घेराबन्दी र चुनौतीको सामना गर्दै आएको उल्लेख गर्दै थापाले अहिलेका षड्यन्त्र र अवरोधलाई पनि चिर्न पार्टी सक्षम रहेको दाबी गरे । ‘नेपाली कांग्रेसले यस्ता घेराबन्दी चिरेर आएको पार्टी हो । हामी यी सबै घेराबन्दी र षड्यन्त्र चिर्छौं,’ उनले भने ।
कांग्रेस अब सकारात्मक सोचका साथ अघि बढ्ने स्पष्ट पार्दै उनले समाजलाई घृणा र प्रतिशोधबाट मुक्त गराउने अभियानमा पार्टी लाग्ने बताए । कांग्रेसका लागि निर्वाचनभन्दा पार्टी र देशको भविष्य ठूलो रहेको उनको भनाइ थियो । माओवादी द्वन्द्वकालमा समेत विभिन्न चुनौतीसँग जुधेर अघि बढेको कांग्रेसले अहिलेको राजनीतिक तथा सामाजिक परिस्थितिलाई पनि बुझ्ने र त्यसको समाधान खोज्ने उनले बताए ।
समाजलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने जिम्मेवारी अब कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो । समाजमा फैलिएको निराशा र नकारात्मक भाष्य चिर्न कांग्रेसले चाँडै अभियान सञ्चालन गर्ने जानकारी दिँदै थापाले त्यसका लागि एक महिनासम्म गाउँगाउँ पुग्ने कार्यक्रम बनाइएको बताए । ‘केही भएन, सबै बिग्रियो भन्ने भाष्यलाई चिर्न अब कांग्रेस गाउँगाउँ जान्छ । समाज र समुदायमा पुगेर सकारात्मक सन्देश प्रवाह गर्छ,’ उनले थपे ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई जिल्ला र प्रदेश अधिवेशनको तयारीमा जुट्न निर्देशनसमेत दिएका छन्। निर्वाचन आयोगले बैठक बोलाएको उल्लेख गर्दै थापाले उक्त बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने अपेक्षा व्यक्त गरे । उनले छठ पर्वको शुभकामना दिँदै ‘छठीमाताले सबैलाई सकारात्मक सोच प्रदान गरून्’ भन्ने कामनासमेत गरे । सभापति थापा केही बेरमा मकवानपुरमा गत बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा–४, सुन्दरपुरका पीडित परिवारलाई समेत भेट्ने कार्यक्रम छ ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।