Trending
Prev Story
Next Story

कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

Onlinekhabar •
November 14, 2026 • 01:31 PM
2
2 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार …

कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ ।

१५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार सञ्चालन हुन लागेको अभियान महिनाभर चल्नेछ । अभियान वडा तहसम्म पुग्ने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

‘नयाँ अभियान सुरु गर्दैछौं । हामी लोकतन्त्र बचाउन तयार छौं । कांग्रेस रूपान्तरण गर्न तयार छौं । हामी सारा विभेदहरू अन्त्य गर्ने गरी संघर्ष गर्न तयार छौं,’ पौडेलले भने, ‘हामी तयार छौं भन्ने अभियानअन्तर्गत मंसिर १ गतेदेखि हाम्रा कार्यक्रमहरू सबै जिल्लामा, सबै वडा तहमा सुरु हुन्छन् ।’

कांग्रेसले अभियानलाई स्थानीय तहको निर्वाचनको तयारी, संगठनको प्रभावकारिता अभिवृद्धि, पार्टीको आन्तरिक रूपान्तरण र प्रतिपक्षीय भूमिका सशक्त बनाउने उद्देश्यसँग जोडेको छ ।

यसक्रममा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरी वडा तहसम्म संगठनात्मक गतिविधि सञ्चालन गरिने छ ।

अभियानमार्फत वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिसहित झण्डै तीन लाख नेता–कार्यकर्तालाई परिचालन गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले उनीहरूलाई पार्टीको नीति, विधान, जिम्मेवारी र आगामी कार्यदिशाबारे जानकारी गराउनुका साथै संगठनात्मक गतिविधिमा थप जिम्मेवार बनाउने उद्देश्य लिएको छ ।

महामन्त्री पौडेलका अनुसार उम्मेदवार छनोट प्रक्रिया, त्यसमा पार्टीका सदस्यहरूको सहभागिता र अधिकार, विधानका व्यवस्था तथा १५औं महाधिवेशनबाट पारित नीतिगत र सांगठनिक निर्णयहरू अभियानका प्रमुख विषय हुनेछन् ।

‘प्राइमरी प्रोसेस भनेको के हो ? उम्मेदवार चयनमा साथीहरूको संलग्नता र अधिकार के–के हुन्छ ? विधानका विषय के छन् ? र, १५औं महाधिवेशनले के–के पारित गरेको छ ? भन्ने सबै कुरा अभियानमा समेटिन्छन्,’ उनले भने ।

पार्टीको आन्तरिक कार्यशैली सुधारलाई पनि अभियानले प्राथमिकता दिने बताइएको छ । बैठक सञ्चालनको विधि, मर्यादाक्रम, आसन ग्रहण, कार्यक्रम व्यवस्थापन र छलफललाई विषयकेन्द्रित बनाउने विषयमा नेता–कार्यकर्तालाई प्रशिक्षित गरिने पौडेलले बताए ।

‘कार्यक्रम समयमा सुरु गर्ने, छोटो बनाउने, विषयवस्तु केन्द्रित भएर अगाडि बढ्ने, बैठकमा प्राथमिकता निर्धारण गर्ने र स्थानीय मुद्दाहरू जोडेर निर्णय गर्ने विषय यसमा आउँछन्,’ उनले अनलाइनखबरसँग भने ।

अभियानले पार्टीको आन्तरिक रूपान्तरणलाई व्यवहारमा उतार्ने र संगठन सञ्चालनका क्रममा देखिएका कमजोरी सच्याउने प्रक्रियालाई समेत समेट्ने भएको छ ।

स्थानीय तहका मुद्दालाई पार्टीका बैठक र निर्णय प्रक्रियासँग जोड्ने र जिम्मेवारीमा रहेका नेता–कार्यकर्ताको भूमिका स्पष्ट पार्ने योजना कांग्रेसको छ ।

महामन्त्री पौडेलले अभियानको आगामी स्थानीय तहको निर्वाचनको तयारी र प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसको भूमिका प्रभावकारी बनाउनु महत्वपूर्ण पक्ष भएको बताए ।

‘कांग्रेस रूपान्तरणको आन्तरिक प्रक्रिया कस्तो हुन्छ ? त्यसले पार्टीका गतिविधिमा कस्तो असर पार्छ ? र, कसरी सच्याउने बाटो तय गरिन्छ ? भन्ने विषयदेखि स्थानीय निर्वाचनको तयारी र प्रतिपक्षीय भूमिका सशक्त रूपमा निर्वाह गर्ने तयारीसम्मका सबै कुरा यस अभियानमा आउँछन्,’ महामन्त्री पौडेलले भने ।

उनले अभियानको मूल उद्देश्य संगठन सुदृढीकरण, स्थानीय निर्वाचनको तयारी र प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउनु रहेको बताए ।

‘स्थानीय तहको निर्वाचनको तयारीकै सिलसिला हो यो अभियान । कांग्रेस रूपान्तरण गर्न तयार छौं, प्रतिपक्षको भूमिका सशक्त बनाउन तयार छौं र संगठनको सशक्तीकरणका लागि यसको प्रभावकारिता बढाउन तयार छौं भन्ने यसको मूल उद्देश्य हो,’ पौडेलले भने ।

यसअघि कांग्रेस सभापति गगनकुमार थापाले कात्तिक १२ गते निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै मंसिर महिनाभर विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए ।

१५औं महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरू समुदायस्तरसम्म पु¥याउन तथा पार्टी संगठनलाई सुदृढ बनाउन अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ थियो ।

‘आजको जिम्मेवारी उठाउन तयार छौं, हामी प्रतिपक्षीको जिम्मेवारी उठाउन तयार छौं । हामी स्थानीय तहको जिम्मेवारीसमेत ठीक ढंगले वहन गर्न तयार छौं । यो हामीले उठाएको जिम्मेवारी आमनागरिकका बीचमा लिएर जानुपर्छ,’ थापाले भनेका थिए, ‘त्यसकारण मंसिर महिनाभरि ‘हामी तयार छौं’ भन्ने विशेष अभियान सञ्चालन गर्छौं । अभियानका बाँकी रहेका कामहरू पार्टी कार्यालयले पछि तयार गर्छ ।’

सभापति थापाले प्रतिपक्षी र स्थानीय तहको जिम्मेवारी निर्वाह गर्न कांग्रेस तयार रहेको सन्देश आमनागरिकसम्म पु¥याउन नेता–कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए ।

सभापति थापाले कात्तिक १० मा पोखरा पुगेर एक महिने अभियानका क्रममा पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गरिने अभिव्यक्ति दिएका थिए ।

वर्षौंदेखि कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग अभियानका क्रममा संवाद गर्नुपर्ने उनको भनाइ थियो ।

मतदाताले कांग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख गर्दै सभापति थापाले उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नको जवाफ दिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।

‘उनीहरूलाई दोष दिने होइन, उनीहरूको घरमा पुग्ने, गुनासा सुन्ने र विश्वास पुनः स्थापित गर्ने अभियान चलाउनुपर्छ । यसका लागि मंसिर महिनाभरि देशव्यापी संवाद अभियान सञ्चालन गर्न प्रस्ताव गर्दछु,’ थापाको भनाइ थियो, ‘अब नेताहरू केन्द्रमा मात्र सिमित भएर बस्ने होइन, गाउँ, वडा र टोलसम्म पुग्नुपर्छ । स्थानीय निर्वाचनका उम्मेदवार स्थानीय पार्टी सदस्यले नै छान्ने व्यवस्था गरिएको छ । त्यसैले उम्मेदवार बन्न चाहनेदेखि पार्टीका नेतासम्म जनतामाझ पुग्नुपर्छ ।’

कांग्रेसको १५औं महाधिवेशनपछि पार्टी नयाँ सोच र संकल्पसहित अघि बढेको उल्लेख गर्दै उनले विगतमा पार्टीबाट टाढिएका मतदाताका गुनासा सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

‘नयाँ पुस्तालाई पुरानासँग अनुभव छैन भन्ने लाग्छ भने पुरानो पुस्तालाई नयाँसँग अनुभव छैन भन्ने लाग्न सक्छ । तर नयाँ र पुराना दुवै पुस्तासँग आ–आफ्नै ज्ञान र अनुभव छन् । त्यसैले पार्टीभित्र चारै पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्दै सबैलाई सँगै लिएर अघि बढ्नुपर्छ,’ उनले भनेका थिए, ‘स्थानीय निर्वाचनमा महिला, सबै जातजाति, भाषाभाषी र समुदायलाई उचित अवसर दिनुपर्छ । १५ औं महाधिवेशनपछि नेपाली काँग्रेसले वर्षौँदेखि पार्टीसँग जोडिएका तर पछिल्लो समय टाढिएका मतदातासँग पुनः संवाद गर्नुपर्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#कांग्रेस #मंसिर
Compare →
Hamro Patro News
1d ago
मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

२७ कार्तिक, पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्र...

#कांग्रेस #मंसिर
Compare →
Bizshala
1d ago
एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमााण्डौ । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने...

#मंसिर #गते
Compare →
Ekantipur
2d ago
फङफङदेन झरना फुटबल विजेतालाई ३ लाखको अलैंची दिइने

फङफङदेन झरना फुटबल विजेतालाई ३ लाखको अलैंची दिइने

मंसिर ६ गते हुने फाइनलका विजेताले तीन लाख दुई हजार ८३ रुपैयाँ बराबरको अलैंची पुरस्कार पाउनेछन् ।

#मंसिर #गते
Compare →

Related Stories

Politics & Governance
Build #2612