उत्पादन लागत, ढुवानी खर्च र भारतको बजार मूल्य अध्ययन गरेपछि मात्र दूधको मूल्य समायोजन गर्नुपर्ने बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीले बताए ।
काठमाडौं — राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी)ले दूधको मूल्य पुनरावलोकनसम्बन्धी दुग्ध व्यवसायीबाट प्राप्त सुझावका आधारमा दूधको मूल्य वृद्धि गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयमा लेखी पठाउने भएको छ ।
बिहीबार बोर्डको कार्यालयमा आयोजित छलफलमा राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीले यस्तो बताएका हुन् ।
दूधको मूल्य समायोजन कृषकका लागि समेत संवेदनशील विषय भएको भन्दै उनले उत्पादन लागत र ढुवानी खर्चको समेत अध्ययन गरेर दूधको मूल्य पुनरावलोकन हुनुपर्ने बताए । उनले दूधको मूल्य निर्धारणका लागि संरचनागत अवधारणा तयार गर्दै सरोकारवालाबाट प्राप्त सुझावलाई समेत समेटेर कृषि मन्त्रालयमा प्रतिवेदन बुझाउने बताए । उनले दुग्ध क्षेत्रका विद्यमान समस्या समाधानका लागि तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा कानुनी व्यवस्था गर्नुपर्ने विषय छुट्याएर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘दुग्ध क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र हो । यसमा धेरै समस्या छन् । दूधको मूल्य बढ्नुपर्छ तर हामीले यसका लागि दूध उत्पादनदेखि ढुवानीसम्मका सबै कुराको अध्ययन गरेर मात्र बढाउनुपर्छ । दुग्ध किसानको मागअनुसार मूल्य पुनरावलोकनका लागि पहल गरिरहेका पनि छौँ । तर अहिलेसम्म काम भएको छ, त्यो अवधारणामा मात्र भएको छ । हामीले नेपालमा दूधको मूल्य पुनरावलोकन गर्दा भारतमा समेत फरक पर्ने भएकाले त्यहाँको बजार भाउको समेत अध्ययन गर्नुपर्ने हुन्छ । यसका लागि कानुनी प्रक्रियासमेत अपनाउनुपर्छ । केही कुरामा ल्याकिङ छ । त्यो ऐनसँग बाँधौँ । ’
दूधको मूल्य ३ वर्षदेखि स्थिर रहेको भन्दै किसानले मूल्य पुनरावलोकन गर्न माग गर्दै आएका छन् ।