३० कात्तिक, काठमाडौं । चितवनका दूग्ध किसानहरूले दूधको मूल्यवृद्धि गर्न माग गरेका छन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रने चेतावनी दिए ।
देशमा खाद्यान्न र पशु आहारको मनपरी मूल्य वृद्धिका कारण किसान मर्कामा परिरहेको उनले बताए । उनले प्रत्येक २ बर्षमा दुधको मूल्य पुनवरालोकन गर्ने व्यबस्था गरिएको भएपनि सो बिषयमा कुनै छलफल हुन नसकेको गुनासो गरे ।
पटक पटक कृषि मन्त्रालय लगाएत सरोकारवालाहरूमा ज्ञापन पत्र बुझाउँदा समेत सरकारले चासो नदिएको उनको भनाइ छ ।
हाल ६५ रूपैया प्रतिलिर बिक्री गर्दै आएको दुधको मूल्य ७५ रूपैया हुनु पर्ने माग किसानहरूको छ ।
२०७६ सालमा दुधमा आत्मनिर्भर जिल्ला घोषणा भएको चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ भने करिब ४० किसानहरू यो पेशामा आवद्ध रहेको संघले जनाएको छ ।