दाना, मकै र ढुटोको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा उत्पादन लागत धान्न नसकेको किसानको गुनासो छ।
चितवन — हप्तादिनभित्र दूधको मूल्य नबढाए आन्दोलनमा उत्रने चितवनका दुग्ध उत्पादक किसानले चेतावनी दिएका छन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सोमबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी किसानले प्रतिलिटर दूधको ७५ रुपैयाँ पाउने गरी मूल्य बढाउन माग गरेको छ । चार वर्षयता दूधको मूल्य नबढ्दा किसान मर्कामा परेको संघले जनाएको छ ।
संघका सचिव कल्याण अधिकारीले मूल्य बढाउन माग गर्दै दसैंअघि नै कृषि मन्त्रालयदेखि संघीय संसद्को कृषि समितिसम्म मागपत्र बुझाए पनि सुनुवाइ नभएको बताए । राष्ट्रिय दुग्ध विकास नीति–२०७८ मा प्रत्येक दुई वर्षमा मूल्य पुनरावलोकन गर्ने व्यवस्था भए पनि सरकारले कार्यान्वयन नगरेको उनको भनाइ छ । चार वर्षअघि अर्थात् २०७९ मा मूल्य बढेयता किसानले पाउने मूल्य यथावत् रहेको उनले बताए ।
संघका चितवन अध्यक्ष किशोर बगालेले चार वर्षअघि चिल्लो पदार्थ (फ्याट) चार र एसएनएफ आठ भएको दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम गरिएको बताए । यही नै हालसम्म किसानले पाउँदै आएको अधिकतम मूल्य हो । फ्याट चार र एसएनएफ आठ नपुगे किसानले योभन्दा कम मूल्यमा पनि दूध बेच्दै आएका छन् । अहिले दूध उत्पादनको लागत नै प्रतिलिटर ६० रुपैयाँभन्दा बढी हुने गरेको बगालेको दाबी छ।
‘दाना र त्यसको कच्चा पदार्थको मूल्य अत्यधिक बढेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै धेरै कुराको मूल्य बढ्यो । सरकारले नै त्यो बेला उचित निर्णय गर्छ भन्ने लागेको थियो । तर अहिलेसम्म केही वास्ता गरेको छैन,’ बगालेले भने । चार वर्षअघि प्रतिकिलो २५ रुपैयाँमा पाइने मकै अहिले ५५ रुपैयाँ पुगेको उनले बताए । त्यसैगरी ढुटो प्रतिकिलो ३० रुपैयाँबाट बढेर ४५ रुपैयाँ पुगेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले मूल्यवृद्धिका लागि तत्काल प्रक्रिया सुरु गर्नुपर्ने बगालेले बताए । ‘बोर्डले गरेको अध्ययनका आधारमा सरकारले मूल्य निर्धारण गर्न सक्छ । बोर्डले अध्ययन गरेको छ । हामीले पनि बोर्डलाई धेरै कुरा बताएका छौं । तर सिफारिस गर्दैन,’ बगालेले भने ।
सचिव कल्याण अधिकारीका अनुसार चितवनमा दैनिक तीन लाख ५५ हजार लिटर दूध उत्पादन हुन्छ । जिल्लामा दुग्ध उत्पादक सहकारी संस्था ११७ वटा छन् । ४० हजार किसान दूध उत्पादनमा संलग्न रहेको उनले बताए । एकै व्यक्तिले ४०/५० वटा गाई पालेर दैनिक चार सय लिटरभन्दा बढी दूध उत्पादन तथा बिक्री गर्दै आएका छन् । ‘तर मूल्य नपाउँदा किसान आत्तिएका छन् । किसानको पीडालाई अवमूल्यन गरे सडक आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था आउँछ,’ सचिव अधिकारीले भने ।
चितवनमा उत्पादन हुने दूधमध्ये ५५ प्रतिशत जिल्ला बाहिर काठमाडौं उपत्यकासहित मकवानपुर र कास्कीसम्म पुग्ने अध्यक्ष बगालेले जानकारी दिए । केन्द्रीय सहकारी संघसँग परामर्श गरेर आन्दोलनमा जाने उनको भनाइ छ । चितवनका किसानले विगतमा पनि सडकमा दूध पोखेर आन्दोलन गरेको र अहिले किसानको पीडा बढ्दै जाँदा चुप लागेर बस्न नसक्ने अवस्था आएको बगालेले बताए ।
दुग्ध उत्पादक किसानलाई पहिले दूध बिक्री गर्न र बिक्री भएको दूधको भुक्तानी पाउनसमेत सकस थियो । तर अहिले दूध बिक्री गर्न समस्या नभएको बगालेले जानकारी दिए । त्यसैगरी बिक्री भएको दूधको भुक्तानी पनि समयमै हुने गरेको उनको भनाइ छ । किसानले उचित मूल्य नपाए पनि उपभोक्ताले समेत सस्तो मूल्यमा दूध पाउन नसकेको उनले बताए । सबै पक्षलाई विचार गरेर निर्णय लिन उनले सरकारलाई आग्रह गरे ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।