कवि पार्वती पुडासैनीको कवितासङ्ग्रह ‘मान्छे र मान्छेहरू’ सार्वजनिक भएको छ।
भर्खरै प्रकाशित तथा सार्वजनिक संग्रहमा ११६ कविता सङ्गृहीत छन्।
कवि पुडासैनी नेपाली साहित्यमा ३५ वर्षदेखि कविता, कथा, निबन्ध तथा स्वास्थ्यसम्बन्धी लेखनमा सक्रिय छिन्। उनका ११६ कवितामा जीवन, प्रेम, सङ्घर्ष, युद्ध र मानवीय सम्बन्धका विविध आयाम समेटिएका छन्।
कविताहरूले समकालीन समयको यथार्थ चित्रण गर्दै समाज, मानवीय सम्बन्ध र जीवनलाई अघि बढाउने सम्भावित बाटोहरूको खोजी गरेका छन्।
कवितासङ्ग्रहका सम्बन्धमा समालोचक डा. अनुपमा रेग्मीले भनेकी छन्, “कवि पार्वती पुडासैनीका कविताहरू विषयमा विविधता, शैलीमा सङ्क्षिप्तता, भाषामा आलङ्कारिकता र सरलता, सङ्घर्षशील जीवनको चित्रणका साथै मानवीय सम्बन्ध, व्यवहार र मान्छेको फरकपनलाई चिनाउने विशेष प्रस्तुति बनेर उभिएका छन्।”
त्यस्तै कवि एवं समालोचक भीष्म उप्रेतीले सङ्ग्रहका कविताहरूमा जीवनका विविध अनुभूति र संवेदनाहरू सुन्दर ढङ्गले अभिव्यक्त भएको बताए।
उनका अनुसार, “यस सङ्ग्रहमा कवि पार्वती पुडासैनीले जीवनको घामछाया निकै सुन्दर ढङ्गले प्रस्तुत गरेकी छन्। प्रेमको कोमल र गहिरो अनुभूति, युद्धको कुरूपता, भुइँमान्छेको जीवन, मानवीय आकाङ्क्षा तथा जीवनका अपूर्णताहरू कवितामा विषयवस्तु भएर आएका छन्।”
भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको यस सङ्ग्रहबारे प्रकाशन संस्थाका प्रबन्ध निर्देशक केशव पराजुलीले कविताहरू पाठकको मन जित्न सफल भएको र बजारमा माग बढेको बताए। उनले भने, “कवि पार्वती पुडासैनीका कविताहरूले पाठकहरूको मन जित्न सफल भएका र उनको कविताको बजारमा अत्यधिक माग भएको कारण हामीले प्रकाशनमा ल्याएका हौं।”
गत वर्ष प्रकाशित उनको ‘छेपारो समय’ कवितासङ्ग्रहको पहिलो संस्करण छोटो अवधिमै बजारबाट सकिएको थियो।
गहन अध्ययन, गहिरो चिन्तन र पर्याप्त शिल्पगत सौन्दर्यका साथ कविता लेख्दा अभिव्यक्ति पूर्ण हुने धारणा कवि पार्वती पुडासैनीले व्यक्त गरेकी छन्।
प्रकाशित: ३ मंसिर २०८३ १४:०२ बिहीबार