साल सन् २०२५ को काठमाडौं विश्वविद्यालयको प्राज्ञिक परिषद्को एक बैठकमा नेपालभाषा र तामाङ भाषामा तत्कालै (र, मैथिली र लिम्बू भाषामा अलिक पछि) एक बर्षे अर्थात् पीजीडीई कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव हामीले अगाडी बढायौं।
त्यो प्रस्ताव सुन्दा प्राज्ञिक परिषद्का सदस्य मध्ये थोरै उत्साहित भए, कोही सोचमग्न भए, र कोही नयाँ कुराप्रति स्वाभाविक रूपमा हिचकिचाए। त्यो हिचकिचाहट अस्वभाविक थिएन; बहुभाषिकतालाई थप बोझका रूपमा बुझ्ने पुरानो बानीको एउटा छाया मात्र थियो र शायद नदेखिने मेकाले मानसिकताको उपज थियो। आज फर्केर हेर्दा लाग्छः त्यो बैठक एउटा सुरुवात थियो।
जहाँ नयाँ कुरा राख्दा प्रश्न उठ्छन्, त्यहाँ संवादको ढोका खुल्न थाल्छ। हामीले त्यो संकोचलाई विरोधको रूपमा होइन, सिकाइको अवसरका रूपमा लियौं। यो लेख त्यही सिकाइको कथा हो; साझा सपनाको कथा हो। त्यो सपना, जसले नेपालका हरेक बालबालिकालाई आफ्नो भाषामा सिक्ने अधिकार दिन्छ, र त्यहीँबाट राष्ट्रिय एकताको फराकिलो चौतारीमा मिसिने बाटो देखाउँछ। वास्तवमा शिक्षा कहिल्यै एउटा कार्यक्रमको कागजबाट मात्र बन्दैन; त्यो संवाद, धैर्य, र सहअस्तित्वको अभ्यासबाट बन्छ। बहुभाषिक शिक्षा त्यही अभ्यासको अभियान र रणनैतिक नाम हो।
हामीलाई लाग्छ भाषा सञ्चारको साधन मात्र होइन। हाइडेगरले भनेझैं भाषा अस्तित्वको घर हो। मातृभाषा घरको ढोका मात्र होइन; घरभित्रको अगेनो हो, जसले मानिसलाई न्यानो दिन्छ; घरको झ्याल हो, जसले संसारलाई हेर्ने दृष्टि दिन्छ। बालबालिकाले आफ्नो भाषामा बोलिरहँदा उनले केवल शब्द उच्चारण गर्दैनन्; उनले आफ्नो संसारलाई नाम दिन्छन्, अनुभवलाई अर्थ दिन्छन्, पहिचानको मूल गाड्छन् र देख्छन्। हाम्रो दृष्टिमा भाषा हाम्रो बोधको पहिलो आकाश हो, र त्यही आकाशमा अरू तारा सहज रूपले उदाउन सक्छन्।
हाम्रा लागि यही कारण बहुभाषिक शिक्षा थप विषय होइन। यो एउटा दार्शनिक अडान होः मानिसको बोध एउटै भाषामा मात्र हुँदैन; बोध अनेक रूपमा फुल्छन्। बालबालिकाहरूलाई उनको भाषाबाट टाढा राख्दा हामी उनीहरूको बोधको एउटा ससक्त ढोका बन्द गर्छौं। तर जब हामी उसको भाषालाई ज्ञानको सहि माध्यम मान्छौं, हामी उसको आत्मसम्मानलाई जोगाउँछौं र सिकाइको ढोका खोल्छौं।
त्यसैले बहुभाषिक शिक्षा शैक्षिक नीति मात्र होइन; क्यारोल गिलिगानले भनेजस्तै यो समानुभुतिकेन्द्रित नैतिक अडान पनि होः हरेक भाषालाई ज्ञानको वास्तविक श्रोत माध्यम मान्ने अडान। यो अडानले हामीलाई एउटा भाषा राम्रो, अर्को कमजोर भन्ने साँघुरो सोचबाट मुक्त गर्छ।
नेपालको शैक्षिक इतिहासमा धेरै भाषाहरू लामो समयसम्म कक्षाकोठाबाट बाहिर रहे। संविधान र कानुनले मातृभाषामा शिक्षाको अधिकार त दियो, तर व्यवहारमा त्यो अधिकार कागजका पानामै सीमित हुने अवस्था रह्यो। यो प्रशासनिक कमजोरी मात्र होइन र थिएन; यो ज्ञान-राजनीतिको एउटा गहिरो प्रश्न पनि थियो र हो। जतिखेर कुनै समुदायको भाषालाई ज्ञानको माध्यम मानिँदैन, त्यतिखेर त्यो समुदायको अनुभव, इतिहास र दर्शनलाई पनि गौण व्यवहार गरिन्छ। यसलाई मिराण्डा फ्रिकरले भनेजस्तै यसलाई ज्ञानमा हुने अन्याय भनिन्छ।
हामीले शुरू गरेको बहुभाषिक शिक्षा शिक्षा त्यही अन्यायलाई संवाद र सम्मानबाट सच्याउने प्रयास हो, ज्ञान खोजीको यो अभियानलाई हर्बर्ट मार्खुजेले भनेजस्तो एक आयामिक मान्छेबाट मुक्त आकाशतिर लैजाने प्रयास हो।
अझै धेरैलाई लाग्छः बहुभाषिकता राष्ट्रिय एकताको विरोधी हो। सबैले आ-आफ्नो भाषामा पढे भने राष्ट्र कसरी एक हुन्छ? यो प्रश्न एकतालाई एकरूपतासँग जोड्ने परम्परागत र भ्रमपूर्ण दृष्टिकोणबाट आउँछ। फ्रान्ज फानोनले भनेजस्तो एकात्मकताको औपनिवेशिक दार्शनिक आधारबाट ननिस्केसम्म हामीले वहुभाषिकताको कल्पना गर्नै सक्दैनौ र यस्ता अर्थहिन प्रश्न सोधिरहन्छौंँ। इतिहासले देखाएको छ: एकता भाषाको एकरूपतामा होइन, साझा सपना, फरकहरूको उत्सव र पारस्परिक सम्मानमा हुन्छ।
उदाहरणको लागि युरोपको कुनै एक देशमा चार भाषा छन्, तर त्यहाँको एकता बलियो छ र विकास पनि राम्रो भएको छ। अफ्रिकाको कुनै अर्को देशमा ११ आधिकारिक भाषा छन्, तर लोकतन्त्र बलियो बन्ने प्रकृयामा छ। नेपाल पनि त्यही बाटोमा हिँड्न सक्छः यदि हामीले भाषालाई विभाजनको पर्खाल होइन, मान्छे जोड्ने पुल बनाउन सिक्यौं भने। एकता त्यो बगैंचाजस्तो हुनुपर्छ, जहाँ हरेक फूलको रंग फरक छ, तर माटो एउटै छ।
संवादको दर्शनमा बाख्तिन , फ्रेरे र हामी
बहुभाषिक शिक्षाको दर्शन संवादमा उभिन्छ। रुसी विचारक मिखाइल बाख्तिनले भनेझैं शब्द संवादमा मात्र जीवित हुन्छ। एउटै शब्द एक समुदायमा आशीर्वाद बन्छ, अर्कोमा चुनौती; एउटै वाक्य एक ठाउँमा प्रार्थना बन्छ, अर्कोमा प्रश्न। र, भाषा स्थिर वस्तु होइन; यो जीवित संवाद हो। जब कक्षाकोठामा नेपालभाषा, तामाङ, मैथिली र लिम्बू लगायतका भाषा प्रवेश गर्छन्, त्यहाँ केवल नयाँ शब्द प्रवेश गर्दैनन्; नयाँ अनुभव, नयाँ हाँसो, नयाँ दुःख, नयाँ दर्शन, नयाँ कल्पना र सपना प्रवेश गर्छ।
पाउलो फ्रेरेले शिक्षालाई मुक्त चेतना (conscientização) सँग जोडे। उनका लागि शिक्षक ज्ञान भर्ने भाँडो होइन; संवादको सहयात्री हो। हाम्रो पीजीडीई कार्यक्रमको दर्शन पनि त्यही होः शिक्षकलाई भाषाको रक्षक मात्र होइन, भाषाको संवाद-सहयात्री बनाउने। शिक्षकले आफ्नो भाषामा पढाउँदा विद्यार्थीलाई व्याकरण मात्र सिकाउँदैन; उसले विद्यार्थीलाई आफ्नो अनुभवलाई सम्मान गर्न सिकाउँछ। यही सम्मानले आत्मविश्वास जन्माउँछ, र आत्मविश्वासले नेपाली र अंग्रेजी सिक्नबाट रोक्दैन; बरु त्यसलाई अझ सहज बनाउँछ। स्कुट्नाव-काग्नास र हेउगले भनेजस्तै बहुभाषिक शिक्षा प्रतिस्पर्धाको खेती होइन, सहअस्तित्वको अभ्यास हो।
हामीले सुरु गरेको पीजीडीई (Postgraduate Diploma in Education) कार्यक्रम एक वर्षे शिक्षक शिक्षाको कार्यक्रम मात्र होइन। यो २७ क्रेडिटको यात्रा हो। यसले शिक्षकलाई भाषाको व्याकरण मात्र सिकाउँदैन; भाषाको आत्मामा पुग्ने बाटो देखाउँछ।जस्तो बहुभाषा शिक्षणको पीजीडीईमा भाषा शिक्षणशास्त्र, सम्बन्धित भाषाको व्याकरण, सञ्चारमूलक भाषा, भाषिक पुरातत्व, सम्वन्धित भाषा तथा संस्कृति जस्ता विषय समावेश छन्। जो किन्चेलोको भनाई सापट लिएर भन्दा यी विषय किताबि ज्ञान मात्र होइनन्; यी शैक्षिक संस्कृतिको पुनर्जागरणका औजार हुन्। एक शिक्षकले भाषिक पुरातत्व पढ्दै गर्दा भाषाको इतिहासमा हराएका प्रमाणहरू खोतल्न सिक्छ। अनुवादको विषय पढ्नेक्रममा हेनरी जुरूले भनेजस्तै दुई संस्कृतिबीच पुल बनाउन सिक्छ।
यही संरचना तामाङ, मैथिली र लिम्बू लगायतका कार्यक्रमहरूमा पनि प्रयोग गरिएको छ। तर यो कार्यक्रमको वास्तविक शक्ति यसको दर्शनमा छः बालबालिकाले आफ्नो भाषामा सिक्दा उनीहरूको संज्ञानात्मक विकास मात्र हुँदैन, उनीहरूको आत्मसम्मान पनि बढ्छ। जब एक तामाङ बालकले कक्षा १ मा तामाङ भाषामा पढ्न पाउँछ, उसलाई लाग्छ; उसको भाषा गलत होइन, कमजोर होइन; उसको भाषा पनि ज्ञानको एउटा शसक्त माध्यम हो। यो अनुभवले उसलाई आत्मविश्वास दिन्छ, र त्यो आत्मविश्वासले उसलाई नेपाली र अंग्रेजी सिक्नबाट रोक्दैन; बरु त्यसलाई अझ सहज बनाउँछ। यही कारण पनि पीजीडीईलाई हामी डिग्री होइन, वैदिक-बौद्धमतमा बुद्धी भन्दा परको दृष्टि भन्छौं।
नेपालभाषामा निहित पुरातत्व र पुनर्जागरण
नेपालभाषा काठमाडौं उपत्यकाको मात्र भाषा होइन। यो नेपाली सभ्यताको स्मृति पनि हो। यसका शिलालेख, पुस्तकालय, मठ, बहाः, बही, गीत, नाटक आदीले एउटा यस्तो संसार बोल्छन्, जहाँ व्यापार, दर्शन, कला र धर्म एकैसाथ फक्रिन्छन्। तर पुस्तकमा मात्र सीमीत नेपालभाषा पढाइयो भने त्यो जीवित रहँदैन। भाषा समुदायमा बोलिनुपर्छ, कक्षाकोठामा सिकाइनुपर्छ, गीतमा गाइनुपर्छ, नाटकमा खेलिनुपर्छ। त्यसैले नेपालभाषा पीजीडीईले भाषालाई संग्रहालयको वस्तु होइन, जीवित संवादको माध्यम बनाउन खोज्छ। भाषा संरक्षण भनेको त्यसलाई कोठा र लीपीमा बन्द गर्नु होइन; त्यसलाई नयाँ पुस्ताको दैनिक जीवनमा सक्रिय बनाउनु हो।
तामाङ भाषा शिक्षणको पीजीडीईले तामाङ समुदायको इतिहास, लिपि, संस्कृति, शिक्षण विधि र भाषिक पहिचानलाई कक्षाकोठामा ल्याउँछ। तामाङ भाषा केवल बोली होइन; यो लिपिको ज्ञान, लोकगीतको लय, र इतिहासको साक्षी हो। एक तामाङ बालबालिकाले कक्षा १ मा तामाङ भाषामा पढ्दै गर्दा उनको भाषा गलत होइन, कमजोर होइन; उनको भाषा पनि ज्ञानको एउटा बलियो माध्यम हो भन्ने अवधारणा विकास गर्छन्। तामाङ भाषा शिक्षण कार्यक्रमले शिक्षकलाई भाषाको व्याकरण मात्र सिकाउँदैन; उसलाई तामाङ समुदायको गीत, नाच, र लिपिको इतिहाससँग पनि जोड्छ। यसरी, एक तामाङ शिक्षक कक्षाकोठामा केवल भाषा होइन, एउटा जीवित संस्कृति लिएर जान्छ। यो संस्कृति-संवादले विद्यार्थीलाई आफ्नो मूल चिन्न र अरूको जरालाई सम्मान गर्न सिकाउँछ।
मैथिली एक जीवनदर्शन र समुदायको भाषा
हाम्रो उद्देश्य मैथिली भाषा शिक्षण मार्फत मिथिलाको लोकगीत, चित्रकला, र जीवनदर्शन कक्षाकोठामा ल्याउँनु हो। मैथिली भाषा साहित्यको भाषा मात्र होइन; यो दैनिक जीवनको भाषा पनि हो, समुदायको भाषा पनि हो, मिठासपनको भाषा पनि हो। मैथिली शिक्षणको पीजीडीईले शिक्षकलाई मैथिली भाषाको साहित्यिक परम्परा मात्र होइन, मिथिलाको सामाजिक जीवन र लोकसंस्कृतिसँग पनि जोड्छ। एक मैथिली शिक्षकले मैथिली सिकाउँदा मिथिलाको लोकगीत, चित्रकला, र जीवनदर्शन विद्यालयमा ल्याउँछ। यसरी, हरेक भाषा कक्षा एउटा सानो र जीवन्त साँस्कृतिक-केन्द्र बन्छ। यहाँ विद्यार्थीहरूले अर्को समुदायको मन बुझ्न सिक्छन्। यो बुझाइले सहिष्णुता र सद्भावको जग निर्माण हुन्छ। सँगसँगै हवरमासले भनेझैं सम्बन्धित समुदायका शैक्षिक मुद्दा अझ सहज ढंगले वुझ्न मद्दत पुग्छ।
लिम्बू भाषा याक्थुङको आत्मसम्मान र आञ्चलिक स्वर
लिम्बू (याक्थुङ) भाषा कार्यक्रमले यस भाषालाई पहिलो पटक औपचारिक शिक्षक शिक्षाको क्षेत्रमा प्रवेश गराएको छ। यो कार्यक्रम भाषा सिकाउने मात्र होइन; यो याक्थुङ समुदायको परिचयको पुनर्स्थापना हो। लिम्बू समुदायले आफ्नो भाषा विद्यालयमा पढ्न पाउँदा त्यहाँ एउटा सन्देश जान्छः याक्थुङ भाषा राष्ट्रको सम्पत्ति हो। यहाँ एउटा व्यक्तिगत स्मृति उल्लेख गर्न गर्नु सान्दर्भिक होला। जस्तो, बाल चन्द्र लुइटेलका बा लिम्बू भाषा राम्ररी बोल्नुहुन्थ्यो। पूर्वी पहाडको हावापानीमा हुर्केका उहाँका लागि लिम्बू भाषा अर्काको भाषा थिएन; त्यो छिमेकीको भाषा थियो, समुदायको भाषा थियो, साथीको भाषा थियो, मितको भावना थियो र दैनिक जीवनको भाषा थियो। उहाँजस्ता गैह्रलिम्बूले लिम्बू भाषा बोल्दा कुनै जातीय सीमाले रोकेको थिएन; मानवीय सम्बन्धहरूको स्वाभाविकता थियो।
धेरैमध्ये यो एउटा प्रमाण होः भाषा जातको मात्र सम्पत्ति होइन, सम्बन्धको डोरी हो। नेपालभरी यस्ता कथा धेरै छन्। यही अनुभवले बहुभाषिक शिक्षाको नैतिक आधार दिन्छ: यदि एक ब्राह्मणले लिम्बू भाषा आत्मसात् गर्न सक्छ भने नेपालको कक्षाकोठा र नेपालमा बोलिने भाषाहरूलाई किन अर्काको भाषा भन्नु र? नेपालमा वोलिने सबै भाषा सबै नेपालीका हैनन् र? बहुभाषिकताको यो यात्रामा बेनेडिक्ट एण्डर्सनले भनेझै हाम्रो कल्पनाको सीमालाई विस्तार गर्दै सिकाइको यात्रा सहजता र समाहिततातिर लैजान मद्दत पुर्याउँछ।
सिद्धार्थ ढुंगानाको अनुभवले यही सत्यलाई अर्को दिशाबाट पुष्टि गर्छ।वहाँले कुसोडमा जोडिनुभन्दा अघिदेखिनै विभिन्न भाषा समूहका साथीहरूसँग काम गर्नुभयो जस्तै, नेवार, तामाङ, मैथिली, लिम्बू, थारू, मगर, गुरुङ, र अन्य भाषिक समुदायका सहकर्मीहरू। यस्तो सहकार्य केवल औपचारीक काममा सिमित थिएन; त्यो एउटा दैनिक अभ्यास थियो, सहकार्यको अभ्यास। जब बैठकमा एक जनाले आफ्नो भाषाको लवजमा शब्द उच्चारण गर्छ, अर्कोले त्यसको अर्थ सोध्छ; जब कसैले आफ्नो लोकगीतको लय गाउँछ, अर्कोले त्यसको भाव बुझ्न खोज्छ। त्यही बुझाइले म भन्दा पहिले हामी भन्न सिकाउँछ। सिद्धार्थको मनमा बहुभाषिकताप्रति जुन जुनून विकास भयो, त्यो कुनै अमूर्त सिद्धान्तबाट मात्र आएको होइन; त्यो सि एस लेविसले भनेजस्तै साथीहरूको भाषा, हाँसो, र सहकार्यबाट आएको हो। उहाँको विश्वास अफ्रिकन नेता न्येरेरको भनाईजस्तै विविधतामा एकता भनेको सबैलाई एउटै बनाउनु होइन; सबैलाई आफ्नै रंगमा फुल्न दिनु हो, र विश्वासको धागोले जोड्नु हो।
अझै पनि धेरैलाई लाग्छः बहुभाषिकता राष्ट्रिय एकताको विरोधी हो। तर एकता भाषाको एकरूपतामा होइन, साझा सपना र पारस्परिक सम्मानमा हुन्छ। एक नेवाः शिक्षकले नेपालभाषा पढाउँदा उसले नेवाः बालबालिकालाई मात्र होइन, गैर-नेवाः बालबालिकालाई पनि नेपालभाषाको सौन्दर्यबाट परिचित गराउँछ र गराउन सक्नुपर्छ। एक मैथिली शिक्षकले मैथिली सिकाउँदा, उसले मिथिलाको लोकगीत, चित्रकला, र जीवनदर्शन कक्षाकोठामा ल्याउँछ र ल्याउँनु पर्छ। यसरी, हरेक भाषा कक्षा एउटा सानो साँस्कृतिक-दूतावास बन्छ, जहाँ विद्यार्थीहरूले अर्को समुदायको मन बुझ्न सिक्छन्। यही बुझाइ र गराईले साम्प्रदायिक सद्भावको जग बसाल्छः त्यो सद्भाव, जसको आवश्यकता आज नेपालले महसुस गरिरहेको छ। त्यसैले बहुभाषिक शिक्षक शिक्षा विभाजनको औजार होइन; युनेस्कोले घोषणा गरेजस्तै यो सहअस्तित्वको पाठशाला हो।
तर यो सबै सपना तबसम्म अधुरो रहन्छ, जबसम्म हामीसँग पर्याप्त शिक्षक हुँदैनन्। धेरै विधा र विषयहरूमा नेपालमा शिक्षक अभाव हुँदै गइराखेको छ। सन् २०३० सम्म संसारलाई ४४ मिलियन थप शिक्षक चाहिएको छ भने नेपाललाई करिव ९५ हजार थप। त्यसरी नै मातृभाषा शिक्षकको त झन् ठूलो अभाव छ। स्थानीय तहहरूले मातृभाषामा पढाउन चाहे पनि, तिनीहरूसँग तालिमप्राप्त शिक्षक छैनन्। कतिपय ठाउँमा अप्रशिक्षित व्यक्तिहरूले मातृभाषा पढाउनुपर्ने बाध्यता छ। यो अभाव केवल संख्याको होइन; गुणस्तरको पनि हो। एक शिक्षकलाई भाषा जान्नु मात्र पर्याप्त हुँदैन; उसलाई त्यो भाषा कसरी पढाउने, कसरी मूल्याङ्कन गर्ने, कसरी पाठ्यक्रम विकास गर्ने यी सबै जान्नु पर्छ। हाम्रा पीजीडीई कार्यक्रमहरूले त्यही अभावलाई अवसरमा बदल्न खोज्छन्। तिनीहरूले शिक्षकलाई भाषाविद् मात्र होइन, भाषा-शिक्षक बनाउँछन्। हाम्रो विचारमा यी त्यस्ता शिक्षक हुन्, जो भाषाको गहिराइ बुझ्छन् र त्यसलाई सरल, रचनात्मक र समावेशी तरिकाले कक्षाकोठामा पुर्याउन सक्छन्।
संविधानको धारा ३१(५) ले सबै मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता दिएको छ, र मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकारको ग्यारेन्टी गरेको छ। राष्ट्रिय शिक्षा नीति २०७६ ले पनि मातृभाषा-आधारित बहुभाषिक शिक्षालाई प्राथमिकतामा राखेको छ। तर नीति र व्यवहारबीच एउटा गहिरो खाडल छ। धेरै स्थानीय तहहरूले मातृभाषा पाठ्यक्रम बनाएका छन्, तर तिनीहरूलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र जनशक्ति छैन। कतिपय ठाउँमा मातृभाषा भनेको केवल एउटा ऐच्छिक विषय बनाइएको छ, जसलाई अंग्रेजी र गणितको तुलनामा कम महत्त्वपूर्ण ठानिन्छ। यो मानसिकता परिवर्तन गर्न आवश्यक छ। भाषा केवल सञ्चारको माध्यम होइन; यो विचार, संस्कृति, र पहिचानको वाहक हो। जब हामी एक बालबालिकालाई उसको भाषामा पढाउँछौं, हामी उसलाई केवल अक्षर चिनाउँदैनौं; हामी उसलाई उसको मूलसँग जोड्छौं। काठमाडौं विश्वविद्यालयले नेपालभाषा, तामाङ, मैथिली र लिम्बू कार्यक्रमहरू सुरु गरेर केवल शैक्षिक विविधता मात्र बढाएको छैन; यसले राज्यलाई एउटा सन्देश पठाएको छ: यदि मातृभाषामा शिक्षा दिन चाहनुहुन्छ भने, पहिले शिक्षक तयार गर्नुहोस्। हामी त्यो काम गर्दैछौं। अब पालो राज्यको हो; नीतिलाई कागजबाट अभ्याससम्म पुर्याउने, र हरेक विद्यालयमा मातृभाषा शिक्षकको दरबन्दी सुनिश्चित गर्ने।
लुइटेल र टेलरको भनाइमा यो अभियानको दार्शनिक आधार पाँच आयाममा उभिएको छ। पहिलो, अस्तित्वशास्त्रः भाषा मानिसको अस्तित्वको घर हो; मातृभाषा नभएको शिक्षा घर नभएको बासोबास जस्तै हो। दोस्रो, ज्ञानशास्त्रः ज्ञान एउटै भाषामा मात्र जन्मँदैन; बहुभाषिकता ज्ञानको स्रोत हो, बाधा होइन। तेस्रो, नैतिकताः हरेक भाषालाई सम्मान गर्नु पहिचानको न्याय हो; कसैको भाषामा हाँस्नु कसैको अस्तित्वमा हाँस्नु हो। चौथो, सौन्दर्यशास्त्रः भाषा लय हो, गीत हो, रंग हो; बहुभाषिकता राष्ट्रको सांस्कृतिक सौन्दर्य हो। पाँचौं, राजनीतिः भाषा शक्तिको सम्बन्ध हो; बहुभाषिक शिक्षा शक्तिको पुनर्वितरण हो, मौनताको अन्त्य हो। यी पाँच आयामले हामीलाई भविष्यमा अझ स्पष्ट, समावेशी र दिगो बाटो देखाउँछन्।
भविष्यमा अझ धेरै भाषा , अझ धेरै पुल
हामीलाई थाहा छ, यस्तो कामको बाटो लामो छ। अझै धेरै भाषाहरू (गुरुङ, मगर, राई, थारू, भोजपुरी, अवधी आदी) का लागि यस्ता कार्यक्रम आवश्यक छन्। अझै धेरै शिक्षक चाहिन्छन्, धेरै पाठ्यक्रम चाहिन्छ, धेरै स्रोत चाहिन्छ। तर सुरुवात भइसक्यो। सुरुवातको संकोच आज संवादको शक्ति बनेको छ। किनभने हामीलाई थाहा छः इतिहासमा सबैभन्दा ठूलो परिवर्तन तिनै प्रश्नबाट जन्मन्छ, जसलाई मानिसहरूले असम्भव भन्छन्। भाषा संरक्षण संग्रहालयको काम होइन; यो जीवित प्रयोगको काम हो। बालबालिकाले आफ्नो भाषामा हाँस्दा, रुदा, प्रश्न सोद्धा, कविता लेख्दा नै भाषा बाँच्छ।
बहुभाषा शिक्षणको यो मोडेललाई विस्तार गर्न नेल नोडिङ्स्ले भनेजस्तै भविष्यमा हामीले स्थानीय तह, विद्यालय, अभिभावक, समुदाय र विश्वविद्यालयबीच सद्भावपूर्ण साझेदारी बलियो बनाउनुपर्छ। प्रविधिलाई पनि भाषा संरक्षणको सहयात्री बनाउन सकिन्छ। डिजिटल पाठ्यसामग्री, अडियो-भिडियो संग्रह, अनलाइन शिक्षक विकास लगायतका कामबाट भाषा शिक्षक शिक्षा अघि बढ्न सक्छ। तर प्रविधि साधन मात्र हो; मूल कुरा संवाद र खुल्लापन् हो।
आज फेरि त्यो २०२५ को बैठक सम्झँदा मनमा एउटा आनन्द महसुस हुन्छ। अहिलेको आनन्द कसैप्रति व्यङ्ग्य होइन; यो सिकाइ, सहयात्रा र सम्भावनाको थोरै भएपनि उपलब्धिको अभिव्यक्ति हो। जसले अहिले नगरौं भनेका थिए, ति अनिच्छाहरूले बहुभाषिक शिक्षक शिक्षा कार्यक्रमलाई अझ स्पष्ट बनाउन सहयोग गरेका छन् किनकि हामीले अझ बढि खोज्ने र यी कार्यक्रम सफल पार्ने सहकार्यका बाटा पहिल्याउने काम गर्यौं। अहिले कुसोडमा नेपालभाषा, तामाङ, मैथिली र लिम्बू भाषाका कक्षाहरू चलायमान छन्। अरू भाषाका कार्यक्रम निर्माणका सम्भावना बढेको देखेका छौं। विद्यार्थीहरू आफ्नो भाषामा शिक्षक बन्ने सपना देखिरहेका होलान्। यो सपना कुनै एक व्यक्तिको होइन; यो सामूहिक सपना हो। त्यो सपना, जसले नेपाललाई एउटा भाषा, एउटा संस्कृतिको साँघुरो घेराबाट मुक्त गरेर अनेक भाषा, अनेक संस्कृति, तर एउटै राष्ट्रको फराकिलो चौतारीमा पुर्याउँछ। नेपाल एउटा बगैंचा हो, जहाँ १२५ भन्दा बढी फूलहरू फुल्छन्। हाम्रो काम त्यो बगैंचाको माली बन्नु हो। हरेक फूललाई आफ्नै रंगमा फुल्न दिनु, तर सबैलाई एउटै माटोले जोड्न दिनु। यही हाम्रो बहुभाषिक पीजीडीई कार्यक्रमहरूको सन्देश हो। यही नेपालको शिक्षकशिक्षाको यौटा अपरिहार्य भविष्य हो।
(लेखकद्वय काठमाडौं विश्वविद्यालय शिक्षा संकाय (कुसोड- KUSOED) का प्राध्यापक हुन्। बालचन्द्र लुइटेल पूर्व डीन हुन् भने सिद्धार्थ ढुंगाना बहुभाषिक शिक्षाका सक्रिय संवाहक हुन्।)
काठमाडौं विश्वविद्यालयसँग आबद्ध प्राध्यापक लुइटेल शिक्षाविद् हुन् ।
ढुङ्गाना बहुभाषिक शिक्षाका सक्रिय संवाहक हुन् ।