आफन्त र पाहुनालाई उपहार दिने परम्परा समाजमा पहिलेदेखि नै चल्दै आएको छ । तर आजकाल मानिसहरूले आफ्नै खुसीका लागि आफैंलाई उपहार दिने प्रचलन समेत सुरु गरिरहेका छन् । हालै गरिएको एक सर्वेक्षणले युवापुस्तामा आफैंलाई उपहार दिने अर्थात् ‘सेल्फ गिफ्टिङ’ गर्ने चलन बढ्दै गएको देखाएको छ।
सेल्फ गिफ्टिङ ट्रेन्ड भनेको अरू कसैले उपहार दिन्छकि भनेर भनेर आश नगरी आफूलाई मन पर्ने कुरा आफैं किन्नु हो । तर यो समान्य सपिङ भन्दा फरक छ । आफूले कुनै काममा सफलता पाउँदा, अपठ्यारा दिन तथा कठिन परिस्थितिहरू पार गर्दा, जन्मदिन तथा कुनै उत्सव वा चाडपर्वमा आफ्ना लागि मनपर्ने कुरा किनेर आफैंलाई पुरस्कृत गर्नु ‘सेल्फ गिफ्टिङ’ हो ।
पछिल्लो समय विशेषगरी युवापुस्ता र कामकाजी व्यक्तिहरूमाझ यो प्रवृत्ति निकै लोकप्रिय बन्दै गएको छ । यस ट्रेन्डमा मानिसहरूले आफ्ना लागि ब्राण्डेड लुगा, जुत्ता, घडी, झोला वा मेकअपका सामान नयाँ फोन, स्मार्टवाच, आफूलाई मनपर्ने पुस्तक, संगीतका समान आदि किन्न प्रचलन छ ।
यूगभ–रुकम क्यापिटलले सन् २०२६ मा गरेको सर्वेक्षणअनुसार, करिब ३० प्रतिशत युवाले यस वर्षको चाडपर्वको समयमा अरूलाई उपहार दिनुअघि आफूलाई प्राथमिकता दिएका छन् । आफूलाई उपहार दिने यस प्रवृत्तिमा महँगा ब्याग, कन्सर्टका टिकट, स्पा तथा जिमका भौचरजस्ता सामग्री समावेश छन् ।
तथ्यांकअनुसार, हाम्रो छिमेकी देश भारतमा आफूलाई आफैं उपहार दिने प्रवृत्ति ६० प्रतिशतसम्म बढेको छ । यसमध्ये अनलाइन माध्यमबाट हुने कारोबारको हिस्सा करिब २५ प्रतिशत छ । त्यस्तै, २५ प्रतिशत मानिसले उपहारका नयाँ विकल्प खोज्न एआईको सहयोग लिने गरेका छन्।
युवाहरूले आफ्ना साथीहरूका लागि पनि परम्परागत उपहारभन्दा फरक व्यक्तिगत रुचि र भावनासँग जोडिएका उपहार छनोट गर्न थालेका छन् । यसमा फोटो फ्रेम, नाम लेखिएका किचेन सामग्री वा कप तथा विशेष क्षणका सम्झनायोग्य तस्वीरहरू रहने गरेका छन् ।
त्यस्तै, गिफ्ट कार्ड दिएर साथीहरूलाई आफ्नै रुचिअनुसारका सामग्री किन्न पाउने स्वतन्त्रता पनि दिन थालिएको छ । उपहार छनोटलाई अझ आकर्षक र अर्थपूर्ण बनाउन मानिसहरूले एआई प्रविधिको समेत सहयोग लिने गरेका छन् ।
युवाहरूले साथीहरूलाई भौतिक उपहार दिनुका साथै वातावरणमैत्री तरिका पनि अपनाउन थालेका छन् । यसमध्ये अहिले चर्चामा रहेको एउटा प्रवृत्ति हो– साथीहरूको नाममा बिरुवा रोप्ने।
यो विचारले मित्रता पनि बिरुवाजस्तै हुर्किंदै र फैलिँदै जाओस् भन्ने प्रतीकात्मक सन्देश दिन्छ । ‘ग्रो–ट्रिज’ जस्ता विभिन्न संस्थाले पनि यस्तो अभियानलाई प्रोत्साहन गरिरहेका छन् । यसअन्तर्गत कसैको नाममा रूख रोपेपछि त्यसको प्रमाणस्वरूप ‘ई–ट्री सर्टिफिकेट’ प्रदान गरिन्छ।
वातावरण संरक्षणलाई प्राथमिकता दिनका लागि उपहार राख्न प्रयोग गरिएका बासकलाई पुन: अर्को उपहारका तथा अन्य कामका लागि प्रयोग गर्ने प्रचलन पनि रहेको छ ।
मानिसहरूले परिवार र साथीभाइसँगै घरपालुवा जनावरप्रतिको माया पनि उपहारमार्फत व्यक्त गर्न थालेका छन् । उनीहरूका लागि समेत विशेष र फरक किसिमका उपहार किन्ने चलन बढेको छ ।
‘इट्सी’ नामक अनलाइन प्लेटफर्मका अनुसार, सन् २०२६ मा मानिसहरूले आफ्ना घरपालुवा जनावरका लागि उपहार खोज्ने क्रम दोब्बर भएको छ । यसले घरपालुवा जनावरलाई पनि परिवारकै सदस्यका रूपमा हेर्ने र उनीहरूप्रति माया व्यक्त गर्ने प्रवृत्ति बढ्दै गएको देखाउँछ ।