दाजुभाइ र आफन्तलाई ढाकाका सामग्री उपहार दिने चलन बढेसँगै तिहारमा पाल्पाली उत्पादनले संस्कृति, पहिचान र पारिवारिक सम्बन्ध जोडिरहेको छ।
पाल्पा — तानसेन नगरपालिका–१ की विन्दु ढकालले टोपी, पछ्यौरी, चोलो, हाते पर्ससमेत उपहार दिनका लागि खरिद गरिन् । उनले आफन्तलाई उपहार पठाउन पनि ढाकाबाट निर्मित सामग्री लैजाने गरेकी छन् । यसपालि पनि तिहारमा दाजुभाइलाई दिन पनि ढाकाकै सामग्री प्रयोग गरेको बताइन् । ‘मैले जहिल्यै ढाकाकै सामग्री उपहारका लागि लैजाने गर्छु,’ उनले भनिन्, ‘पहिले पहिले चोली, टोपी र पछ्यौरी मात्र हुन्थ्यो । अहिले ढाकाका धेरै सामान पाइन थालेका छन् ।’
बागलुङबाट घुम्न आएका ताराबहादुर पुन मगरले पनि ढाकाबाट विविधीकरण गरिएका सामग्री खरिद गरे । उनले टोपी, पछ्यौरी, इस्टकोट, चोलोको कपडा, हाते ब्यागलगायत धेरै सामग्री किने । हरेक वर्ष तिहारको समयमा तानसेनमा ढाका किनेर मात्र रुपन्देहीमा बसोबास गर्ने बहिनीको हातबाट टीका लगाउन जाने गरेको उनले बताए ।
‘दिदीबहिनीलाई उपहार के दिने भन्ने सोच्नुभन्दा ढाकाबाट बनेका सामग्री लगिदिने गरेको छु,’ उनले भने । विदेशमा बस्ने साथीभाइलाई पनि उपहार पठाउने गरेको सुनाउँदै घुम्न आउनेहरूलाई समेत ढाकाका सामग्री ल्याउन आग्रह गर्ने गरेको उनले बताए ।
पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकले पनि पछिल्लो समयमा ढाकाका विभिन्न सामग्री उपहारका रूपमा लैजाने प्रचलन बढ्दो छ । त्यसैले ढाकाको व्यापार पनि बढ्दै गएको छ । अझ तिहारमा नेवार समुदायको म्हः पूजा र हिन्दुहरूको भाइटीकामा दाजुभाइलाई सप्तरंगी टीका र मखमली माला लगाइदिएपछि ढाकाटोपी उपहार दिने चलन छ । दिदीबहिनीले टीका लगाइदिएपछि दिने ढाकाटोपीको उपहारले दाजुभाइको शिर मात्र सजाउँदैन, नेपाली पहिचान र पाल्पाली ढाकासँगको आत्मीयता पनि जोड्छ । यही कारण तिहारका समयमा तानसेन बजारमा ढाकाटोपी, चोली र यसबाट बनेका अन्य सामग्री किन्नेको चहलपहल बढेको सिल्खानटोलकी व्यवसायी सितम भण्डारीले बताइन् ।
अन्य समयभन्दा दसैंपछि तिहारसम्म पाल्पाली ढाकाको व्यापार हुन्छ । ‘अरू समयको तुलनामा दसैं–तिहारमा व्यापार राम्रो हुने गरेको छ,’ उनले भनिन् । हुन त पछिल्लो समयमा कतिपयले हातैले बुनेका ढाकाका सामग्री खोज्ने गरेका छन् । धेरैले गुणस्तरभन्दा उपहार लैजानलाई प्राथमिकता दिने गरेको उनको भनाइ छ । टोपी, चोली, पछ्यौरा, रुमाल, पर्स, इस्टकोट, झोला र टाई किन्ने ग्राहकको संख्या बढ्ने अर्की व्यापारी ज्ञानु कार्कीले बताइन् । उनको कार्की ढाका कपडा उद्योगसमेत छ । उद्योगबाट उत्पादित सामग्री बजारमा बिक्री हुने गरेको उनले बताइन् ।
तानसेन नगरपालिका–४, बारुदखानस्थित पौड्याल ढाका कपडा उद्योगका सञ्चालक मनोजराज शर्मा पौड्यालका अनुसार ग्राहकले हातैले बुनेका ढाकाका सामग्री बढी रुचाउँछन् । ‘पछिल्लो समय हातले बुनेका ढाकाका कपडा खोज्ने ग्राहक बढेको पाएको छु,’ उनले भने, ‘टोपी र चोलीसँगै ढाकाबाट बनेका विभिन्न सामग्री उपहारका रूपमा लैजाने चलन बढ्दै गएको छ ।’
तानसेन बजारका ढाका पसलमा दसैंदेखि नै ग्राहकको चहलपहल बढ्ने गर्छ । दाजुभाइका लागि राम्रो टोपी छान्न दिदीबहिनीहरू पसलमा पुग्ने गरेका छन् । आन्तरिक पर्यटकले पनि पाल्पा आउँदा ढाकाका सामग्री उपहारका रूपमा लैजाने भएकाले व्यापार बढेको व्यापारी राजेश भट्टराईले बताए ।
सरस्वती ढाका कपडा उद्योगका सञ्चालक हरि रायमाझीले तिहारमा ढाकाका सामग्रीको बिक्री राम्रो हुने गरेको बताए । तिहारका लागि टोपी, पछ्यौरा, रुमाल, पर्स, इस्टकोट, झोलालगायत सामग्रीको माग बढेको उनले बताए । दसैंपछि आन्तरिक पर्यटकको आगमन बढ्दा पनि व्यापारमा सहयोग पुगेको उनले बताए ।
‘तिहारमा मात्र होइन, वर्षभरि नै ढाकाका सामग्रीको व्यापार हुन्छ,’ उनले भने । उनका अनुसार आन्तरिक र बाह्य पर्यटकले पनि ढाकाका सामग्री उपहारका रूपमा लैजाने गरेका छन् । यस वर्ष भोटेकोशी बाढीका कारण पनि व्यापारमा केही कमी आएको छ । दसैंपछि थोक तथा खुद्रा दुवै कारोबार राम्रै हुने गरेको छ । विद्यालय, सहकारी, संघसंस्था र स्थानीय तहका भ्रमण टोलीले पनि ढाकाका सामग्री खरिद गर्ने गरेका छन् । स्वदेशी वस्त्रकला बिक्री भण्डारका प्रेम कार्कीका अनुसार भ्रमणमा आउने समूहले ढाकाका सामग्री लैजाने भएकाले बिक्री बढ्ने गरेको छ ।
पाल्पामा ढाका कपडा उत्पादनको इतिहास २०१५ सालदेखि सुरु भएको हो । पूर्णमाया महर्जनका श्रीमान् गणेशमान महर्जनले तानसेनमा ढाका बुन्ने तान भित्र्याएपछि यहाँ यसको उत्पादन सुरु भएको थियो । अहिले ८८ वर्ष पुगेकी पूर्णमाया त्यही समयदेखि ढाका उद्योगसँग जोडिएकी छन् । ‘पहिले पाल्पाली ढाका टोपीको महत्त्व अझ धेरै थियो,’ उनले भनिन्, ‘पञ्चायतकालमा ढाका टोपी लगाउने चलन निकै धेरै थियो ।’ उनका अनुसार अहिले पाल्पाली ढाका उत्पादन घट्दै गएको छ ।
बजारमा अन्यत्र उत्पादित कपडासमेत पाल्पाली ढाका भनेर बिक्री हुने गरेकोमा उनको गुनासो रहिआएको छ । पाल्पाली ढाका टोपी नेपाली पहिचानसँग जोडिएको तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताए । देशका विभिन्न सहरमा मात्र होइन, विदेशमा समेत यसको माग छ । पाल्पाबाट जिल्लामा मात्र नभई काठमाडौं, पोखरा, बुटवल, नारायणगढ, भैरहवा, दाङ र भक्तपुरलगायत सहरमा ढाका निर्यात हुने गरेको छ ।
कुनै समय पाल्पाको प्रमुख उद्योग व्यवसायका रूपमा रहेको ढाका उत्पादनले १० हजारभन्दा बढीलाई रोजगारी दिएको थियो । अहिले भने यो क्षेत्रमा काम गर्नेको संख्या घटेको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अहिले करिब एक हजारले मात्र ढाका उद्योगबाट रोजगारी पाएका छन् । पाल्पामा २४ भन्दा बढी ढाका उद्योग सञ्चालनमा छन् । घरमै तान राखेर ढाका बुन्ने दुई सयभन्दा बढी महिला यसैबाट आम्दानी गर्दै आएका छन् ।
पाल्पाली ढाका उद्योग संघका अनुसार यसको वार्षिक कारोबार कम्तीमा १० करोड रुपैयाँ छ । तर संघमा नौवटा उद्योगले मात्र सदस्यता लिएका छन् । हातैले बुनेका ढाका सामग्रीको माग बढे पनि उत्पादन र रोजगारी भने पहिलेको अवस्थामा छैन । पूर्वी नेपाल र भारतीय सीमावर्ती क्षेत्रमा उत्पादित कपडाले बजार लिँदा पाल्पाली ढाकाले प्रतिस्पर्धा गर्नुपरेको व्यवसायीको गुनासो छ । पाल्पाली नाम र पहिचानमा बजारमा अन्यत्रका कपडा बिक्री हुनुले पनि मौलिक उत्पादनको पहिचान जोगाउने चुनौती थपिएको व्यवसायीहरु बताउँछन् ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।