रकस्टार गेम्सको यो नयाँ संस्करण सार्वजनिक हुनुअघि नै १.५ करोडभन्दा बढी प्रि-अर्डर र करिब १.५ अर्ब डलरको कारोबार भएको छ ।
काठमाडौँ — अमेरिकाको रकस्टार गेम्सले बनाएको विश्व चर्चित ‘ग्रान्ड थेफ्ट अटो’ को छैटौँ संस्करण वा ‘जीटीए सिक्स’ बिहीबार सार्वजनिक हुँदै छ । रोयटर्सका अनुसार यो गेम सार्वजनिक हुनुअघि नै १ अर्ब डलर बराबरको बिक्री भइसकेको छ । यो गेम इतिहासकै सबैभन्दा बढी नाफा कमाउने र व्यावसायिक रूपमा सफल मनोरञ्जनात्मक उत्पादन हुने अपेक्षा गरिएको छ ।
जीटीए सिक्सले संगीत, फेसन र पर्यटन क्षेत्रमा समेत ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ । साथै, यो खेल खेल्नका लागि बिहीबार धेरै मानिसहरूले काम वा विद्यालयसमेत बिदा लिएको रोयर्टसमा पत्रकार म्याथ्यु लिकले लेखेका छन् ।
सन् २०१३ मा जीटीए फाइभ सार्वजनिक भएको १३ वर्षपछि १९ नोभेम्बरमा यो गेम लन्च हुन लागेकाले विश्वभरका फ्यानहरूमाझ ठूलो उत्साह छ । मासेबलका अनुसार हालसम्म विश्वभर २३.५ करोडभन्दा बढी प्रति बिक्री भइसकेको छ ।
गेम सार्वजनिक हुनुअघि नै १.५ देखि १.६ करोड युनिट प्रि-अर्डर भइसकेको र यसबाट करिब १.५ अर्ब डलर बराबरको व्यापार भइसकेको समाचारमा भनिएको छ । रकस्टार गेम्सकै ‘टेक-टु इन्टरएक्टिभ’ का अनुसार गेम लन्च भएको पहिलो सप्ताहन्तमा यसको बिक्री २ अर्ब डलर नाघ्न सक्छ ।
यस संस्करणमा खेलाडीहरूलाई अमेरिकाको मायामी सहरमा आधारित काल्पनिक ‘भाइस सिटी’ को आधुनिक रूप र फ्लोरिडामा आधारित काल्पनिक राज्य ‘लियोनिडा’ को परिवेशमा पुर्याउनेछ । यस सिरिजमा पहिलोपटक मुख्य महिला पात्रको रूपमा लुसिया कामिनोसलाई प्रस्तुत गरिएको छ । कथामा उनले आफ्नो साझेदार जेसन डुभलसँग मिलेर एक असफल डकैतीपछि सुरु भएको राज्यव्यापी षड्यन्त्र र अपराधको यात्रा तय गर्नेछिन् ।
पुराना कन्सोलहरूको सट्टा ‘प्लेस्टेसन फाइभ’ र ‘एक्सबक्स सिरिज एक्स-एसका लागि मात्र विकास गरिएको यस गेममा रकस्टारको ‘रेज’ इन्जिन प्रयोग गरिएको छ । यसले गर्दा गेमको एनिमेसन र अन्तरक्रियात्मक मौसम प्रणाली विशेष आकर्षण हुने ठानिएको छ ।
अनलाइन गेममा रुचि राख्ने नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले पनि केही समयअघि स्थानीय गेमिङ क्षेत्रका प्रतिनिधि तथा सफ्टवेयर डेभलपरहरूसँगको छलफलमा ‘जीटीए सिक्स’ बारे चर्चा गर्दै ‘त्यसले कस्तो प्रभाव पार्ला ?’ भनी कौतूहल पनि पोखेका थिए ।