न्यु डेभलपमेन्ट बैंक सन् २०१५ मा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाद्वारा स्थापित बहुपक्षीय विकास बैंक हो
बेइजिङ — सांघाईमा मुख्यालय रहेको न्यु डेभलपमेन्ट बैंकले उज्बेकिस्तानको हरित ऊर्जा क्षेत्रलाई सघाउन ३० करोड अमेरिकी डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ।
बैंकले गत नोभेम्बर १७ मा यो सम्झौता भएको जानकारी दिएको हो। यो ऋण रकम सौर्य, वायु, जलविद्युत र आणविक ऊर्जाजस्ता कम कार्बन उत्सर्जन हुने क्षेत्रहररुको विकासका लागि प्रयोग हुनेछ।
एनडीबीको नयाँ सदस्य राष्ट्र बनेको उज्बेकिस्तानमा बैंकले स्वीकृत गरेको यो पहिलो परियोजना हो।
बैंकका अनुसार यस परियोजनाको मुख्य उद्देश्य उज्बेकिस्तानको हरित ऊर्जा क्षेत्रलाई विस्तार गर्नु, बढ्दो ऊर्जा मागलाई पूरा गर्नु र ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउनु हो।
न्यु डेभलपमेन्ट बैंकका उपाध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत रोमन सेरोभले यो ऋण सम्झौता बैंक र यसको नयाँ तथा मध्य एसियाली पहिलो सदस्य राष्ट्र उज्बेकिस्तानबीचको साझेदारीमा एक महत्त्वपूर्ण कदम भएको बताएका छन्।
न्यु डेभलपमेन्ट बैंक सन् २०१५ मा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाद्वारा स्थापित बहुपक्षीय विकास बैंक हो।
यसले ब्रिक्स देशहरू र अन्य उदीयमान अर्थतन्त्र तथा विकासशील देशहरूमा पूर्वाधार र दिगो विकास परियोजनाहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने लक्ष्य राखेको छ।
साथै, यसले अन्य वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै विश्वव्यापी वृद्धि र विकासलाई पनि प्रवर्द्धन गर्दै आएको छ।
सन् २०२१ मा न्यु डेभलपमेन्ट बैंकले आफ्नो विस्तार प्रक्रिया सुरु गरेको थियो। पछिल्लो समय बंगलादेश, संयुक्त अरब इमिरेट्स, इजिप्ट, अल्जेरिया र उज्बेकिस्तान यस बैंकका नयाँ आधिकारिक सदस्य बनेका छन्।