Trending
Prev Story
Next Story

फुटबल: साफमा भारतको दबदबा कायमै

Ekantipur •
November 18, 2026 • 03:02 PM
1
1 reads 0 reactions

१५ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा दसौं पटक उपाधि जित्न सफल, अघि बढ्दै पाकिस्तान

फुटबल: साफमा भारतको दबदबा कायमै

१५ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा दसौं पटक उपाधि जित्न सफल, अघि बढ्दै पाकिस्तान

काठमाडौं — भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई २-१ गोलले पराजित गरी १५ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा म‌ंगलबार सम्पन्न फाइनलमा एक गोलले पछि परेको स्थिति उल्टाएर भारतले कीर्तिमानी दसौं पटक दक्षिण एसियाली फुटबलको उपाधि उचालेको हो । प्रतियोगिताको ३३ वर्षे इतिहासमा पहिलो पटक फाइनल पुगेको पाकिस्तान भने उपविजेतामा सीमित भयो ।

यसपटक भारतीय फुटबल संघ (एआईएफएफ) ले सिनियर राष्ट्रिय टोलीलाई न्युजिल्यान्डसँगको फिफा मैत्रीपूर्ण खेलका लागि पठाएर साफमा यू-२३ टोली उतारेको थियो । नौसाद मुसाको प्रशिक्षणमा रहेको युवा टोलीले प्रतियोगिताभर अपराजित रहेर उपाधि जितेको हो । युवा टोलीले भारतको फुटबल संरचना र खेलाडी उत्पादन प्रणालीको गहिराइ प्रमाणित गरेको छ ।

प्रतियोगितामा चार गोल गरेका मोहनबगानका स्ट्राइकर सुहेल अहमद भटले सर्वाधिक गोलकर्ताको गोल्डेन बुटसँगै सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका थिए । प्रतियोगिताभर दुई गोल बेहोरेका भारतका गोलरक्षक अर्स अनवर शेखले उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारे ।

पाकिस्तानका लागि भने यो संस्करण लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्ने अवसर बन्यो । सन् २०२१ को साफ च्याम्पियनसिप प्रतिबन्धका कारण गुमाएको पाकिस्तानले पेरुका प्रशिक्षक नोल्बर्टो सोलानोको नेतृत्वमा यसपालि प्रभावशाली प्रदर्शन गरेकाे हाे ।

समूह ‘बी’ मा माल्दिभ्सलाई ३-० ले पराजित गरेको पाकिस्तानले सेमिफाइनलमा आयोजक बंगलादेशमाथि १–० को नतिजा निकाल्दै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो ।

सन् २००४ मा घरेलु मैदानमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा फुटबल उपाधि जितेयता पाकिस्तानले कुनै उल्लेखनीय सफलता हात पार्न सकेको छैन । प्रतियोगितामा भुटानले पनि ऐतिहासिक उपलब्धि हासिल गर्याे । समूह ‘ए’ मा श्रीलंकासँग २-२ को बराबरी खेलेको भुटान गोलअन्तरका आधारमा सन् २००८ पछि पहिलो पटक साफको सेमिफाइनलमा पुग्न सफल भयो । १८ वर्षपछि नकआउट चरणमा पुगेको भुटानको प्रदर्शन यस संस्करणको अर्को उल्लेखनीय पक्ष थियो।

आयोजक बंगलादेशले पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । थोमस डुलीको प्रशिक्षणमा रहेको टोलीले भुटानलाई १-० र श्रीलंकालाई ४-० ले हराएर समूह ‘ए’ को विजेता बन्यो । तर, घरेलु मैदानमा चौथो पटक साफ आयोजना गर्दा पनि बंगलादेशले फाइनल पुग्ने लक्ष्य पूरा गर्न सकेन । सेमिफाइनलमा पाकिस्तानस“ग पराजित भएपछि बंगलादेशी समर्थकको उपाधि सपना अधुरै रह्यो ।

यस संस्करणले दक्षिण एसियाली फुटबलमा डायस्पोरा खेलाडीको बढ्दो प्रभावसमेत उजागर गर्यो । इंग्लिस क्लब लेस्टर सिटीका मिडफिल्डर हम्जा चौधरी, क्यानेडियन मूलका समित सोम र इंग्लिस मूलका फहरान अली वहिदको उपस्थितिले बंगलादेशी टोलीलाई थप बलियो बनाएको थियो ।

पाकिस्तानका कप्तान अब्दुल्लाह इकबाल, इसाह सुलेमान र मिकिल अब्दुल्लाहजस्ता युरोपेली लिगको अनुभव भएका खेलाडीले टोलीलाई ऐतिहासिक फाइनल यात्रामा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका थिए ।

श्रीलंकाले पनि १६ जना विदेशी मूलका खेलाडीलाई टोलीमा समेटेको थियो । यद्यपि, श्रीलंका समूह चरणबाटै बाहिरिनुले विदेशी मूलका खेलाडीको सहभागिता मात्र सफलताको आधार बन्न नसक्ने देखाएको छ । प्रविधिका दृष्टिले पनि यो साफ च्याम्पियनसिप ऐतिहासिक रह्यो । प्रतियोगिताको इतिहासमै पहिलो पटक फिफाद्वारा स्वीकृत ‘भीएआर लाइट’ प्रविधि प्रयोग गरियो । विशेषगरी फाइनलमा पाकिस्तानी डिफेन्डर जुनैद साहलाई देखाइएको रातो कार्डको निर्णयमा भीएआरको भूमिका विशेष रह्यो ।

यस संस्करणमा नेपालको अनुपस्थिति प्रतियोगिताको निराशाजनक पक्षमध्ये एक बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको विवाद तथा तेस्रो पक्षको हस्तक्षेपसँग जोडिएको प्रशासनिक संकटका कारण नेपाल फिफा निलम्बनमा परेपछि इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिप खेल्न पाएन ।

समग्रमा १५ औं साफ च्याम्पियनसिपले दक्षिण एसियाली फुटबलको बदलिँदो स्वरूप प्रस्तुत गरेको छ । भारतले यू-२३ टोलीबाटै क्षेत्रीय वर्चस्व कायम राख्न सकिने सन्देश दिएको छ भने पाकिस्तान र बंगलादेशले डायस्पोरा खेलाडीको सहभागिताबाट आफ्नो फुटबलको पकड बलियो बनाउने प्रयास गरेका छन् । तर श्रीलंकाको असफलताले विदेशी मूलका खेलाडीको सहभागितासँगै टोलीगत समन्वय, तयारी र दीर्घकालीन योजनाको महŒव पनि उत्तिकै रहेको स्पष्ट पारेको छ ।  यसै साफमार्फत भुटानले पनि आफ्नो फुटबल स्तर बढेको संकेत दिएको छ ।

फाइनल खेलको चर्चा गर्ने हो भने पाकिस्तानले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । मिडफिल्डर आलमगिर गाजीले डीबक्स बाहिरबाट उत्कृष्ट कर्लिङ प्रहारमार्फत गोल गर्दै पाकिस्तानलाई १-० को अग्रता दिलाए । तर दोस्रो हाफमा खेलको परिस्थिति बदलियो । ५८ औं मिनेटमा भारतीय खेलाडीमाथि फाउल गरेका पाकिस्तानी डिफेन्डर जुनैद साहलाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा सोझै रातो कार्ड देखाइएपछि पाकिस्तान १० खेलाडीमा समेटिएको थियो ।

त्यसको फाइदा उठाएको भारतले तीन मिनेटपछि नै बराबरी गोल फर्कायो । ६१ औं मिनेटमा प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित सुहेल अहमद भटले भारतका लागि गोल गरे । निर्धारित समय सकिन दुई मिनेट बा“कीमा कर्नरबाट आएको बललाई डिफेन्डर सन्दीप मन्डीले हेडिङमार्फत गोल गरेपछि भारतको जित सुनिश्चित भएको थियो । निर्णायक गोल गरेका मन्डी प्लेयर अफ द म्याच घोषित भएका थिए ।

अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
22h ago
पाकिस्तानमाथि रोमाञ्चक जित निकाल्दै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

पाकिस्तानमाथि रोमाञ्चक जित निकाल्दै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौँ । भारतले साफ च्याम्पियनसिप २०२६ को उपाधि आफ्नो नाममा पारेको छ । मंगलबार बंगलादेशको ढाकास्थित नेसनल स्टेडियममा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई २–१ गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन ...

#साफ #उपाधि #पाकिस्तान
Compare →
Nagarik News
11h ago
बहिरा फुटबल टोली कोरिया जाने

बहिरा फुटबल टोली कोरिया जाने

प्रशिक्षकमा जयकृष्ण श्रेष्ठ, सहायक प्रशिक्षकमा अनिलबहादुर गुरुङ, व्यवस्थापकमा रोहित शर्मा र अफिसियलमा कुलप्रसाद भट्टराई छन्।

#फुटबल
Compare →

Related Stories

Sports
Build #2612