पाँच राष्ट्रिय फुटबल संघको समर्थन जुटाएपछि ६८ वर्षीय तासिमाले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौं — जापान फुटबल संघका मानार्थ अध्यक्ष कोजो तासिमाले फिफा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।पाँच राष्ट्रिय फुटबल संघको समर्थन जुटाएपछि ६८ वर्षीय तासिमाले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् ।
जापान फुटबल संघले १७ नोभेम्बरमा तासिमालाई फिफा अध्यक्षको उम्मेदवार बनाउने पत्र फिफामा पठाएको जनाएको छ । फिफा अध्यक्षको निर्वाचन आगामी १८ मार्चमा मोरक्कोको रबातमा हुने ७७औँ फिफा कंग्रेसमा हुनेछ । उम्मेदवारी दर्ताको समय बुधबार राति समाप्त हुँदैछ । वर्तमान अध्यक्ष जियानी इन्फान्टिनो पनि चौथो कार्यकालका लागि प्रतिस्पर्धामा छन् ।
फिफा अध्यक्षको उम्मेदवार बन्न कम्तीमा ५ सदस्य राष्ट्रको समर्थन आवश्यक पर्छ । साथै, पछिल्ला ५ वर्षमध्ये कम्तीमा २ वर्ष खेलाडी वा फुटबल पदाधिकारीका रूपमा सक्रिय रहेको हुनुपर्छ । पूर्वजापानी राष्ट्रिय खेलाडी तथा युवा प्रशिक्षकसमेत रहेका तासिमा फिफा अध्यक्ष पदमा उम्मेदवारी दिने पहिलो जापानी हुन् । उनी सन् २०१५ देखि फिफा काउन्सिलमा सदस्यका रूपमा कार्यरत छन् ।
उम्मेदवारी दर्ताका लागि समर्थन गर्ने राष्ट्रहरूको नाम भने तासिमाले सार्वजनिक गरेका छैनन् । उनले फुटबल प्रशासनमा सुशासन र पारदर्शिता कायम गर्नु आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । फिफालाई अझ स्वस्थ, विश्वसनीय र विश्व फुटबलको विकासमा योगदान पुर्याउने संस्था बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको उनको भनाइ छ ।