Trending
Prev Story
Next Story

भेडाको बथानमा मान्छेको राजनीति

Ekantipur •
November 02, 2026 • 05:31 AM
1
1 reads 0 reactions

भेडाको बथानमा कोही क्रान्तिकारी विचार राख्छन् त कोही दास मनोवृत्तिमै बाँच्न चाहन्छन् । पुराना नेता–कार्यकर्ताले राज्य संयन्त्रलाई जसरी कमजोर बनाए र नयाँ भनिएकाहरूले पनि कसरी त्यसैलाई निरन्तरता दिइरहेका छन् ? नाटक ‘भाग भेडा भाग’ले यो दृष्टान्त देखाउन खोजेको छ ।

भेडाको बथानमा मान्छेको राजनीति

भेडाको बथानमा कोही क्रान्तिकारी विचार राख्छन् त कोही दास मनोवृत्तिमै बाँच्न चाहन्छन् । पुराना नेता–कार्यकर्ताले राज्य संयन्त्रलाई जसरी कमजोर बनाए र नयाँ भनिएकाहरूले पनि कसरी त्यसैलाई निरन्तरता दिइरहेका छन् ? नाटक ‘भाग भेडा भाग’ले यो दृष्टान्त देखाउन खोजेको छ ।

काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा मञ्चनरत संयोग गुरागाईं निर्देशित नाटक ‘भाग भेडा भाग’ हेरिरहँदा एकछिन अलमलिन सकिन्छ। मानिस भेडा र भेडा मानिसजस्ता लाग्न सक्छन्। भेडाको चरित्र बाँचिरहेका मान्छे र मान्छेको स्वभाव देखाइरहेका भेडाहरूबीचको अन्तरद्वन्द्वले कथालाई रोचक बनाउँदै लैजान्छ।

गम्भीर विषयमा संवेदनशील भएर पनि जबर्जस्त व्यङ्ग्य गर्ने यो नाटकले एकै समयमा धेरै कुरा भन्ने सामर्थ्य राख्छ। अतियथार्थवादी शैलीमा उनिएको कथाले मानिस र जनावरहरूको सहअस्तित्वसँगै नेपाली राजनीतिको प्रवृत्तिमाथि धारिलो प्रश्न गर्छ। भेडाको बथानमा कोही क्रान्तिकारी विचार राख्छन् त कोही दास मनोवृत्तिमै बाँच्न चाहन्छन्। पुराना नेता–कार्यकर्ताले राज्य संयन्त्रलाई जसरी कमजोर बनाएका छन्, नयाँ भनिएकाहरूले पनि कसरी त्यसैलाई निरन्तरता दिइरहेका छन् ? यो दृष्टान्तलाई नाटकले हास्यरसको लेपन लगाएर व्यङ्ग्यबाण प्रहार गरेको छ।

कथाका लेखक पनि संयोग स्वयं हुन्। उनले काठमाडौं उक्लिएर रङ्गमञ्चमा साधना गरेकै १३ वर्ष बितिसक्यो। मण्डलामा नाटक सिक्दाको दोस्रो ब्याचका उनले यतिबेला २०औँ ब्याचलाई सहजीकरण गरिरहेका छन्। यसपटक मण्डला आउजाउ गरिरहने क्रममा उनको मनमा एउटा विचार चलिरह्यो- ‘यदि मान्छे र जनावर एउटै ठाउँमा भए भने के होला?’

एक दशकअघि नाटक ‘वैतरणी क्याफे’मा संयोगले स्याउलेको चरित्र निर्वाह गरेका थिए। जनावरहरूको कथा स्वादिलो गरी भनिएको उक्त नाटक पनि उनको स्मृतिमा आयो। ‘मान्छेसँग जनावरहरूको कथा जोडेर भनियो भने कस्तो होला?’ संयोगले सोचे। त्यही क्रममा उनको कल्पनामा अङ्कुराएको शब्द थियो- ‘भेडा’।

'राजनीतिक दृष्टिकोणबाट हेरियोस् वा समाजको, यो शब्द असाध्यै चल्तीमा हुने रहेछ,' उनी भन्छन्, 'भेडाबाट मान्छेले ऊन, मासु, औषधिदेखि धेरै कुरा उपभोग गरिरहेका हुन्छन्। त्यसकारण पनि मैले भेडाको आँखाबाट कथा भन्न खोजेँ।'

उसो त संयोग नाटकमा अतियथार्थवादी शैलीमा काम गर्न मन पराउँछन्; किनकि उनको अध्ययनले पनि त्यस्तै स्वाद बढी खोज्छ।

‘भाग भेडा भाग’मा भेडाहरू मानिसबाट भाग्न खोज्छन्, मानिस आफैँबाट। तर भागेर पुगिने ठाउँबारे भने उनीहरू अनजान छन्। नाटकको सबैभन्दा बलियो पक्ष यसको कथा हो। कथाले सुरुदेखि नै कौतूहल जगाउन थाल्छ। भेडीगोठ मालिककहाँ अनुगमनका लागि सरकारको तर्फबाट अध्यक्षसहितको टोली आउँदै गर्दा त्यहीँबाट तनाव सुरु हुन्छ; किनकि ती पात्रमध्ये एउटाबाहेक अरू गोठमा भेडा नै हुँदैनन्। सरकारी कारबाहीबाट बच्न उनले अपनाउने उपाय र त्यसबाट सिर्जित घटनाले कथालाई अगाडि बढाउँछन्।

कथाका हरेक पात्र सशक्त छन्। भेडीगोठ मालिकसँग भएको डिजाइनरको काम आवरण डिजाइन गर्नु हो, तर उसले समग्र समस्याबाट उम्किने उपायकै डिजाइन गरिरहेको हुन्छ। कथामा आउने अध्यक्ष, उपाध्यक्ष, गोठालाहरू वा भाडाका कलाकारहरूको उपस्थितिले कथालाई बलियो बनाउँदै लैजान्छ। हरेक भेडाको भूमिका र उनीहरूको गतिविधिले कथालाई रोचक बनाउँछ।

कथाको क्लाइमेक्समा मात्र झुल्किने एक बिचौलिया पात्रले त नेपालको राजनीतिक घटनाक्रमको समसामयिक अवस्थालाई नै चित्रण गर्छ।

नाटकमा कथावाचनका क्रममा प्रप्समार्फत ‘सिप' र ‘ह्युमन मोड’ भनेर वर्गीकरण गरिएको छ। यसले एकै ठाउँमा दुई फरक प्राणीको सङ्घर्ष कसरी चलिरहेको छ भन्ने कुरा सुन्दर तरिकाले व्यक्त गर्छ। कथावाचनलाई बलियो बनाउन मैना चरीलाई सूत्रधारका रूपमा प्रयोग गरिएको छ। मैना चरी सूत्रधार मात्र नभई प्राणीभित्र चेतना जगाउने मेटाफरका रूपमा प्रयोग भएको छ।

सेटभित्र नाटकको सीमितता नै यसको सौन्दर्य हुन्छ। एउटै सेटलाई कहिले घर, गोठ, क्याफे त कहिले जङ्गल बनाउनुपर्छ, फेरि त्यो विश्वसनीय पनि हुनुपर्छ। ‘भाग भेडा भाग’मा कथाअनुसार प्रकाशले जसरी समय र भूगोलको अनुभूति गराएको छ, त्यो सुन्दर लाग्छ। जङ्गलमा भेडीगोठालासँग स्यालहरूले झगडा गर्दा नीलो र रातो प्रकाशको संयोजनले त्यहाँभित्रको लडाइँ र सङ्कटलाई प्रस्तुत गर्छ।

नाटकमा कलाकारहरूको अभिनय भने थप माझिन बाँकी छ। हुन त पहिलोपटक नाटकको मञ्चमा उभिएका अधिकांश कलाकारका लागि उनीहरूले निर्वाह गरेका पात्र चुनौतीपूर्ण नै थिए। त्यसैले कोही लाउड सुनिन्छन् त कसैको संवाद डेलिभरी अस्वाभाविक लाग्छ। यद्यपि कथाले बाँधेपछि कतिपय कमजोरीहरू स्वतः नजरअन्दाज हुने रहेछन्।

यथार्थवादी कथाहरूलाई बेलाबेलामा ब्रेक गर्दै आउने अतियथार्थवादी नाटकहरूले नाटकघर पुग्ने दर्शकहरूलाई फरक स्वाद दिएर फर्काउँछन्। यस हकमा नाटक ‘भाग भेडा भाग’ले तृप्त बनाउने सामर्थ्य राख्छ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
तिहारका लागि १५९१ भेडा च्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

तिहारका लागि १५९१ भेडा च्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

मुस्ताङ । तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडा च्याङ्ग्रा बेँसी झारिएका छन् । उक्त भेडा च्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो । यहाँस्थित कृषि तथा...

#भेडा
Compare →
Nagarik News
1w ago
नपुछ मेराे आँसु, छातीभित्र मूल फुटेको मान्छे हुँ!

नपुछ मेराे आँसु, छातीभित्र मूल फुटेको मान्छे हुँ!

हाँसोको बस्ती लुटियो, खुसी कतै हराएपछि, नपुछ मेराे आँसु, छातीभित्र मूल फुटेको मान्छे हुँ।

#मान्छे
Compare →
Onlinekhabar
1w ago
कार्यकर्तालाई रविको कडा चेतावनी– हामी यति मात्तियौँ कि मान्छेलाई मान्छे गन्न छाड्यौँ, अब भुइँमा टेकौँ

कार्यकर्तालाई रविको कडा चेतावनी– हामी यति मात्तियौँ कि मान्छेलाई मान्छे गन्न छाड्यौँ, अब भुइँमा टेकौँ

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त सफलतापछि पार्टीका नेता–कार्यकर्ताहरू मात्तिएको भन्दै कडा आत्मआलोचना गरेका छन्। शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता–कार्यकर्ताको 'भुइँमा खुट्टा नभएको' …

#मान्छे
Compare →

Related Stories

Politics & Governance
Build #2611