बन्द प्रशिक्षण र पूर्वाधार निर्माण सँगसँगै अघि बढाउनुपर्ने अवस्थाले कर्णालीको राष्ट्रिय खेलकुद तयारीलाई कठिन बनाएको छ।
सुर्खेत — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा सुर्खेतको वीरेन्द्रनगरस्थित क्रिकेट रंगशालाको मर्मतसम्भार सुरु गरिएको छ।
प्रतियोगिताका लागि आवश्यक खेलस्थल तयार पार्ने क्रममा रंगशालाको मर्मत थालिएको हो। कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको सहभागिता रहनेछ।
३२ खेल समावेश गरिएको प्रतियोगिताका लागि प्रदेशका विभिन्न जिल्लामा खेलस्थल व्यवस्थापनको काम भइरहेको छ। प्रतियोगिताको मिति नजिकिँदै गर्दा रंगशालाको मर्मत सुरु हुनुले तयारी व्यवस्थापनमा चुनौती थपेको छ। यतिबेला खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रतियोगिताका लागि अन्तिम तयारी गराउनुपर्ने समय हो। तर, खेलस्थल मर्मतसम्भार र खेलाडीको प्रशिक्षण एकैसाथ अघि बढाउनुपर्ने अवस्था छ।
खेलाडीलाई पर्याप्त प्रशिक्षण र प्रोत्साहन दिनुपर्ने समयमा पूर्वाधारको कामसमेत बाँकी रहनुले प्रतियोगिताको तयारी थप चुनौतीपूर्ण बनेको छ। अबको छोटो समयभित्र रंगशालाको मर्मतसम्भार सम्पन्न गर्नुका साथै खेलाडीको प्रशिक्षणलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ। समयमै पूर्वाधार तयार नभए प्रतियोगिता सञ्चालन र खेलाडीको तयारीमा समेत असर पर्न खेलाडीहरु बताउँछन् ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।