नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटर खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनायो।
उसका लागि ओपनिङ ब्याटर कामिल मिशाराले शतकीय पारी खेले। उनले ५९ बलमा १० छक्का र पाँच चौकासहित अविजित १२० रनको पारी खेलेका हुन्। योसँगै मिशारा जारी एनपिएलमा शतकीय पारी खेल्ने दोस्रो ब्याटर बनेका छन्।
यस्तै, कप्तान रवि बोपाराले पनि अर्धशतकीय पारी खेले। उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रनको पारी खेलेका हुन्। देव खनालले १५ बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे।
काठमान्डुका लागि बलिङतर्फ कप्तान करण केसी र रशिद खानले समान २–२ विकेट लिए।
आजको खेलको विजेता टोलीले क्वालिफायर–२ मा क्वालिफायर–१ को पराजित टिम बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्न पाउनेछ।
सुदूरपश्चिमले मंगलबार लुम्बिनी लायन्ससँग चार विकेटको पराजय व्यहोरेको थियो।
प्रकाशित: २ मंसिर २०८३ १८:५५ बुधबार