काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने संस्थागत तथा व्यक्तिगत करदाताको संख्या ८० लाख नाघेको छ ।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले करदाताको संख्या ८० लाख पुगेको जानकारी दिएका हुन् । यसले आर्थिक गतिविधि औपचारिक दायरामा आउने र करको दायरा विस्तार हुने क्रम बढेको देखाएको उनले बताए ।
विभागले गत आर्थिक वर्षमा ६ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्षमा ७ खर्ब ७५ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ । कात्तिक मसान्तसम्म १ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो अवधिको लक्ष्यको ९० प्रतिशत र गत वर्षको सोही अवधिको तुलनामा १३।३ प्रतिशत बढी हो ।
सरकारको कुल राजस्वमा विभागको योगदान करिब ४५ प्रतिशत रहेको शर्माले बताए । उनका अनुसार ९५ प्रतिशतभन्दा बढी सक्रिय करदाताले अनलाइनबाटै कर विवरण बुझाउँदै आएका छन् भने कर भुक्तानीका लागि डिजिटल माध्यमको प्रयोगसमेत विस्तार भएको छ ।
करदातालाई सहज सेवा दिने उद्देश्यले विभागले नयाँ करदाता पोर्टल सञ्चालनमा ल्याएको छ । साथै, कर प्रणाली सुधारका लागि २८ बुँदे कार्ययोजना कार्यान्वयनमा ल्याइएको र वार्षिक १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायलाई केन्द्रीय राजस्व सूचना प्रणालीमा आबद्ध गरिएको छ ।
विभागले ४७ आन्तरिक राजस्व कार्यालय, ३८ कोष तथा लेखा नियन्त्रक कार्यालय र २०० भन्दा बढी स्थानीय तहबाट करसम्बन्धी सेवा दिँदै आएको छ । वैदेशिक लगानी प्रवर्द्धनका लागि यूएई, हङकङ र बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताबारे वार्ता अघि बढाइएको पनि शर्माले जानकारी दिए ।
यसैबीच, आजदेखि सुरु भएको देशव्यापी कर सप्ताह विभिन्न सचेतनामूलक कार्यक्रमसहित मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।