नेपाल प्रिमियर लिग (एनपीएल) को बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ओपनिङ ब्याटर जर्ज मुन्सीलाई टोलीमा अनुबन्ध गरेको छ।
३३ वर्षीय मुन्सीलाई सुदूरपश्चिमले विदेशी खेलाडी ब्रान्डन म्याकमुलेनको स्थानमा भित्र्याएको हो। म्याकमुलेन स्वदेश फर्किएपछि उनको स्थानमा मुन्सीलाई टोलीमा समावेश गरिएको फ्रेन्चाइजले जनाएको छ।
आक्रामक ब्याटिङका लागि परिचित मुन्सी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले स्कटल्यान्डका लागि ८८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ५९८ रन बनाएका छन्। मुन्सीको उच्च व्यक्तिगत स्कोर १३२ रन हो। उनले आफ्नो करिअरमा तीन शतक र १४ अर्धशतकसमेत प्रहार गरेका छन्।
प्रतियोगिताको प्लेअफ चरणमा प्रवेश गरिसकेको सुदूरपश्चिमले महत्वपूर्ण खेलअघि मुन्सीलाई टोलीमा भित्र्याएको हो। नयाँ खेलाडीको आगमनले टोलीको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम रोयल्सले मंगलबार पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
प्रकाशित: ३० कार्तिक २०८३ १८:५३ सोमबार