सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको बाँकी खेलका लागि अनुबन्ध गरेका छन् ।
काठमाडौँ — काठमाडौं– स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
ओपनिङ ब्याटर मुन्सी स्कटल्यान्डका भरपर्दा सीमित ओभरका खेलाडी हुन् । उनी एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आक्रामक ब्याटिङका लागि परिचित छन् । सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डको ऐतिहासिक पहिलो एकदिवसीय जितमा ५५ रन बनाएर उनी चर्चामा आएका थिए ।
सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाउनु उनको टी-२० करिअरको उल्लेखनीय प्रदर्शन हो । त्यस खेलमा उनले काइल कोएट्जरस“ग पहिलो विकेटमा २ सय रनको साझेदारी गरेका थिए । स्कटल्यान्डले उक्त खेल २५२ रन बनाएको थियो, जुन टोलीको उच्च टी-२० अन्तर्राष्ट्रिय योगफल हो ।
सन् २०२५ मा नेदरल्यान्ड्सविरुद्ध १५० बलमा १९१ रन बनाएर मुन्सीले एसोसिएट राष्ट्रका ब्याटरमध्ये एकदिवसीयमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान बनाएका थिए । सन् २०२२ को टी-२० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध अविजित ६६ रन बनाएका उनले २०२६ को संस्करणमा इटालीविरुद्ध ८४ रन बनाएर टोलीको जितमा योगदान दिएका थिए ।
मुन्सीले स्कटल्यान्डका लागि ७९ एकदिवसीय र ८८ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । एकदिवसीयमा उनले २ हजार ७७७ रन बनाउँदा तीन शतक र १९ अर्धशतक बनाएका छन् । टी-२० अन्तर्राष्ट्रियमा उनको नाममा २ हजार ५९८ रन छ । यस क्रममा उनले तीन शतक र १४ अर्धशतक बनाएका छन् । समग्र टी-२० करिअरमा मुन्सीले १३३ खेलबाट ३ हजार ६९८ रन बनाइसकेका छन् ।
सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले मुन्सीको अनुभव र आक्रामक ब्याटिङ क्षमताले टोलीलाई बलियो बनाउने बताए । उनको आगमनले सुदूरको ब्याटिङलाई थप मजबुत बनाउने खड्काले बताए ।
सुदूरले आफ्नो टोलीका प्रभावशाली खेलाडी ब्रान्डन म्याकमुलेन फर्किएपछि उनको स्थानमा मुन्सीलाई आबद्ध गरेको हो । गत संस्करणमा मुन्सीले विराटगर किंग्सबाट एनपीएल खेलेका थिए ।
सुदूरपश्चिमले मंगलबार लुम्बिनी लायन्सविरुद्ध क्वालिफायर वानमा प्रतिस्पर्धा गर्नेछ ।