एनपीएलका अहिलेसम्मका सबै खेल जोड्दा सबैभन्दा बढी खेल जित्ने लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स नै हुन् ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले प्लेअफ चरणमा प्रवेश गर्दा पहिलो ‘ब्लकबस्टर’ खेल तयार भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स क्वालिफायर–वानमा भिड्दा धेरै अर्थमा त्यसलाई प्रतियोगिताको छोटो इतिहासमा सबैभन्दा ठूलो खेल मान्न मिल्ने आधार छन् ।
एक त लिग चरण समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिम यिनै हुन् । त्यसमाथि अहिलेसम्मका सबै खेल जोड्दा बढी खेल जित्ने दुई टिम लुम्बिनी र सुदूरपश्चिम नै हुन् । प्रतियोगिताका तीन सिजनलाई आधा–आधा गर्ने हो भने पहिलोमा सुदूरपश्चिम हाबी रहेको पाइन्छ । दोस्रो आधामा भने लुम्बिनी । पोहोर सिजनको फाइनल पनि यिनै दुई टिमबीच भएको थियो ।
यस सिजनको सुरुआती खेलमा पनि यी दुई टिम खेलेका थिए । यस्तोमा क्वालिफायर–वानले अब्बल दर्जाको क्रिकेट पस्कने विश्वास गर्न सकिन्छ । त्यसैले एनपीएलको इतिहासमा सबैभन्दा हेर्नलायक खेलका रूपमा यो प्रतिस्पर्धा चल्नेछ । प्रश्न हो, यी दुई टिमसँग खास विशेष के छ त ?
रोहित पौडेलको लुम्बिनी ११ अंक लिएर आठ टिममध्ये शीर्षमा रह्यो । तेस्रो सिजन सुरु भएयता रोहितसँगै अन्य खेलाडीले पनि प्रायः दोहोर्याउने शब्द हो, ‘मोमेन्टम’ अर्थात् लुम्बिनीले समातेको लय । पहिलो सिजन निकै कमजोर खेलेको लुम्बिनीले दोस्रो सिजनको सुरुआती चारमध्ये तीन खेल गुमाउँदा लागिरहेको थियो, यो जत्तिको खराब टिम बिरलै होला । पाँचौं खेलमा आएर टोलीले बल्ल एकपल्ट पोखरा एभेन्जर्सलाई हरायो । त्यसपछि जे भयो, त्यो त इतिहास हो । प्रतियोगिताको इतिहासमा अहिले सबैभन्दा सुनाउनलायक कथा ।
त्यस सिजन लिग चरणका अन्तिम तीन खेल जितेर बल्लतल्ल प्लेअफ पुगेको लुम्बिनीलाई त्यसपछि के चाहियो र ? इलिमिनेटर जित्यो, क्वालिफायर–टु जित्यो अनि फाइनल पनि । ट्वान्टी–२० क्रिकेटको फ्रेन्चाइज प्रतियोगितामा इलिमिनेटर छिचोल्दै उपाधि जित्ने टिम धेरै कम छन् । त्यसले लुम्बिनी एक भाग्यमानी टिम हो ।
यस सिजन लुम्बिनी लिग चरणको एकै खेलमा मात्र पराजित रहेको छ, त्यो काठमाडौं गोर्खाजविरुद्ध थियो । त्यसपछि त कर्णाली याक्स र विराटनगर किंग्सविरुद्ध प्राप्त दुवै जित सानदार रहे । त्यही बेला कप्तान रोहित भन्थे, ‘हामी टिमले हात पारेको मोमेन्टम कायम राख्न चाहन्छौं ।’ टिम जितेको जित्यै गर्न चाहन्छ, जितको लय कायम राख्न चाहन्छ ।
त्यसो भए दीपेन्द्रसिंह ऐरीको सुदूरपश्चिम रोयल्ससँग के छ त ? यो टिम भने उपाधि जित्न चाहन्छ, असाध्यै धेरै । दीपेन्द्रले धेरैपल्ट दोहोर्याएर भनिसकेका छन्, ‘दुईपल्ट फाइनलमा पराजित रहेपछि हामी यसपल्ट उपाधि जित्न चाहन्छौं, त्यसका लागि सक्दो राम्रो खेल्छौं ।’
लिग चरणको समाप्तिमा १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिमसँग उपाधि जित्ने ‘जुनुन’ छ । सुदूरपश्चिम लगातार तीनै सिजन प्लेअफमा पुग्ने एक्लो टोली हो । अझ त्यसैमा टोलीले तीनै पटक क्वालिफायर–वान खेलेको छ ।
पहिलो सिजन फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग हारेको थियो । दोस्रोमा यही लुम्बिनीसँग । उपाधिको असाध्यै नजिक पुगेर पनि दुवै अवसरमा चुक्नुको पीडा कस्तो हुन्छ, त्यो सुदूरपश्चिमलाई राम्रोसँग थाहा छ । यही दुई हारले दिएको घाउ पुर्न चाहन्छ सुदूरपश्चिम । प्रतियोगिताका आठ टिममध्ये सबैभन्दा लोकप्रिय पनि यही हो । त्यसो त सुदूरपश्चिम नै सबैभन्दा लोकप्रिय छ भनेर ठोकुवा गर्न सक्ने कुनै तथ्यांक छैन, तर यो टिमलाई मन पराउने धेरै छन् । सुदूरपश्चिमको खेलमा कीर्तिपुरमा उपस्थित हुने दर्शकले पनि त्यही प्रमाणित गर्छन् ।
अबको क्वालिफायर–वान ‘ब्लकबस्टर’ हुनेछ भन्ने एउटा आधार के पनि हो भने संयोगले यी दुवै टिम प्लेअफ चरणमा हारेका छैनन् । पहिलो सिजनको खराब प्रदर्शनपछि लुम्बिनी चौथो स्थानमा रहेर दोस्रो सिजनको प्लेअफ पुगेको थियो । त्यसमा टोलीले सबैभन्दा पहिले काठमाडौंलाई हरायो र त्यसपछि विराटनगरलाई । उपाधि भिडन्तमा भने सुदूरपश्चिममाथि हाबी भयो । यस्तोमा लुम्बिनीको प्लेअफमा प्रदर्शन शतप्रतिशत छ । यस्तै प्रदर्शन सुदूरपश्चिमको पनि छ । टोलीलाई त क्वालिफायर–वानको विशेषज्ञभन्दा हुन्छ ।
अहिलेसम्म सुदूरपश्चिमले दुई पटक क्वालिफायर–वान खेलिसकेको छ । त्यसमध्ये पहिलो सिजन जनकपुरलाई हराएको थियो भने दोस्रोमा विराटनगरलाई । फेरि यसपल्टको लिग चरणमै फर्कने हो भने लुम्बिनी सातमध्ये पाँच खेलमा विजयी रह्यो । टोलीको एक खेल भने वर्षाका कारण सम्भव भएको थिएन । लुम्बिनीको लिग चरण यात्रा वास्तवमै सुमधुर रह्यो, काठमाडौंविरुद्ध बेहोरेको एक हारबाहेक । विशेषतः विराटनगरमाथि प्राप्त जित लुम्बिनीका लागि विशेष हुनुपर्छ र यही खेलले टिमको आत्मविश्वास अझ बढाएको हुनुपर्छ ।
सुदूरपश्चिमले भने यसपल्ट लिग चरणमा दुई खेल गुमायो । नत्र यो टिम पहिलो र दोस्रो सिजन दुवैमा एक–एक खेलमा मात्र पराजित थियो । उद्घाटन खेलमै लुम्बिनीविरुद्ध पराजित सुदूरपश्चिमका लागि विराटनगरसँगको हार धेरै अर्थमा चित्त दुखाइ रह्यो । जसरी पाँच ओभरको खेल खेल्न यसलाई बाध्य पारिएको थियो, त्यो राम्रो भन्न नसकिने घटना नै थियो । सुदूरपश्चिमले यही हारको शोकलाई अन्ततः शक्तिमा बदल्यो र त्यसपछि लगातार चार खेल जित्यो ।
यसपल्ट सुदूरपश्चिमलाई भाग्यले पनि अलिकति साथ दिएकै हो भन्दा हुन्छ । काठमाडौं आफ्नो अन्तिम खेलमा विजयी रहेको भए सुदूरपश्चिमले इलिमिनेटर खेल्नुपर्ने हुन्थ्यो । यहाँनिर के सम्झन आवश्यक छ भने क्रिकेटमा भाग्यले त्यही टिमलाई साथ दिन्छ, जुन ‘बहादुर’ हुन्छ । अनेक गुनासो र चित्त दुखाइबीच पनि सुदूरपश्चिमले जसरी पछिल्ला चार खेल यसपल्ट जितेको छ, त्यो प्रशंसायोग्य छ । सायद एउटा तथ्यांकमा भने सुदूरपश्चिम लुम्बिनीभन्दा पछाडि छ ।
यो हो, यी दुई टिमबीचका चार खेलको तथ्यांक । यसमध्ये दुईमा सुदूरपश्चिम विजयी छ भने दुईमा लुम्बिनी । सुरुका दुई सिजनका दुवै लिग चरणका खेलमा सुदूरपश्चिम लुम्बिनीमाथि विजयी रह्यो । पहिलो सिजन सुदूरपश्चिम ४५ रनले विजयी रह्यो भने दोस्रो सिजन सात विकेटले । त्यही सिजनको फाइनलमा लुम्बिनी ६ विकेटले विजयी रह्यो । यसपल्ट लिग चरणको सुरुमै लुम्बिनी सात विकेटले विजयी रह्यो । यी दुई खेलको एक समान विशेषताको भने खास अर्थ छ ।
दोस्रो सिजनको फाइनलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटिएको थियो । लुम्बिनीले नौ ओभरमात्र खेलेर चार विकेटमा ८६ रन बनायो । यसपल्टको उद्घाटन खेलमा पनि सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै ८७ रनमै समेटियो, १७.२ ओभरमात्र टिकेर । त्यसलाई लुम्बिनीले तीन विकेट गुमाएर ९.५ ओभरमै पछ्याएको थियो । त्यस खेलपछि सुदूरपश्चिमका प्रशिक्षक मिसवाह उल–हकले पिचलाई दोष दिएनन् । उनलाई लागेको थियो, दोष जति सबै आफ्नै ब्याटरको हो ।
त्यही खेलपछि लुम्बिनीले पहिलो पटक ‘मोमेन्टम’ शब्द प्रयोग गरेको थियो । अहिले पनि त्यही लय टोलीको मुखमा झुन्डिएको छ । पाकिस्तानी क्रिकेट हस्ती मिसवाहले त्यतिबेला के पनि भन्थे भने यो टिम प्लेअफमा पुग्नेछ, त्यसमा शंका नगरे हुन्छ, किनभने टिम आफैंमा राम्रो छ । उनका खेलाडीले आफ्ना प्रशिक्षकको वचन राखेका छन् । यसको कारण त्यही त हो, उपाधि जित्ने ‘जुनुन’ । त्यसैले अबको खेल लुम्बिनीको लय र सुदूरपश्चिमको जसरी पनि जित्ने इच्छाको भिडन्त पनि हो ।
अबको खेल दुवै टिमका कप्तान र उनीहरूको व्यक्तित्वको टकराव पनि त हो । त्यो भनेको भयो, रोहित भर्सेस दीपेन्द्र । दुवै टिम आफ्ना कप्तानको प्रशंसा गरेर थाक्दैनन् । लुम्बिनीका सहयोगी शक्ति गौचनले भनेकै छन्, टिमको लगातार प्रदर्शनमा कप्तान रोहितको ठूलो भूमिका छ । उनी भन्थे, ‘रोहितले जसरी टिमलाई अगाडि बढाएका छन्, त्यसको प्रशंसा त गर्नैपर्छ ।’ उनी रोहितको प्रदर्शनबाट पनि असाध्यै प्रभावित छन् ।
यस्तै स्थिति सुदूरपश्चिममा दीपेन्द्रको पनि छ । सुदूरपश्चिमका प्रमुख खेलाडी ब्रान्डन म्याकमुलेन त दीपेन्द्रलाई नेपाली क्रिकेटकै ‘राजा’ भएको दाबीसमेत गर्छन् । उनी भन्छन्, ‘दीपेन्द्र माथिल्लो स्तरका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी लयमा पनि छन् र निर्णायक खेलमा उच्च प्रदर्शन गर्छन् । सुदूरपश्चिमको अहिलेसम्मको यात्रामा उनको प्रदर्शनको ठूलो योगदान छ ।’
न रोहित न त दीपेन्द्रले त्यसै प्रशंसा जितेका होइनन् । चाहिएका बेला उच्च प्रदर्शन गर्न सक्षम छन् उनीहरू । दुवै खेलाडीले तीनै सिजनका फरक–फरक खेलमा ‘प्लेयर अफ द म्याच’ जितेका छन् ।
यस्तो उपलब्धि यिनै दुई खेलाडीको नाममा मात्र छ । दीपेन्द्रले समग्रमा पाँचपल्ट उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् भने रोहितले चारपल्ट । यस सिजन रोहित एकपल्ट उत्कृष्ट रहे भने दीपेन्द्र दुईपल्ट । पहिलो सिजनमा उत्कृष्ट नेपाली खेलाडी बन्दै दीपेन्द्रले ओमोडा कार जितेका थिए । दोस्रो सिजनमा उपाधि यात्रामा गाडीको स्टेरिङ रोहितको हातमा आयो । ब्याट र बल दुवैमा रोहित चम्किएका थिए । फाइनलमा रोहितले ह्याट्रिक विकेट नै लिएका थिए ।
नेपालका लागि जतिले क्रिकेट खेले, त्यसमध्ये सबैभन्दा उत्कृष्टको सूचीमा उनीहरूको नाम आउँछ नै । दुवै धेरै अर्थमा शान्त र सौम्य छन् । त्यसैले जतिबेला यी दुई खेलाडीले नेतृत्व गरेको टिम एकआपसमा खेल्छ, त्यतिबेला त्यो खेल ‘ब्लकबस्टर’ हुने नै भयो ।