Trending
Prev Story
Next Story

हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

Onlinekhabar •
November 16, 2026 • 11:01 AM
2
2 reads 0 reactions

बक्स अफिसमा फिल्म असफल हुनु, दर्शकले एउटै ढर्राका फिल्म अस्वीकार गर्नु, दक्षिण भारतीय फिल्मको रिमेकले दर्शकसँग सम्बन्ध स्थापित गर्न नसक्नु र फिल्मको पटकथा लेखनमा कलाकारका व्यवस्थापकहरूको हस्तक्षेप बढ्नु अहिले हिन्दी फिल्म उद्योगका प्रमुख समस्या मानिएका …

हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

बक्स अफिसमा फिल्म असफल हुनु, दर्शकले एउटै ढर्राका फिल्म अस्वीकार गर्नु, दक्षिण भारतीय फिल्मको रिमेकले दर्शकसँग सम्बन्ध स्थापित गर्न नसक्नु र फिल्मको पटकथा लेखनमा कलाकारका व्यवस्थापकहरूको हस्तक्षेप बढ्नु अहिले हिन्दी फिल्म उद्योगका प्रमुख समस्या मानिएका छन् । यिनै कारणले दर्शकलाई फेरि सिनेमाघरसम्म ल्याउन कठिन भइरहेको विश्लेषण गरिन्छ ।

यस शृङ्खलाको तेस्रो तथा अन्तिम भागमा हिन्दी फिल्महरू किन सफल हुन सकिरहेका छैनन्, कोरोना महामारीपछि दर्शकको रुचि कसरी बदलिएको छ र उनीहरूलाई फेरि सिनेमाघरसम्म ल्याउन के गर्नुपर्छ भन्ने विषयमा चर्चा गरिएको छ ।

फिल्म व्यापार विश्लेषक तरण आदर्शका अनुसार बलिउडको फिल्म व्यवसाय निकै जोखिमपूर्ण छ । हरेक शुक्रबार प्रदर्शन हुने फिल्मको सफलता वा असफलता दर्शकको रुचिमा निर्भर हुन्छ ।

उनी भन्छन्, ‘कहिलेकाहीँ ठूला स्टारका फिल्म पनि चल्दैनन् भने अर्कोतर्फ नयाँ कलाकारका फिल्मले अप्रत्याशित सफलता पाउँछन् । अहिले कुनै पनि फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्छ भनेर निश्चित रूपमा भन्न सकिने अवस्था छैन ।’

कोरोना महामारीपछि हिन्दी फिल्मको व्यवसायमा अनिश्चितता बढेको उनको भनाइ छ । महामारीका बेला मनोरञ्जनका सीमित माध्यम भएकाले मानिसहरू टेलिभिजन, ओटीटी प्लेटफर्म र दक्षिण भारतीय फिल्मका हिन्दी संस्करण हेर्न थाले । त्यसबेला दर्शकले हेरेका सामग्रीले उनीहरूको सोच र रुचिमा परिवर्तन ल्यायो ।

उनी भन्छन्, ‘दर्शकले पहिलेभन्दा फरक, आधुनिक र खुला विषयवस्तुका कथा हेर्न पाए । दक्षिण भारतीय फिल्मका हिन्दी संस्करण हेर्ने दर्शकलाई बलिउडका मसला फिल्ममा पहिलेको जस्तो मनोरञ्जन नभएको महसुस हुन थाल्यो । अर्कोतर्फ, मल्टिप्लेक्समा सहरी दर्शकलाई लक्षित गरेर सामाजिक विषयमा आधारित फिल्म बनाउने चलन बढ्यो । यस्तो अवस्थामा मसला फिल्मलाई कमजोर र स्तरहीन मान्ने प्रवृत्ति पनि बढ्यो । यसको परिणामस्वरूप बलिउड आफ्नो ठूलो दर्शक वर्गबाट टाढिँदै गयो ।’

तरणका अनुसार महामारीपछि दर्शक फिल्म छनोट गर्दा पहिलेभन्दा बढी सोचविचार गर्न थालेका छन् । यही कारण धेरै फिल्मले प्रदर्शनको सुरुवातमै राम्रो व्यापार गर्न सकिरहेका छैनन् । तर ‘पुष्पा’, ‘जवान’ र ‘एनिमल’ जस्ता फिल्मले भने उत्कृष्ट ओपनिङ गरेका छन् ।

यी फिल्मले सहरी, शिक्षित र मध्यमवर्गीय दर्शकदेखि आम मानिससम्मलाई आकर्षित गर्न सक्ने क्षमता अझै पनि मसला सिनेमामा रहेको प्रमाणित गरेको उनको भनाइ छ ।

उनका अनुसार महामारीपछि मसला फिल्मको पुनरागमन हुनुको मुख्य कारण पनि यही हो। यस्ता फिल्मले दर्शकको ठूलो समूहलाई आकर्षित गर्न सक्छन् ।

तरण भन्छन्, ‘महानगरभन्दा बाहिर बस्ने दर्शकलाई पनि मूलधारको सिनेमासँग जोड्न आवश्यक छ । यसमा सिंगल स्क्रिन हलको भूमिका महत्त्वपूर्ण हुन्छ । केही ठूला सहरका दर्शकले मात्र सहरी परिवेशमा आधारित फिल्म मन पराउन सक्छन् । त्यसैले एउटा निश्चित वर्गलाई लक्षित गरेर मात्रै फिल्म बनाउने र मसला सिनेमालाई कमजोर मान्ने निर्माताले यो कुरा बुझ्नुपर्छ ।’

उनका अनुसार फिल्म उद्योगको अस्तित्व धेरै हदसम्म आम दर्शकलाई लक्षित गर्ने सिनेमामा निर्भर छ । ‘वेलकम टु द जंगल’, ‘धमाल ४’, ‘आवारापन २’, ‘धुरन्धर’, ‘धुरन्धर २’, ‘भूत बंगला’ र ‘हनुमान अंश’ जस्ता फिल्मले महानगरबाहिर गरेको व्यापार उत्साहजनक रहेको उनको दाबी छ ।

हिन्दी फिल्म उद्योग कमजोर हुनुको अर्को कारण स्टारहरूको वरिपरि विकसित हुँदै गएको व्यवस्थापक संस्कृति पनि भएको तरणको धारणा छ ।

उनी भन्छन्, ‘यी व्यवस्थापकहरूको फिल्म उद्योगसँग खासै सम्बन्ध हुँदैन । उनीहरूलाई फिल्म क्षेत्रको वास्तविक अवस्था र दर्शकको रुचिबारे पर्याप्त ज्ञान पनि हुँदैन । वर्षौँको अनुभव भएका फिल्म निर्माताको सुझावलाई बेवास्ता गरिन्छ । स्टारका व्यवस्थापकले पुराना फिल्म निर्मातालाई समयअनुसार नचल्ने व्यक्ति ठान्छन् । तर फिल्म बोर्डरुममा होइन, माया, लगाव र मेहनतका साथ बनाइन्छ ।’

तरणका अनुसार फिल्मको सफलतामा संगीतको पनि ठूलो भूमिका हुन्छ । पहिले फिल्म प्रदर्शन हुनुभन्दा धेरै अगाडि नै गीत सार्वजनिक गरिन्थ्यो । ती गीतले फिल्मको प्रचार गर्थे र दर्शकलाई हलसम्म तान्थे । तर अहिले फिल्म निर्माणमा संगीत र पटकथालाई पर्याप्त समय दिन छाडिएको छ ।

उनी भन्छन्, ‘कहिलेकाहीँ फिल्मको कथा सुनाउँदा एउटा हुन्छ तर पर्दामा आउँदासम्म यति धेरै परिवर्तन गरिन्छ कि दुवै फिल्म फरक लाग्छन्। कलाकारले पटकथा लेखन र फिल्म निर्माणका अन्य विभागमा अनावश्यक हस्तक्षेप गर्न बन्द गर्नुपर्छ।’

निर्माता फिरोज ए नाडियाडवालाका अनुसार बलिउडमा फिल्मको सफलता त्यसको कथा, विषयवस्तु र उपयुक्त कलाकार छनोटमा निर्भर हुन्छ । राम्रो कथा र त्यसअनुसारका कलाकार छनोट गर्न सके फिल्म असफल हुने जोखिम धेरै कम गर्न सकिन्छ ।

यस वर्ष उनको निर्माणमा बनेको ‘वेलकम ४’ ले विश्वव्यापी रूपमा करिब २०० करोड भारतीय रुपैयाँको व्यापार गरेको बताइएको छ ।

नाडियाडवाला भन्छन्, ‘कथा राम्रो छ र त्यसअनुसार कलाकार छनोट गरिएको छ भने फिल्म असफल हुने जोखिम कम हुन्छ । ठूलो बजेटको फिल्म र अनावश्यक खर्च गरेर बनाइएको ठूलो बजेटको फिल्मबीच फरक हुन्छ । हरेक पैसा सोचविचार गरेर खर्च गरिएको ठूलो बजेटको फिल्मको प्रभाव पर्दामा देखिन्छ। यस्तो फिल्ममा जोखिम पनि कम हुन्छ ।’

उनका अनुसार फिल्मको पटकपटक छायांकन गर्नुपर्ने अवस्था आएमा र बजेट निर्धारित सीमाभन्दा बाहिर गएमा जोखिम बढ्छ ।

उनी भन्छन्, ‘हाम्रो प्रयास परिवारसँग बसेर हेर्न मिल्ने राम्रो फिल्म बनाउने हुनुपर्छ । त्यसको बजेट पनि नियन्त्रणमा राख्नुपर्छ । फिल्म बनाउनुअघि प्रदर्शन हुनुभन्दा अगाडि कति आम्दानी हुन सक्छ भन्ने अनुमान गर्नु आवश्यक छ । फिल्म निर्धारित समयमा पूरा हुनुपर्छ । यस क्रममा गुणस्तरमा सम्झौता गर्नु हुँदैन र बजेट पनि बढाउनु हुँदैन ।’

उनका अनुसार फिल्म प्रदर्शनपछि बक्स अफिसबाट हुने आम्दानीका साथै डिजिटल, स्याटेलाइट र संगीत अधिकारबाट प्राप्त हुने रकमलाई पनि ध्यान दिनुपर्छ ।

उनी भन्छन्, ‘यदि तपाईंको फिल्म दर्शकलाई मनोरञ्जन दिने खालको छ भने उनीहरूको रुचि बुझ्नुपर्छ । कसैलाई डराएर, रुवाएर, हँसाएर वा रोमाञ्चित बनाएर मनोरञ्जन दिन सकिन्छ । यही सोचका साथ हामीले आफ्नो कम्पनीका लागि ‘फ्यामिली युनिभर्स’ भन्ने शब्द प्रयोग गरेका छौँ । अर्थात् परिवारका सबै सदस्यले एकसाथ बसेर सहज रूपमा हेर्न सक्ने मनोरञ्जन ।’

उनका अनुसार फिल्मलाई दर्शकसम्म पुर्‍याउन स्टारको लोकप्रियता मात्रै पर्याप्त हुँदैन ।

‘स्टारको लोकप्रियताले निश्चित संख्यामा दर्शकलाई हलसम्म ल्याउन सक्छ । तर फिल्ममा राम्रो विषयवस्तु छैन भने दर्शकलाई के देखाउने? कथा र विषयवस्तु बलियो छ भने स्टारको लोकप्रियताले त्यसको प्रभाव अझ बढाउन सक्छ ।’

फिल्मको सफल फ्रेन्चाइज बनाउन कथावस्तु, संवाद, पटकथा र पात्र सबै उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ छ । ‘वेलकम’, ‘हेरा फेरी’ र ‘आवारा पागल दीवाना’ जस्ता फिल्म यसका उदाहरण हुन् ।

सनी देओल, सञ्जय दत्त, ज्याकी श्राफ र मिथुन चक्रवर्ती जस्ता कलाकारलाई लिएर मल्टिस्टारर फिल्म ‘बाप’ बनाएका निर्देशक तथा निर्माता अहमद खानका अनुसार फिल्म निर्माणमा ठूलो आर्थिक जोखिम हुन्छ । फिल्मले राम्रो व्यापार गर्न नसके निर्माताको छविमा समेत असर पर्छ ।

उनका अनुसार फिल्मको लागत उठाउने र आम्दानी गर्ने मुख्य पाँच माध्यम छन् । ती हुन्—बक्स अफिस, डिजिटल अधिकार, स्याटेलाइट अधिकार, संगीत अधिकार र विदेशी बजार ।

अहमद भन्छन्, ‘फिल्म निर्माण एउटा सामूहिक प्रक्रिया हो। यसमा निर्देशक, निर्माता, कलाकार, प्राविधिकदेखि स्टुडियोसम्म सबैको भूमिका हुन्छ ।’

उनका अनुसार अहिले हलमा जाने दर्शकको संख्या सीमित भए पनि उनीहरू फिल्म हेर्नका लागि बलियो कारण खोजिरहेका छन् । नयाँ कलाकारको प्रेमकथा होस् वा युद्धमा आधारित फिल्म, कथा रोचक छ भने दर्शक हलसम्म पुग्छन् ।

उनी भन्छन्, ‘फिल्मको पहिलो चरण भनेको टिजर र ट्रेलर हो । यसले दर्शकको मनमा फिल्मप्रति कति उत्सुकता जगाउँछ भन्ने निर्धारण गर्छ । त्यसैले दर्शकको रुचि बुझेर उपयुक्त ट्रेलर सार्वजनिक गर्नुपर्छ ।’

अहमदका अनुसार कोरोना महामारीअघि फिल्म उद्योगले एक हजार करोड भारतीय रुपैयाँको व्यापारको स्तर हासिल गरेको थिएन । यसको अर्थ मानिसहरू ठूलो संख्यामा हलसम्म पुगिरहेका छन् । त्यसैले दर्शक घटेका छन् भन्नेमा उनी सहमत छैनन् ।

उनी भन्छन्, ‘अहिले ओटीटीमा फिल्म हेर्ने दर्शक पनि फेरि सिनेमाघरतर्फ फर्किरहेका छन् ।’

उनका अनुसार फिल्म सफल बनाउन ठूलो बजेट वा ठूला स्टार अनिवार्य हुँदैनन् । दर्शकलाई आकर्षित गर्ने विशेष अनुभव दिन सक्नु नै महत्त्वपूर्ण हुन्छ ।

उनी ‘वेलकम टु द जंगल’ लाई इभेन्ट सिनेमा मान्छन् । यसमा धेरै कलाकार एउटै पर्दामा देखिन्छन् र हरेक दृश्यमा दर्शकलाई हँसाउने गतिविधि हुन्छन् ।

उनका अनुसार नयाँ कलाकारको जोडी लिएर बनाइएको प्रेमकथा पनि इभेन्ट सिनेमा बन्न सक्छ । यदि त्यसले दर्शकलाई आफ्नो जवानी र पुराना सम्झनाको अनुभूति गराउन सक्यो भने त्यसले दर्शक तान्न सक्छ ।

त्यस्तै, उत्कृष्ट एक्सन, कार चेज, विस्फोट, घोडा, धेरै नायक र दमदार संवाद भएका फिल्म पनि इभेन्ट सिनेमाका उदाहरण हुन् । उनका अनुसार यस्ता फिल्मले सधैँ दर्शक आकर्षित गर्दै आएका छन् ।

म्याक्स मार्केटिङका संस्थापक तथा निर्देशक वरुण गुप्ताका अनुसार बलिउडमा फिल्म निर्माणको निर्णय गर्दा त्यसको व्यावसायिक सम्भावनालाई पनि ध्यान दिइन्छ । फिल्मको काम सुरु गर्नुअघि कथा, विधा, निर्देशकको विगतको प्रदर्शन र कलाकारका अघिल्ला फिल्मको व्यापारको विश्लेषण गरिन्छ ।

उनका अनुसार पछिल्लो एक दशकमा शिक्षित वर्ग, उच्च मध्यमवर्ग र जेनेरेसन जी (जेन जी) का दर्शकको रुचिमा ठूलो परिवर्तन आएको छ । उनीहरूले अहिले स्टारको लोकप्रियताभन्दा फिल्मको विषयवस्तुलाई बढी महत्त्व दिन थालेका छन् ।

वरुण यसलाई फरक र नयाँ विषयमा फिल्म बनाउन चाहने निर्माताका लागि सकारात्मक मान्छन् ।

उनी भन्छन्, ‘आजका दर्शक सचेत छन् । उनीहरू विश्वभरका फिल्म हेरिरहेका छन् । पर्दामा के केवल देखावटी हो र के वास्तविक तथा मौलिक विषयवस्तु हो भन्ने कुरा उनीहरूले सजिलै बुझ्छन् ।’

पहिले कुनै फिल्ममा ठूलो स्टार देखेपछि दर्शक हलसम्म पुग्ने गरेको तर अहिले अवस्था बदलिएको उनको भनाइ छ ।

उनका अनुसार दर्शकलाई फेरि सिनेमाघरसम्म ल्याउन फिल्मको विषयवस्तु, स्टारको लोकप्रियता र कथाअनुसारको भव्यताबीच उचित तालमेल हुनुपर्छ ।

यसको उदाहरण दिँदै उनले ‘रामायण’ को चर्चा गरेका छन् । उनका अनुसार यसमा विभिन्न फिल्म उद्योगका चर्चित कलाकार, भारतीय संस्कृतिसँग जोडिएको कथा र भव्यताको संयोजन देख्न सकिन्छ ।

वरुणका अनुसार अपराध र रहस्यमा आधारित थ्रिलर फिल्मका लागि दर्शकलाई हलसम्म ल्याउन कठिन हुँदै गएको छ । किनभने यस्ता फिल्म हेर्न ओटीटीलाई बढी उपयुक्त माध्यम मान्न थालिएको छ ।

यद्यपि ‘लापता लेडिज’, ‘मुन्ज्या’, ‘१२औँ फेल’ र ‘हनुमान अंश’ जस्ता फिल्मको उदाहरण दिँदै उनले राम्रो फिल्मले अझै पनि दर्शकलाई हलसम्म तान्न सक्ने बताए ।

उनी भन्छन्, ‘महामारीका बेला घरमै बसेर ओटीटीमा विश्वभरका फिल्म हेर्ने अवसर पाएपछि दर्शक पहिलेभन्दा बढी जानकार भएका छन् । कथा भन्ने तरिका बलियो छ र निर्माताको योजना सही छ भने दर्शक हलसम्म आइरहन्छन् ।’

उनका अनुसार दर्शकले आफ्नो पैसा र समयको सही सदुपयोग भएको महसुस गर्नुपर्छ । यसमा सिनेमाघर सञ्चालक र फिल्म वितरकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । टिकटको मूल्यदेखि हलभित्रको अनुभवसम्मका विषयले दर्शकको निर्णयमा प्रभाव पार्छन् ।

वरुणका अनुसार फिल्म निर्माणमा सिर्जनशीलता र व्यवसायबीच सन्तुलन कायम राख्नुपर्छ । निर्देशकले आफ्नो सिर्जनात्मक सोचअनुसार काम गर्नुपर्छ भने निर्माताले त्यससँगै व्यावसायिक पक्षलाई पनि ध्यान दिनुपर्छ ।

उनी भन्छन्, ‘निर्माता र निर्देशकले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझ्नुपर्छ। निर्देशकले सिर्जनात्मक स्वतन्त्रताका साथ काम गर्नुपर्छ भने निर्माताले व्यावसायिक सम्भावनाको ख्याल गर्नुपर्छ । यी दुई पक्ष मिसिन थालेपछि फिल्म आफ्नो मूल उद्देश्यबाट भड्किन सक्छ ।’

एनएक्सटी सिनेमाका सञ्चालन प्रमुख नितिन गुप्ताका अनुसार दर्शकलाई हिन्दी फिल्म हेर्न हलसम्म आकर्षित गर्न त्यसको विषयवस्तु, निर्देशक, कलाकार र ट्रेलरले महत्त्वपूर्ण भूमिका खेल्छन् ।

उनका अनुसार हरेक सहर र सामाजिक वर्गका दर्शकको रुचि फरक हुन सक्छ । तर सबैका लागि फिल्मको विषयवस्तु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

उनले गुजराती फिल्म ‘लालो’ र हिन्दी फिल्म ‘हनुमान अंश’ को सफलताको उदाहरण दिँदै यी फिल्मले विभिन्न वर्गका दर्शकलाई आकर्षित गर्न सफल भएको बताए ।

नितिनका अनुसार राम्रो विषयवस्तु नै दर्शकलाई फेरि हलसम्म ल्याउने मुख्य आधार हो । ठूला कलाकारको उपस्थितिले फिल्मलाई सुरुवाती व्यापारमा सहयोग गर्न सक्छ । तर कथा र विषयवस्तु बलियो छैन भने फिल्म लामो समयसम्म बक्स अफिसमा टिक्न सक्दैन ।

त्यस्तै, मल्टिप्लेक्स चेनमा कार्यरत गौरव मिश्राका अनुसार अहिले जुनसुकै उमेर र सामाजिक वर्गका दर्शक पनि आफूलाई मनोरञ्जन दिने, अन्तिमसम्म बाँधेर राख्ने र मनमा छाप छाड्ने कथा हेर्न चाहन्छन् ।

उनका अनुसार कामकाजी वर्ग आफ्नो खर्चअनुसारको मनोरञ्जन खोज्छ। मध्यमवर्गीय दर्शक परिवारसँग बसेर पूर्ण मनोरञ्जन लिन चाहन्छन् । शिक्षित दर्शक बलियो कथा र मौलिकतालाई प्राथमिकता दिन्छन् भने जेन जी नयाँपन, आफ्नो जीवनसँग जोडिने विषय र भव्य सिनेमाई अनुभव खोज्छन् ।

गौरव भन्छन्, ‘अन्ततः हरेक दर्शक आफ्नो समय खर्च गर्न लायक फिल्म हेर्न चाहन्छ ।’

उनका अनुसार दर्शकलाई फेरि सिनेमाघरसम्म ल्याउन निरन्तर गुणस्तरीय फिल्म निर्माण गर्नुप र्छ। फरकफरक विधाका फिल्म बनाउनुपर्छ । टिकटको मूल्य किफायती हुनुपर्छ र हलमा दर्शकले राम्रो अनुभव पाउनुपर्छ ।

भारतमा सिनेमाघरको भविष्य उज्ज्वल रहेको उनको विश्वास छ ।

उनी भन्छन्, ‘ठूलो पर्दामा हेर्दा विशेष अनुभव हुने कथा बनिरहेसम्म र दर्शक सामूहिक रूपमा त्यस्ता फिल्मको उत्सव मनाउन तयार भएसम्म सिनेमाको जादु कायम रहनेछ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3h ago
दयाहाङ अभिनित दुई फिल्म बक्स अफिसमा अगाडि

दयाहाङ अभिनित दुई फिल्म बक्स अफिसमा अगाडि

अन्य सिक्वेलहरूको व्यापार कमजोर देखिएको समयमा दयाहाङका दुवै फिल्मले राम्रो कमाइ गर्दै २०८३ साललाई उनका लागि सुखद बनाएका छन्।

#फिल्म #बक्स #अफिस
Compare →
Hamro Patro News
4d ago
बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

काठमाडौं । २०८३ वैशाखदेखि असोजसम्मको ६ महिनालाई फर्केर हेर्दा नेपाली चलचित्रको बक्स अफिसमा आशा र निराशाको मिश्रित दृश्य देखिन्छ । केही फिल्मले करोडौं रुपैयाँको व्यापार गर्दै निर्मातालाई राहत दिएका ...

#फिल्म #बक्स #अफिस
Compare →
Bizshala
6d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#फिल्म #बक्स #अफिस
Compare →
Nagarik News
2d ago
'रामायण' नवौँ दिनमा एक हजार करोड भारु पार

'रामायण' नवौँ दिनमा एक हजार करोड भारु पार

फिल्म ‘रामायण’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हप्तामा शानदार प्रवेश गरेको छ।

#फिल्म #बक्स #अफिस
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612