अन्य सिक्वेलहरूको व्यापार कमजोर देखिएको समयमा दयाहाङका दुवै फिल्मले राम्रो कमाइ गर्दै २०८३ साललाई उनका लागि सुखद बनाएका छन्।
काठमाडौँ — भदौयता प्रदर्शन भएका चलचित्रहरूमध्ये अभिनेता दयाहाङको मुख्य भूमिका रहेका फिल्महरूले बक्स अफिसमा अग्रता लिएका छन् ।
चलचित्र विकास बोर्डले सोमबार जारी गरेको बक्स अफिस रिपोर्टमा दयाहाङ अभिनित दुई फिल्म ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ व्यावसायिक हिसाबमा अगाडि देखिन्छन् ।
रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’ले हालसम्म १२ करोड ९४ लाख १५ हजार ४ सय ३७ रुपैयाँ व्यापार गरेको छ भने माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले १० करोड ३५ लाख ७८ हजार ४ सय ७८ रुपैयाँ कमाएको छ ।‘कबड्डी’ कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको थियो भने ‘पेन्सन पट्टा’ भदौ २६बाट ।
हालै रिलिज भएको वसन्त निरौला निर्देशित ‘पाँच पाण्डव’को व्यापार भने कमजोर देखिन्छ । फिल्मले हालसम्म ४३ लाख ५० हजार ४ सय ९३ व्यापार गरेको छ ।
दशैंमा प्रदर्शन भएका तिनै फिल्महरूको व्यापार पनि अपेक्षाकृत रहेन । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा २’ले ६ करोड ८१ लाख ६७ हजार ३ सय १२ रुपैयाँ कमाएको छ । दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै २’ले ३ करोड ४३ लाख १७ हजार ४५ रुपैयाँ व्यापार गरेको छ । विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ २’ले २ करोड ३२ लाख ९६ हजार ३ सय ७१ रुपैयाँ व्यापार गरेको छ ।
यसपालि अरु सिक्वेलहरु व्यापारमा कमजोर देखिँदा ‘कबड्डी’ भने नाफाको बाटोमा छ । यसअघिका चार शृङ्खला पनि व्यापारिक हिसाबमा सफल छन् । चौथो शृङ्खलाको तुलनामा भने ‘कबड्डी ५’को व्यापार भने कमजोर छ । २०७९ मा प्रदर्शन भएको अघिल्लो शृङ्खलाले २२ करोड माथिको व्यापार गरेको थियो ।
हिन्दी फिल्म ‘रामायण’ १९ गते प्रदर्शन हुनुभन्दा अघि फिल्मको व्यापार उकालो लागिरहेको थियो । ‘रामायण’पछि भने व्यापार ओरालो लाग्दै गयो । यद्यपि दयाहाङको लागि भने दुई फिल्म व्यावसायिक हिसाबले सफल हुनुले ०८३ साल सुखद् देखिएको छ ।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।