एनभिडिया चिप चीन पुर्याएको आरोपमा अनुसन्धानमा रहेको मेगास्पिडले बाह्य कानुनी परामर्शदातामार्फत आन्तरिक छानबिन गर्ने घोषणा पनि गरेको छ ।
काठमाडौँ — सिंगापुरमा मुख्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिड इन्टरनेसनल ले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङसँग सम्बन्ध रहेको आरोप लागेकी चिनियाँ व्यवसायी एलिस ह्वाङ ले गत वर्ष नै कम्पनी छाडेको जनाएको छ । ह्वाङसँगको उनको सम्बन्धले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता बढाएको थियो ।
उन्नत प्रविधिका एनभिडिया चिप चिनियाँ कम्पनीहरूलाई अवैध रूपमा हस्तान्तरण गरेको आरोपमा अनुसन्धानको दायरामा रहेको मेगास्पिडले बाह्य कानुनी परामर्शदाताको नेतृत्वमा आन्तरिक छानबिन गर्ने घोषणा पनि गरेको छ ।
एसोसिएटेड प्रेस (एपी) लाई दिएको प्रतिक्रियामा कम्पनीले आफ्नो व्यवसाय वैध र कानुनसम्मत रहेको दाबी गरेको छ । कम्पनीको व्यवसाय, आपूर्ति शृंखला र विश्वव्यापी सञ्चालनबारे सञ्चारमाध्यममा आएका कतिपय दाबी पुष्टि गर्ने प्रमाण नरहेको पनि उसको भनाइ छ । यद्यपि, कम्पनीले आफूमाथि लागेका विशिष्ट आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।
‘कम्पनीले विस्तृत आन्तरिक छानबिनका लागि बाह्य कानुनी परामर्शदाता नियुक्त गरेको छ,’ एपीलाई इमेलमार्फत पठाइएको विज्ञप्तिमा भनिएको छ ।
एलिस ह्वाङले ३० अगस्ट २०२५ देखि लागू हुने गरी कम्पनी छाडेको र अहिले कम्पनीमा उनको कुनै भूमिका नरहेको मेगास्पिडले जनाएको छ । ‘सुश्री ह्वाङका व्यक्तिगत तथा निजी विषयमा कम्पनी टिप्पणी गर्दैन,’ विज्ञप्तिमा भनिएको छ ।
एनभिडियाको ग्राहक तथा क्लाउड साझेदारसमेत रहेको मेगास्पिडमाथि पछिल्ला महिनामा अमेरिकी अधिकारीहरूले पनि निगरानी बढाएका छन् । अमेरिकी निर्यात प्रतिबन्ध छल्दै ठूलो परिमाणमा उन्नत चिप चिनियाँ कम्पनीहरूलाई पुर्याएको आरोप कम्पनीमाथि छ । गत डिसेम्बरमा भने मेगास्पिडले चिपको अवैध हस्तान्तरण भएको कुनै प्रमाण नरहेको दाबी गरेको थियो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आइतबार एलिस ह्वाङ जासुस हुन् वा होइनन् भन्ने विषय आफ्ना लागि महत्त्वपूर्ण नभएको बताएका छन् । एनभिडियाभित्र अमेरिकी निर्यात प्रतिबन्ध पालना गर्ने संस्कृति थियो वा थिएन भन्ने विषयमा आफ्नो चासो रहेको उनले बताए ।
‘जेन्सनका व्यक्तिगत कमजोरी उनकै विषय हुन् । यदि उनले आफ्ना मातहतका कर्मचारीसँग सम्बन्ध राखेका थिए भने त्यो निश्चय पनि समस्याको विषय हो,’ फक्स न्युज च्यानलको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’मा बोल्दै बेसेन्टले भने ।
एनभिडियाभित्र कस्तो कार्यसंस्कृति थियो र कम्पनीले आफ्नो आम्दानी तथा नाफा बढाउन शंकास्पद बिक्रीलाई प्रोत्साहन गरिरहेको थियो कि थिएन भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।