चलचित्रका निर्देशकले कथाअनुसार बनाइएको दृश्य गलत बुझिएको बताए भने कलाकार मनोज गजुरेलले दर्शकमा परेको भ्रम र असुविधाप्रति माफी मागेका छन् ।
काठमाडौँ — शनिबार विक्की अग्रवाल र श्रद्धा प्रसाईं निर्देशित फिल्म ‘क का कि की’को ट्रेलर सार्वजनिक कार्यक्रम थियो । सोही कार्यक्रमको दौरान सामाजिक सञ्जालमा फिल्मका कलाकार गौरी मल्ल र मनोज गजुरेललाई प्रहरीले पक्रेर भ्यानमा राखेको भिडियो सार्वजनिक भयो ।
भिडियोमा गौरी मल्लले आफूलाई पक्राउ गर्न इन्कार गरिरहेको देखिन्थिन् । वास्तविक प्रहरी पोसाक र भ्यान प्रयोग भएकाले उनीहरूलाई पक्राउ गरिएको हल्ला सामाजिक सञ्जालभरि फैलियो । युट्युब तथा टिकटकमा कन्टेन्ट क्रियटरहरूले पनि गजुरेल र मल्ललाई पक्राउ गरिएको शीर्षक राखेर भिडियो पोस्ट गरे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले स्टाटसमार्फत सरकारलाई प्रश्नसमेत गर्न भ्याए । उनले लेखे, ‘गौरी मल्ल, मनोज गजुरेल आदिलाई किन पक्रेको सरकार ? जवाफ दे ।’
तर यो वास्तविक घटना थिएन । निर्माण टिम तथा कलाकारले फिल्म प्रचारका लागि अपनाएको रणनीति थियो । फिल्म प्रचारका लागि मानिसहरूमा भ्रम छर्ने काम भएको भन्दै सामाजिक सञ्जालमा निर्माण टिम तथा कलाकारहरूको व्यापक आलोचना हुन थाल्यो । कतिपय फिल्मकर्मीले पनि यो किसिमको पब्लिसिटी सही नभएको भन्दै टिप्पणी गरे । फिल्म निर्देशक दीपेन्द्र के खनालले तस्बिर सेयर गर्दै फेसबुकमा पोस्ट गरे, ‘यो किसिमको पब्लिसिटी चाहिँ नगरेको भए हुन्थ्यो । दुःख लाग्यो ।’
पछि साङपाङले भने स्टाटस डिलिट गरेर आफू झुक्किएको स्पष्ट पारे । उनले कलाकारले यो किसिमका प्रय्याक गर्नु जायज नभएको भन्दै आलोचनासमेत गरे ।
कतिपय कलाकारले भने ‘क का कि की’ टिमको बचाउमा लेखे । अभिनेता राजबल्लभ कोइरालाले फेसबुक पोस्टमार्फत लेखे, ‘क का कि की’ले जे गर्यो, त्यो उसको आफ्नै शैली हो । प्रचारप्रसारकै लागि गरिएको हो भन्ने थाहा हुँदाहुँदै पनि त्यसैलाई लिएर किन यति धेरै आलोचना गर्नु ? यहाँ सबै कुरा एउटै ढर्रामा हुनुपर्छ भन्ने छैन । आ-आफ्नो सोच, बुझाइ र मानसिकताको कुरा हो । मेरो मान्यता एउटै हो– सबै चलचित्रका निर्माता बाँच्नुपर्छ र राम्रा चलचित्रको चर्चा हुनुपर्छ । चलचित्र क्षेत्र चलायमान रहनु नै सबैका लागि राम्रो हो ।’
यसमा प्रहरीको पोसाक र गाडी प्रयोग भएकाले प्रहरी संगठन पनि जवाफदेही हुनुपर्ने भन्दै प्रश्नहरू सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न थाले । फिल्मका निर्देशक अग्रवालले जिल्ला प्रहरी परिसर काठमाडौंलाई यसबारे स्पष्टीकरण पत्रसमेत लेखे । उक्त पत्रमा प्रचारप्रसारको सिलसिलामा प्रहरीसँग समन्वय र अनुमति लिएरै गरिएको कुरा उल्लेख गरिएको थियो । ‘उक्त दृश्य चलचित्रको कथामा समावेश रहेको दृश्यलाई जीवन्त रूपमा प्रस्तुत गर्ने तथा चलचित्रको प्रचारप्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको हो । उक्त दृश्य चलचित्रको छायाँकन तथा प्रचारात्मक प्रस्तुतिको एउटा अंश मात्र हुँदाहुँदै पनि सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा कलाकारहरूलाई वास्तविक रूपमा प्रहरीले पक्राउ गर्यो भन्ने आशयका समाचार तथा सामग्रीहरू सार्वजनिक भएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ पत्रमा उल्लेख छ, ‘यस सम्बन्धमा स्पष्ट पार्न चाहन्छौँ कि उक्त घटनामा कुनै पनि कलाकार, निर्देशक वा चलचित्रकर्मीलाई वास्तविक रूपमा पक्राउ गरिएको होइन । यो पूर्णतः चलचित्रको कथावस्तुअनुसार तयार गरिएको काल्पनिक दृश्य तथा प्रचारात्मक प्रस्तुति मात्र हो । उक्त दृश्यलाई वास्तविक प्रहरी कारबाहीको रूपमा नबुझिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ।’
जिल्ला प्रहरी परिसर काठमाडौंले आधिकारिक फेसबुक पेजबाट उक्त पत्रलाई सेयर गर्दै घटना वास्तविक नभएको भनेर स्पष्ट पारेको छ ।
फिल्म निर्देशक अग्रवाल भने आफूहरूको उद्देश्य भ्रम छर्नु नरहेको बताउँछन् । कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘हामीले सुरुदेखि नै कार्यक्रममा सरप्राइज दिइरहेका थियौँ । डान्स पनि सरप्राइज थियो । हाम्रो फिल्म बैंक लुट्ने कथामा भएकाले कथाअनुसार नै कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो योजना बुनेका थियौँ ।’ उनका अनुसार नक्कली प्रहरी पक्राउ गर्न आउँछन् र कलाकारहरू हाँसिरहँदा पक्राउ पर्छन् । ‘त्यतिबेला हलभरि हाँसोको माहोल गुञ्जनुपर्थथ्यो । तर गौरी दिदीले झन् सिरियस एक्टिङ गरिदिनुभयो । मिडियाकर्मीहरूले साँच्चिकै भन्ने बुझ्नुभयो । बाहिर गलत सन्देश गयो,’ उनले भने, ‘भ्रामक प्रचार गर्नु हाम्रो उद्देश्य थिएन । तर गलत असर पर्न गएकोमा माफी चाहन्छौँ ।’
उनले फेसबुक पोस्टमार्फत फिल्म प्रचारका लागि विश्वभर नै फरक-फरक रणनीतिहरू बनाइने कुरा लेखेका छन् । उनले हलिउड र बलिउडका उदाहरण दिँदै प्रश्न गरे, ‘मैले पनि हाम्रो फिल्मको कथावस्तुअनुसार लुटेराहरूलाई पुलिसले पक्रिएर लगेको कुरा कसरी सस्तो प्रमोशन स्ट्राटेजी हुन पुग्यो ?’
कलाकार मनोज गजुरेलले पनि दर्शकहरूमा पर्न गएको भ्रमलाई लिएर माफी माग्दै फेसबुकमा लेखे, ‘म व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने मान्छे हुँ । तर हिजोको प्रस्तुतिमा म स्वयं पनि सहभागी हुन पुगेँ । यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी छु ।’
उनले नियत राम्रो हुँदाहुँदै पनि कहिलेकाहीँ निर्णयगत त्रुटि हुने कुरालाई स्वीकार्दै यसलाई सुधार्नु पनि दायित्व भएको उल्लेख गरे । साथै यसलाई आधार मानेर फिल्मको मूल्यांकन नगर्न पनि उनले अनुरोध गरे ।
यो फिल्म ११ मंसिरदेखि रिलिज हुँदैछ। यसअघि गत १९ भदौमा फिल्मको रिलिज मिति तोकिएको थियो । तर १० भदौमा आएको भोटेकोशी बाढीले पारेको प्रभावले फिल्मले रिलिज स्थगित गर्नुपरेको थियो ।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।