२९ कात्तिक, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरू विभिन्न देशको भ्रमणमा छन् । कोही जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन टर्कीए पुगेका छन् । कोही चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेका छन् । कोही एसियाली महिला सांसद ककस २०२६ मा सहभागी हुन मलेसिया छन् भने कोही बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन फिलिपिन्स जाँदैछन् ।
नेता तथा सांसदहरूको विदेश भ्रमणको विषयलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र भने प्रश्न उठेको छ । भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे रास्वपाकै नेता तथा सांसदहरूले सार्वजनिक रूपमै प्रश्न गरेका छन् ।
रास्वपाकी केन्द्रीय सदस्य तथा सांसद टीका संग्रौला (ज्वाला) विगतमा अन्य दलका नेता तथा सांसदहरूले हुल बाँधेर विदेश भ्रमण गर्दा प्रश्न उठाएको स्मरण गर्छिन् ।
‘हुल बाँधेर बिदेश भ्रमण गर्नु देश र जनहित विपरीत छ साथीहरू । हिजो अरुले त्यही गर्दा गलत हुने, आज हामीले गर्दा सहि हुने भन्ने कहाँ लेखेको छ ?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सम्बन्धित मुलुकले खर्च ब्यहोरेर यति सांसद पठाइदिनु, त्यो पनि विज्ञ पठाईदिनु भनेर निमन्त्रणा गरेको हो भने ठीछ छ । तर राज्यको धनराशि खर्च गरेर हामी उडेका हौं भने यो तरिका हिजो पनि बेठिक हो र आज पनि..!’
यो प्रश्न आफूले आफ्नो व्यक्तिगत अवसर नपाएको रुपमा नबुझ्न उनको आग्रह छ ।
आफू जान नपाएर लेखेको नभन्नु होला मित्रहरू, मलाई बिदेश भ्रमण भन्दा आफ्नै जनताको आँगनमा जान पाउँदा जिम्मेवार महसुस हुन्छ !’ उनले भनेकी छन् ।
रास्वपाकै अर्का केन्द्रीय सदस्य तथा सांसद गणेश कार्की विदेश जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक घोषणा गर्नुपर्ने बताउँछन् ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) लाई कोट गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘सँधै झैँ यसपाली पनि कोपमा जानेहरूको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरुन् । गर्नैपर्छ ।’
कार्कीले कोपमा सहभागी हुनु आफैँमा सिकाइ र अनुभवका हिसाबले महत्वपूर्ण भए पनि व्यक्तिगत इच्छालाई सरकारी खर्चमा पूरा गर्न नहुने बताएका छन् ।
‘देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा । तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइँदैन,’ उनको भनाइ छ ।
टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना भइरहेको कोप–३१ मा नेपालबाट पाँच मन्त्री सहभागी भएका छन् । अन्य सांसदहरू पनि पुगेका छन् ।
रास्वपाकी केन्द्रीय सदस्य तथा सांसद आशिका तामाङ राज्यको ढुकुटीबाट एउटा सांसदले कति पटक विदेश भ्रमण गर्न पाउने हो भन्दै प्रश्न गरेकी छन् ।
‘राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ ?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जनताले थाहा पाउने त पर को कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागी विदेश जानू भो भनेर !’
सांसदहरू विभिन्न संसदीय समितिका नाममा विदेश जाने गरेको तर आफ्नै समितिका सदस्यलाई समेत भ्रमणबारे जानकारी नहुने गरेको उनको गुनासो छ ।
‘सांसदहरू विभिन्न समितिभित्र हुनुहुन्छ, आफ्नो समितिबाट विदेश भ्रमणमा सुटुक्क जानुहुन्छ र सुटुक्क आउनु हुन्छ । तर आफ्नै समिति भित्रका सदस्यहरूले समेत कसैले पनि थाहा पत्तो पाएका हुँदैनन् ! विदेश भ्रमण के का लागि गइन्छ ?’ उनले लेखेकी छन्, ‘राज्यको लाखौं खर्च गरेर गरिएको विदेश भ्रमण बाट जनता र सांसदले पाउने उपलब्धि के हो ?’
भ्रमणको उद्देश्य र त्यसबाट प्राप्त उपलब्धि स्पष्ट रूपमा सार्वजनिक हुनुपर्ने उनको माग छ । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सो (विदेश भ्रमण)को स्पष्टता जनता सामु आउनु पर्छ होइन भने उहीँ समुद्रको तटस्थलमा गएर फोटो खिच्नु र टिकटक बनाउनु मात्र हो भन्ने कुरा सांसदज्यूहरूको सामाजिक सञ्जालको अपडेटबाट थाहा हुन्छ ।’
रास्वपाकै सांसद राजु पाण्डेले पनि नेताहरूको विदेश भ्रमणमा प्रश्न उठाएका छन् । ‘जिम्मेवारी/कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ… अचम्म! लाज पनि लजायो कि ! #कुरीकुरी’ पाण्डेले भनेका छन् ।
श्रीरामले गरे टर्कीए भ्रमण अस्वीकार
रास्वपाका अर्का सांसद श्रीराम न्यौपानेका अनुसार उनलाई पनि कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री कार्यालयको सचिवालय र वन तथा वातावरण मन्त्रालयको सचिवालयबाट छुट्टाछुट्टै फोनमार्फत प्रस्ताव आएको थियो ।
‘मैले आफ्नो धारणा स्पष्ट रूपमा राखेको थिएँ । नोभेम्बर १० मा आयोजना हुने ऊर्जा क्षेत्रसम्बन्धी साइड इभेन्टमा नेपालको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै प्रस्तुति गर्ने अवसर सुनिश्चित हुने र म आफ्नै व्यक्तिगत खर्चमा सहभागी हुन पाउने अवस्था भएमा मात्र म भ्रमणमा सहभागी हुन्छु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर म सरकारी राज्यकोषको पैसाबाट नभइ आफ्नै खर्चमा जाने जानकारी गराएको थिएँ । अन्यथा सहभागी नहुने जानकारी गराएको थिएँ ।’
आफ्नो यस्तो अडानका पछाडि स्पष्ट उद्देश्य रहेको र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाममा औपचारिक उपस्थिति जनाउनु मात्र आफ्नो प्राथमिकता नभएको उनले बताएका छन् ।
तर, प्रधानमन्त्री कार्यालयको सचिवालयबाट प्रस्तावित साइड इभेन्टमा नेपालको तर्फबाट प्रस्तुति गर्ने विषयमा समयमै औपचारिक पुष्टि हुन सकेन । साथै उनी नतहुँमा पूर्व निर्धारित जनसंवाद कार्यक्रममा सहभागी थिए । त्यसैले टर्कीए भ्रमणमा सहभागी नहुने निर्णय गरे ।
‘मेरा लागि अन्तर्राष्ट्रिय भ्रमणभन्दा महत्वपूर्ण नेपालको राष्ट्रिय हित हो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राज्यको स्रोतसाधनको मितव्ययी उपयोग, व्यक्तिगत खर्चमा सहभागिताको प्रतिबद्धता र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षबाट ठोस नीतिगत योगदान गर्ने उद्देश्यप्रति म प्रतिबद्ध छु ।’
‘राष्ट्रिय स्वार्थका विषयमा सहभागिता महत्वपूर्ण हो, तर सहभागिताभन्दा पनि सहभागिताको उद्देश्य, भूमिका र योगदान महत्वपूर्ण हुन्छ’ उनी अगाडि थप्छन्, ‘मञ्चमा उपस्थित हुनु मात्र उपलब्धि होइन, नेपालको आवाज, दृष्टिकोण र सम्भावनालाई विश्वसामु प्रभावकारी रूपमा स्थापित गर्नु वास्तविक उपलब्धि हो।’
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० जना सांसदहरूको टोली चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन प्रस्थान गरेको छ ।
आइतबार उनीहरू चीन प्रस्थान गरेका हुन् । उनीहरूको भ्रमण ११ दिनको हुनेछ ।
टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन् ।
टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।
भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाइ गरे ।
चीन जानुअघि सांसदहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो ।
रास्वपाका महामन्त्री आचार्यकाअनुसार पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च हुने छैन ।
‘जहाँसम्म हाम्रो चीन भ्रमणको कुरा छ, यो कम्युनिस्ट पार्टी अफ चाइनाको निमन्त्रणामा हुन लागेको औपचारिक भ्रमण हो । हाम्रो जानेदेखि फर्किने समयसम्मको सम्पूर्ण लजिस्टिक व्यवस्थापन चीन पक्षले नै गर्ने भएकाले यस भ्रमणमा नेपालको राज्यकोषबाट खर्च हुनेछैन’ उनले भने ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले विदेश भ्रमणलाई लिएर रास्वपाका सांसदहरूले उठाउँदै आएका प्रश्नलाई विरोधका रूपमा नबुझ्न पनि आग्रह गरे ।
उनले भनेका छन्, ‘विदेश भ्रमणको विरोधभन्दा पनि त्यसको औचित्य, राज्यकोषको सदुपयोग र उपयुक्त व्यक्तिको सहभागिताबारे सांसदहरूले प्रश्न उठाएको मेरो बुझाइ छ । कुनैपनि भ्रमणको उद्देश्य र त्यसमा भएको खर्चबारे प्रश्न गर्नु स्वाभाविक र आवश्यक कुरा हो ।’
टर्कीएमा ५ मन्त्री, शनिबार थपिए ५ सांसद्
टर्किएको अन्ताल्यामा चलिरहेको कोप–३१मा नेपालबाट पाँच जना मन्त्री सहभागी भए । जसमा परराष्ट्र, अर्थ, कृषि वन तथा पर्यावरण, शिक्षा र स्वास्थ्यमन्त्री रहेका छन् ।
सरकारले परराष्ट्रमन्त्री शिशिर खनाल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मुख्य कार्यक्रमको नेतृत्व गर्ने गरी तोकेर नै पठायो । परराष्ट्रमन्त्री खनाल शनिबार नेपाल फर्किए । त्यसपछिको सेसनहरूमा नेपालको प्रतिनिधित्व मन्त्री चौधरीले गर्दैछिन् ।
शिक्षामन्त्री सस्मित पोखरेल गत शुक्रबार कोपका कार्यक्रमहरूमा सहभागी हुन भन्दै टर्किए गए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सम्मेलनबाट आज फर्किँदैछन् । स्वास्थमन्त्री निशा मेहता पनि सम्मेलनस्थलमा पुगेर श्रीलंकामा आयोजित कार्यक्रम हुँदै नेपाल फर्केकी छन् ।
औपचारिक नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री कृषि, वन तथा पर्यावरणमन्त्री राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सञ्जय आचार्य, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलगायत नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी भए । यो सूची बाहिरबाट गएका मन्त्री सांसद र अन्य अधिकारीहरू आ–आफ्नो तरिकाले कार्यक्रम मिलाएर गएका हुन् ।
शनिबार मात्रै संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित पाँच जना सांसद् टर्कीए गएका छन् ।
सभामुखस्तरीय निर्णयबाट कोप ३१ मा सहभागी सांसदहरूमा चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुन कुमार कार्की र कमल सुवेदी रहेका छन् ।
सभापति चौधरीले सम्मेलनका क्रममा जलवायु परिवर्तनका चुनौती, संसदीय सहकार्य, क्षेत्रीय साझेदारी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्रभावकारी नीतिगत कार्यान्वयनमा रूपान्तरण गर्ने विषयमा सहभागिता जनाउनेछन् ।
संघीय संसद् सचिवालयलाई आर्थिक भार नपर्ने गरी टर्कीए गएको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति चौधरीले बताएका छन् ।
टर्किएमा जारी कोप-३१ मा सहभागी हुन गएका रास्वपा सांसद डा. राम लामा र सागर ढकाल काठमाडौं आए लगत्तै चीनतर्फ गएका छन् ।
सांसद्द्धय सांसद रञ्जु दर्शना र शोभा खनाल मलेसियामा आयोजित एसियाली महिला सांसद ककस २०२६ मा सहभागी भएका छन् ।
रञ्जु दर्शनाले सामाजिक सञ्जालमार्फत एसियाका विभिन्न देशका महिला सांसद तथा नेतृत्वकर्ताबीच साझा चुनौती र अनुभव आदानप्रदान गर्ने अवसरलाई महत्त्वपूर्ण भनेकी छन् । उनले यस्ता अनुभवबाट सामूहिक समाधान खोजेर व्यवहारमा उतार्नुपर्ने बताएकी छन् ।
‘ एसियाली महिला सांसद ककस २०२६ को मलेसियामा भइरहेको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको छ’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एसियाका विभिन्न देशका महिला नेतृत्वकर्ताहरूको पृष्ठभूमि फरक भए पनि हामीले भोग्ने चुनौतीहरू धेरै हदसम्म उस्तै छन् । साझा चुनौतीबारे कुरा गर्नु र अनुभव साटासाट गर्नु महत्त्वपूर्ण छ। तर मेरो जोड यी साझा समस्याहरूको सामूहिक समाधान कसरी खोज्ने र एकअर्काका अनुभवबाट सिक्दै त्यसलाई व्यवहारमा कसरी उतार्ने भन्नेमा छ ।’
यो सम्मेलनमा नेपालबाट आफू र अर्की सांसद् शोभा खनाल सहभागि भएको उनले सामाजिक सञ्जालबाटै जानकारी दिएका हुन् ।
यसैगरी, रास्वपाकी सांसद डा. तोसिमा कार्की अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदैछिन् ।
फिलिपिन्स सरकारको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को सहआयोजनामा नोभेम्बर १८ र १९ मा यो सम्मेलन हुँदैछ ।
बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन उनी फिलिपिन्सको राजधानी मनिला जान लागेकी हुन् ।
सम्मेलनअघि नोभेम्बर १६ मा विशेष संसदीय नेतृत्व कार्यक्रम पनि आयोजना हुँदैछ । युनाइट, डब्ल्यूएचओ र प्रोजेक्ट एभ्रिवनको सहकार्य तथा चिल्ड्रेन्स इन्भेस्टमेन्ट फन्ड फाउन्डेसनको सहयोगमा हुने कार्यक्रममा बालबालिकामाथिको हिंसालाई जनस्वास्थ्यको प्राथमिकताका रूपमा सम्बोधन गर्ने विषयमा छलफल हुनेछ ।