Trending
Prev Story
Next Story

कांग्रेस गण्डकी अधिवेशन : मिति तय नहुँदै आकांक्षीहरू दौडधुपमा

Onlinekhabar •
November 15, 2026 • 08:00 AM
3
3 reads 0 reactions

२९ कात्तिक, पोखरा । नेपाली कांग्रेसको केन्द्रमा गुटको लडाइँ चलिरहँदा कास्कीका नेता शुक्रराज शर्माले आफ्नै गुट चलाए । १७ वर्षसम्म कास्की कांग्रेसको नेतृत्व गरेका शर्माको प्रशासनदेखि स्थानीय सरकार र सरकारी कार्यालयहरूमा पहुँच आज पनि कायम …

कांग्रेस गण्डकी अधिवेशन : मिति तय नहुँदै आकांक्षीहरू दौडधुपमा

२९ कात्तिक, पोखरा । नेपाली कांग्रेसको केन्द्रमा गुटको लडाइँ चलिरहँदा कास्कीका नेता शुक्रराज शर्माले आफ्नै गुट चलाए । १७ वर्षसम्म कास्की कांग्रेसको नेतृत्व गरेका शर्माको प्रशासनदेखि स्थानीय सरकार र सरकारी कार्यालयहरूमा पहुँच आज पनि कायम छ ।

कांग्रेसका तत्कालीन वरिष्ठ नेता तथा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको साथ लिँदै २०७८ सालमा प्यानल नै बनाएर शर्मा गण्डकी प्रदेश सभापतिको उम्मेदवार बने । धेरै जिल्लामा तत्कालीन सभापति शेरबहादुर देउवाको वर्चश्व हुँदा पनि गण्डकीमा भने कार्यसमितिमा झण्डै सतप्रतिशत पदाधिकारी र सदस्यसहित शर्माले चुनाव जिते ।

देउवा समूहका केन्द्रीय सदस्य अर्जुन जोशीलाई हराउँदै संघीयतापछिको पहिलो कार्यसमितिको सभापति हुने अवसर पाए । उनको राजनीतिक जीवनमा यस्तो संयोग छ कि, जसले पार्टी राजनीतिमा प्रभाव जमाइरहे तर संसदीय चुनावमा भने हार बेहोरिरहे ।

२०४८ र २०५१ सालका कास्की–२ बाट टिकट पाएका शर्माले चुनाव हारे । २०५६ सालमा राष्ट्रिय सभा सदस्य भएका शर्मा २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका एमाले उम्मेदवार जगत विश्वकर्मासँग पराजित भएका थिए ।

२०७८ सालमा कांग्रेस गण्डकीको सभापति जितेका शर्मा सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने वकालत गर्दै आइरहेका छन् । तर पार्टीभित्र भने उनी पुस्तान्तरण र नेतृत्व परिवर्तनको पक्षमा उभिए । उनीसँग सभापतिमा देउवा पक्षबाट पराजित भएका जोशी र शर्मा गगन समूहमा उभिँदै परिवर्तनको वकालत गरे ।

पार्टीमा अवस्थाअनुसार आफूलाई उभ्याएका शर्माले फेरि कांग्रेस गण्डकीको सभापति दोहोरिने कसरत गरिरहेका छन् । भरसक सर्वसम्मत रूपमै आफूलाई सभापति चयन गर्ने वातावरण बनाउन शर्माले नेताहरूलाई भेटिरहेका छन् । तर प्रदेश सभापतिमा आकांक्षीहरूको लर्को नै देखिएको छ ।

प्रदेश अधिवेशनको टुंगो लागिसकेको छैन । तर नेताहरूलाई चुनाव लागिसकेको छ । उनीहरू आफ्नो पक्षमा भोट माग्न र माहोल बनाउन लागिपरेका छन् ।

‘प्रदेश अधिवेशनको मिति टुंगिसकेको छैन । मंसिरभित्रै गर्ने भनिएको छ । चुनावको मिति तय भइनसकेको भए पनि चुनावी अभियान भने चलिरहेको छ,’ कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले भने, ‘म आफैं पनि सभापतिको दाबेदार हुँ ।’

कांग्रेस गण्डकीको नेतृत्व हात पार्न नेताहरूको रस्साकस्सी देखिएको छ । शर्मा, लामिछानेसहित नेताहरू विन्दुकुमार थापा, कृष्ण केसी, नन्दप्रसाद न्यौपाने, डा. टकराज गुरुङ, रमेश पाण्डेलगायतले सभापतिमा दाबी गर्दै आफ्नो पक्षमा माहोल बनाइरहेका छन् ।

नेपाली कांग्रेसले गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये मनाङ र मुस्ताङमा २ सिटमात्र जितेको छ । तल्लो तहसम्म नेपाली कांग्रेसको पक्षमा जनमत पनि बलियो नदेखिएकाले अब प्रदेशको नेतृत्व लिने व्यक्तिको व्यक्तित्वले पनि अर्थ राख्ने देखिएको छ । प्रदेशमा आकांक्षा राखिरहेका नेताहरू हरेकजसो जनतासँग परीक्षण भएर आएका छन् । तर उनीहरूको प्रभावमाथि कांग्रेस कार्यकर्ताको फरकफरक मत छ ।

विष्णुप्रसाद लामिछाने : महामन्त्रीबाट सभापतिको दाउ

वर्तमान प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने सभापतिका आकांक्षी हुन् । नवलपुरबाट राजनीति गरिरहेका लामिछाने गण्डकी प्रदेशसभाका पूर्वसदस्य हुन् ।

लामिछानेले आफूलाई स्वाभाविक दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । प्रदेशसभा सदस्य, प्रदेश कार्यसमितिको महामन्त्री भएर काम गरेका लामिछाने संसदीय र सांगठनिक अनुभव अब प्रदेशमा लगाउने दाबी गर्छन् ।

प्रदेश उपसभापति कल्पना तिवारी र अर्का महामन्त्री किरणबाबु श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सुरुदेखि नै प्रदेश कार्यसमितिमा देउवा समूहको नेतृत्व गरेका मेषलाल श्रेष्ठ संस्थापन इतर समूहमा खुलेर संगठन विस्तारमा लागिरहेका छन् ।

उनले संसद्मा ५ वर्षे कार्यकालमा शालिन र तार्किक नेताको परिचय पनि बनाएका थिए । संसदीय ज्ञान र संगठनको अनुभवलाई अबको पार्टी निर्माणमा लगाउने र आगामी चुनावमा कांग्रेसलाई बलियो बनाउने उनको दाबी छ ।

विन्दुकुमार थापा : लगातार चुनाव जित्दै मन्त्री, अब पार्टी हाँक्ने होडमा

नेपाली कांग्रेसले कास्कीका सबै प्रतिनिधिसभा र प्रदेशसभामा चुनाव हार्दा २०७४ सालमा विन्दुकुमार थापामात्रै एक जना यस्ता पात्र थिए, जसले चुनाव जितेर कांग्रेसको बिउ जोगाए । व्यावसायिक पृष्ठभूमिबाट आएका थापाले चुनावमात्रै जितेनन्, प्रदेशको कानुन मन्त्रीसमेत बने ।

नेपाली कांग्रेसको राजनीतिमा छोटो समयमै आफूलाई पुष्टि गर्ने नेतामध्येका थापालाई व्यावसायिक पृष्ठभूमिका कारण आलोचना गर्नेहरू पनि थिए । तर उनले २०७९ मा चुनावमा दोस्रो पटक पनि जित हात पार्दै आफूलाई अब्बल सावित गरे ।

अघिल्लो पटक नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा तत्कालीन माओवादीका प्रभावशाली नेता राजकाजी गुरुङलाई हराएका थापाले दोस्रो पटक एमाले नेतृ मीना गुरुङलाई हराए ।

१४औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थापालाई १५औंमा धेरैले केन्द्रीय सदस्य उठ्न सुझाएका थिए । तर उनी छोरा सौगात थापालाई राजनीतिमा अगाडि बढाउन चाहन्थे ।

छोरा सौगातलाई केन्द्रीय सदस्यमा अगाडि सार्दै थापाले प्रदेश ताकेका थिए । ३५ वर्ष मुनिका युवामा सौगातले लोकप्रिय मत प्राप्त गरे पनि जित्न सकेनन् । उनी हार्नेमध्येमा सबैभन्दा धेरै मत ल्याउनेमा परे ।

अहिले थापा आफैं प्रदेश सभापतिका आकांक्षी छन् । जेनजी आन्दोलनमा प्रहार खेपेका थापालाई शेरबहादुर र आरजु निकट पात्रका रूपमा हेरिन्थ्यो । तर उनी १५औं महाधिवेशनमा भने गगन थापा नेतृत्वकै संस्थापन पक्षमा उभिएका थिए । ‘दुई पटकसम्म मतदाताले जिताएर सांसद बनाए, दुई पटक नै मन्त्री बनें । अब पार्टीको नेतृत्व गर्दै पार्टीलाई एकतावद्ध गराउने हो,’ उनको दाबी छ ।

नन्दप्रसाद न्यौपाने : संगठनको तल्लो तहदेखि प्रदेश सरकारसम्म

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपाने पनि कांग्रेस प्रदेश सभापतिको दाबेदार हुन् । सभापति गगन थापानिकट पात्र न्यौपाने गोरखाका सभापतिसमेत हुन् ।

कांग्रेसभित्र संकट निम्तिइसकेपछि र आधिकारिकताको लडाइँ चलिरहेका बेला गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिएका न्यौपानेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हुने अवसर पाएका थिए ।

गत वैशाख २ गते कांग्रेस र एमालेका सबै मन्त्री हेरफेर हुँदा विन्दुकुमार, डा. टकराज गुरुङलगायत बाहिरिँदा न्यौपानेले मन्त्री हुने मौका हात पारेका थिए । एमाले अहिले सरकारबाट बाहिरिइसकेको छ र एमालेका मन्त्रीले पाएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि न्यौपानेले नै पाएका छन् ।

प्रदेश सभापति हुनकै लागि १५औं महाधिवेशनमा केन्द्रीय सदस्य नउठेको दाबी न्यौपानेको छ । न्यौपाने प्रदेश पार्टी हाँक्दै सरकार र जनतासँग जोड्ने पुलको काम गर्ने बताउँछन् । जिल्लाको नेतृत्व गरिसकेको र केन्द्रमा पनि अब्बल नेताहरूलाई पठाएर आफूले प्रदेश हाँक्ने उनले बताएका छन् ।

डा. टकराज गुरुङ : जिल्लाको नेतृत्वपछि प्रदेशमा दाबी

डा. टकराज गुरुङ कांग्रेस लमजुङको सभापति हुन् । नेपाली कांग्रेसको प्रभावलाई लमजुङमा बलियो बनाएको बताउँदै डा. टकराजले अब भने प्रदेशको नेतृत्व गर्ने दाबी गरेका छन् ।

संविधानसभाको चुनाव हारे पनि प्रदेशतर्फ जित हात पार्दै सुरेन्द्रराज पाण्डे सरकारको अर्थमन्त्री हुने अवसर पाएका टकराज प्रदेशमा नेतृत्व गर्दै पार्टीलाई बलियो बनाउने बताउँछन् ।

लमजुङमा दोस्रो प्रयासमा सभापति हुने अवसर पाएका टकराजले पनि प्रदेशको नेतृत्व गर्नकै लागि केन्द्रीय सदस्यमा नउठेको दाबी गरेका छन् । सभापतिमा आकांक्षा राख्दै गण्डकीका सबै जिल्लाका नेताहरूसँग सम्पर्क र छलफल गरिरहेको उनी बताउँछन् ।

नेपाली कांग्रेसलाई तल्लो तहसम्म बलियो बनाउँदै लैजाने र आगामी प्रदेश तथा स्थानीय तहको चुनावमा जिताउने गरी लाग्ने उनको भनाइ छ ।

कृष्ण केसी : विशेषबाट केन्द्रीय सदस्य, अब प्रदेश सभापति ताक्दै

नेपाली कांग्रेसको जिल्ला सभापतिबाट कास्की–१ प्रतिनिधिसभा सदस्यको टिकट ताकेका थिए, कृष्णबहादुर केसीले । तर पाएनन् । उनीपछि सभापति भएका किशोरदत्त बरालले टिकट हात पारे ।

किशोरलाई हराउँदै एमाले नेता मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्य बने । केसीलाई चुनावमा असहयोग गरेको आरोप लाग्यो ।

जिल्लाको नेतृत्वबाट १४औं महाधिवेशनमै प्रदेश सभापतिमा केसीले उम्मेदवारी दिने चर्चा थियो । तर प्रतिनिधिसभाका लागि माहोल बनाउने अभिप्रायले केसीले उम्मेदवारी दिएनन् । यस पटक भने उनै केसी प्रदेश सभापतिको दाबेदारका रूपमा उभिएका छन् ।

गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आयोजना गर्दा उनीहरूसँगै उभिएका केसीले केन्द्रीय सदस्य हुने अवसरसमेत पाए । तर १५औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा उम्मेदवार नै बनेनन् ।

प्रदेश सभापतिमा उम्मेदवार बन्नकै लागि दोस्रो पटक केन्द्रीय सदस्यको उम्मेदवार नबनेको उनको भनाइ छ । यसअघि पनि धेरै नेता–कार्यकर्ताले आफूलाई प्रदेश सभापतिका रूपमा उठ्न आग्रह गरेको बताउँदै केसीले यस पटक भने पछि नहट्ने दाबी गरेका छन् ।

वर्तमान सहमहामन्त्री रमेशकुमार पाण्डेले पनि प्रदेश सभापतिमा आकांक्षा राखेका छन् । मध्यनेपाल नगरपालिकाका प्रमुखसमेत रहेका पाण्डेले सहमहामन्त्री हुँदै सभापतिमा उठ्नु स्वाभाविकै भएको बताएका छन् । नयाँ राजनीतिक शक्तिको उदयबाट धेरै विचलित नभई जनतासँग पार्टीलाई जोड्ने काम आफूले गर्ने उनको भनाइ छ ।

१३ वर्षको उमेरदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका पाण्डेले तरुण दल लमजुङको अध्यक्ष पनि भएर काम गरेका छन् । कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि भएका पाण्डे २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा लगातार मध्यनेपाल नगरपालिकाको प्रमुख निर्वाचित भएका हुन् ।

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#कांग्रेस #गण्डकी #अधिवेशन
Compare →
Hamro Patro News
1d ago
मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

२७ कार्तिक, पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्र...

#कांग्रेस #गण्डकी #अधिवेशन
Compare →
Ekantipur
20h ago
पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

दोलखा सदरमुकाम चरिकोटमा शनिबार देउवा पक्षको १५ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउनु नै आफ्नो मुख्य लक्ष्य भएको बताए ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612