Trending
Prev Story
Next Story

टर्कीका विद्यालयमा मन्त्री पोखरेलको अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

Nagarik News •
November 16, 2026 • 07:20 AM
3
3 reads 0 reactions

मन्त्री सस्मित पोखरेलले सम्मेलनको औपचारिक नीतिगत मञ्चसँगै आयोजक राष्ट्रको व्यावहारिक शैक्षिक अभ्यास र ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गरेका छन्।

टर्कीका विद्यालयमा मन्त्री पोखरेलको अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्मेलनको औपचारिक नीतिगत मञ्चसँगै आयोजक राष्ट्रको व्यावहारिक शैक्षिक अभ्यास र ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गरेका छन्।

एन्टाल्या बसाइका क्रममा टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई स्थानीय शैक्षिक संस्थाहरूको अवलोकन गराएका हुन्।

अवलोकनका क्रममा मन्त्री पोखरेलले टर्कीको बालमैत्री, प्रकृतिमैत्री र प्रयोगात्मक सिकाइ प्रणालीप्रति चासो राख्दै त्यसका व्यवस्थापकीय पक्षबारे सूक्ष्म जानकारी लिए।

विद्यालय भ्रमणको क्रममा दुवै देशका शिक्षामन्त्रीहरू एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ (किन्डरगार्टन) पुगेका थिए।

उक्त अवलोकन भ्रमणमा दुवै देशका मन्त्रीहरूसँगै टर्कीको सत्तारुढ दल एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडी लगायतका अन्तर्राष्ट्रिय निकायका उच्च प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

अवलोकनका क्रममा मन्त्री पोखरेलले औपचारिक कक्षाकोठाको सिकाइभन्दा बाहिर निस्किएर सानै उमेरदेखि बालबालिकालाई प्रकृति, वातावरण संरक्षण र दिगो विकासको जीवनशैलीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष जिज्ञासा राखेका थिए।

उनले विद्यालय परिसरमा सञ्चालित कार्यशाला (वर्कशप) तथा बिरुवा उत्पादन क्षेत्रको निरीक्षण गर्दै बालबालिकाहरूले तयार पारेका ‘शून्य फोहोर’ परियोजना, पुनः प्रयोग (रिसाइकल) अभ्यास र मिनी ग्रीनहाउस (नर्सरी) मा गोलभेँडा लगायतका तरकारी तथा बिरुवा उमारिएको प्रयोगात्मक विधिबारे शिक्षक तथा विद्यालय प्रशासनसँग विस्तृत जानकारी लिएका थिए।

सोही अवसरमा टर्किस शिक्षामन्त्री तेकिन र मन्त्री पोखरेलले विद्यालयका शिक्षक तथा अभिभावकहरूसँग संवाद गर्दै पूर्व–प्राथमिक र सामुदायिक विद्यालय सञ्चालनका व्यावहारिक अनुभव, पूर्वाधारको आवश्यकता र अभिभावक–विद्यालय सहकार्यका अभ्यासबारे समेत छलफल गरेका थिए।

भ्रमणका क्रममा बालविकास केन्द्रका साना विद्यार्थीहरूले अतिथिहरूको स्वागतमा परम्परागत टर्किस लोक नृत्य प्रस्तुत गर्नुभएको थियो।

दुवै देशका शिक्षामन्त्रीहरूले बिरुवा रोपिरहेका तथा सांस्कृतिक प्रस्तुति दिने बालबालिकाहरूको सिर्जनशीलताको प्रशंसा गर्दै उनीहरूसँग भलाकुसारीसमेत गरेका थिए।

टर्कीको व्यावहारिक ‘हरित विद्यालय’ र बालविकास केन्द्रको अवलोकनपछि मन्त्री पोखरेलले सानै उमेरदेखि बालबालिकामा प्रकृतिप्रतिको प्रेम, शून्य फोहोरको बानी र जलवायु सचेतना जगाउन सके नयाँ पुस्ता स्वतः वातावरणमैत्री र विपद् उत्थानशील बन्ने धारणा राखे।

नेपालमा पनि पूर्व–प्राथमिक तथा विद्यालय तहको शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने गरि काम भइरहेको मन्त्री पोखरेलले बनाए, जसमा टर्कीको यो मोडलबाट पनि कतिपय कुरा सिक्न सकिने निष्कर्ष उनको थियो।

नेपालमा भौतिक पूर्वाधारको वैज्ञानिक मूल्याङ्कनसँगै ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गरी विद्यालय तहको पाठ्यक्रममै जलवायु परिवर्तन र विपद् व्यवस्थापनको शिक्षा एकीकृत (इन्टिग्रेट) गर्ने प्रक्रिया अघि बढाइसकिएको सन्दर्भमा टर्किस समकक्षीसँगको यो भेटघाट, स्थलगत अवलोकन र अनुभव आदानप्रदानबाट नेपालको विद्यालय शिक्षा सुधार र हरित विद्यालय निर्माणमा थप टेवा पुग्ने विश्वास मन्त्री पोखरेलको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १३:०५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
16h ago
शिक्षामन्त्री भन्छन्– जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दैछौं

शिक्षामन्त्री भन्छन्– जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दैछौं

२९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत मन्त्रीस्तरीय समूहगत छलफलमा …

#पोखरेल #विद्यालय
Compare →
Hamro Patro News
2h ago
लघुकथा पुरस्कार डा. पोखरेललाई

लघुकथा पुरस्कार डा. पोखरेललाई

काठमाडौं । शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन आफ्ना पि...

#पोखरेल
Compare →
Ekantipur
3d ago
हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित युरिया उत्पादनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौती रहेको भन्दै मन्त्री चौधरीले एडिबी, जिजिजिआई, ग्रिन क्लाइमेट फन्डलगायत विकास साझेदारलाई हरित युरिया उद्योग स्थापनाका लागि सहवित्तीयकरण गर्न आह्वान गरेकी हुन् ।

#हरित
Compare →

Related Stories

Education & Youth
Build #2612