चलचित्र ‘फ्रेन्च किस’ ले टिजर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ। आइतबार ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गरेको छ।
चलचित्र ‘फ्रेन्च किस’ माघ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको टिजरमा काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर प्रेमका बारे आआफ्ना धारणा राखेको देख्न सकिन्छ।
सार्वजनिक टिजरले आधुनिक प्रेममा देखिने गरेको क्षणिकता र आकर्षणलाई संकेत गरेको छ। टिजरमा अर्पण थापा र थिन्ले ल्हामो मात्रै देखिएका छन्। उनीहरूको रोमान्सको वरिपरि नै टिजर घुमेको छ।
अर्पण थापाले निर्देशन गरेको चलचित्रमा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय रहेको छ।
‘फ्रेन्च किस’मार्फत नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुने निर्देशक थापाले यसअघि नै बताइसकेका छन्। चलचित्रको कथा पनि निर्देशक स्वयंको छ।
निर्माण टिमले ‘फ्रेन्च किस’ लाई नयाँ पुस्ताको स्वाद अनुसारको चलचित्र भनेको छ। दर्शकले आधुनिक प्रेमकथाको अनुभूत यो चलचित्रमार्फत गर्न पाउने निर्देशक अर्पणले बताएका छन्।
ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरेका छन्। चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी। शाही छन्। चलचित्रलाई सिनेमेटोग्राफर सुदीप बरालले खिचेका छन् ।
चलचित्रमा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ।
प्रकाशित: ३० कार्तिक २०८३ ११:२३ सोमबार