२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटेको हो।
काठमाडौँ — मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटेको हो।
६ वटा बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन्। यिनमा कृषि विकास, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, एनएमबी र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन्। अन्यले भने स्थिर राखेका छन्।
मंसिरमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर अधिकतम ४.५० प्रतिशत ब्याज पाइने भएको छ। सानिमा बैंकले सबैभन्दा धेरै ब्याजदर दिने भएको हो। कात्तिकमा औंसत ब्याजदर ३.९८ प्रतिशत रहेकोमा असोजमा यस्तो औंसत ब्याजदर ३.८७ प्रतिशत छ। हिमालयन र एनएमबी बैंकबाट सबैभन्दा कम ३.२५ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो।
बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दति खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्। लामो समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ । हाल बैंकहरूसँग करिब १५ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।
कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.५० प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्। यसरी कात्तिक २८मा बैंकहरूले ९ खर्ब १८ अर्ब रूपैयाँ राखेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ८५ खर्ब ३२ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ६१ खर्ब १८ अर्ब कर्जा लगानी गरेका छन्। मासिक रुपमा दुई खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेकोले पनि बैंकहरूमा निक्षेप बढेको हो।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।