काठमाण्डौ । नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराजले आफ्नो वर्षकै ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि विस्तार गरेको छ। ग्राहकको उत्साहजनक सहभागिता र बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले अभियान नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेसम्म सञ्चालन गर्ने भएको हो।
अभियानअन्तर्गत ग्राहकले विभिन्न सामग्रीमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढी मूल्यका भौचर तथा छनोट गरिएका सामानमा निःशुल्क डेलिभरीलगायत सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
दराजका अनुसार अभियान सुरु भएयता विभिन्न वस्तु तथा सेवामा उपभोक्ताको उल्लेखनीय आकर्षण देखिएको छ। यही उत्साहलाई निरन्तरता दिन तथा थप ग्राहकलाई विशेष छुट र अफरको लाभ उपलब्ध गराउन बिक्री अभियान लम्ब्याइएको हो।
यस वर्षको ११.११ अभियान तिहार र छठ पर्वसँगै परेकाले चाडपर्वको किनमेल गर्ने उपभोक्ताका लागि थप आकर्षक बनेको कम्पनीको भनाइ छ। यसअघि दराजले दसैँको अवसर पारेर १०.१० सेल सञ्चालन गरेको थियो।
इलेक्ट्रोनिक्सदेखि जाडोका कपडासम्म उच्च माग
कम्पनीका अनुसार यस वर्षको अभियानमा स्मार्टफोन, इयरबड, हेडफोन, स्मार्टवाच, भान्साका विद्युतीय उपकरण तथा अन्य इलेक्ट्रोनिक्स सामग्रीमा ग्राहकको विशेष आकर्षण देखिएको छ।
त्यस्तै, जाडोयामका महिला तथा पुरुषका पहिरन, जुत्ता, ब्रान्डेड घडी, झोला तथा यात्राका सामग्रीको माग पनि उल्लेख्य छ।
दैनिक उपभोग्य वस्तु, खाद्यान्न, घरायसी सामान, पुस्तक, स्टेसनरी, फिटनेस उपकरण तथा घर सजावटका सामग्रीमा समेत ग्राहकको रुचि बढेको दराजले जनाएको छ।
विशेषगरी तिहार र छठलाई लक्षित सजावटी बत्ती, रङ्गोलीका सामग्री, फर्निचर तथा भान्साका सामानको किनमेलमा पनि उत्साह देखिएको छ।
दराजमा ६० प्रतिशतभन्दा बढी भुक्तानी डिजिटल माध्यमबाट
दराजले सार्वजनिक गरेको विवरणअनुसार प्लेटफर्ममा हुने कुल भुक्तानीमध्ये ६० प्रतिशतभन्दा बढी अग्रिम तथा क्यूआरलगायत डिजिटल माध्यमबाट हुने गरेको छ।
यसले नेपाली उपभोक्तामा नगदरहित कारोबारप्रतिको आकर्षण बढ्दै गएको सङ्केत गरेको कम्पनीको दाबी छ।
बैंक तथा डिजिटल भुक्तानी सेवा प्रदायकसँगको सहकार्यमा उपलब्ध छुट, क्यासब्याक र अन्य सुविधाले समेत डिजिटल कारोबारलाई प्रोत्साहन गरेको दराजले जनाएको छ।
दराजले आफ्नो ढुवानी सञ्जाल विस्तार गर्दै दराज एक्सप्रेसमार्फत देशभरका ५१६ सहरमा सेवा पुर्याएको जनाएको छ।
यसबाट प्रमुख सहरी क्षेत्रबाहिरका उपभोक्ताले समेत अनलाइनमार्फत सामान खरिद गर्ने सुविधा पाएका छन्।
कम्पनीका अनुसार अनलाइन किनमेलको बढ्दो पहुँचले स्थानीय उद्यमी, साना व्यवसायी तथा विभिन्न ब्रान्डलाई देशभरका उपभोक्तासँग जोड्न सहयोग पुगेको छ।
दराजले अभियान विस्तार भएसँगै उपभोक्ताले मंसिर ३ गतेसम्म मोबाइल एप तथा वेबसाइटमार्फत विभिन्न छुट, भौचर र अन्य अफरको लाभ लिन सक्ने जनाएको छ।
यद्यपि, छुटको प्रतिशत र डेलिभरी सुविधा वस्तु तथा अफरका सर्तअनुसार फरक पर्न सक्ने भएकाले ग्राहकले खरिद गर्नुअघि सम्बन्धित अफरको विवरण जाँच गर्नुपर्ने हुन्छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।