Trending
Prev Story
Next Story

सद्भाव र समृद्धिको संगम छठ

Nagarik News •
November 14, 2026 • 12:46 AM
1
1 reads 0 reactions

सन्तान प्राप्ति, सन्तानको सुख–समृद्धि तथा पतिको दीर्घायुको कामना गर्दै सूर्य भगवानकाे उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको छ।

सद्भाव र समृद्धिको संगम छठ

सन्तान प्राप्ति, सन्तानको सुख - समृद्धि तथा पतिको दीर्घायुको कामना गर्दै सूर्य भगवान्को उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको छ। छठ चार दिनसम्म मनाइन्छ। व्रतालुले निराहार बसेर मन, वचन र कर्मको शुद्धता कायम गर्दै यो पर्व मनाउने गर्छन्। यो पर्वले व्यक्तिमा आत्मसंयम, धैर्य र आध्यात्मिक शक्तिको विकास गर्ने धार्मिक विश्वास छ।

छठ पर्वको पहिलो दिन शुक्रबार व्रतालुले नुहाएर चोखो वस्त्र धारण गरी प्याज र लसुन प्रयोग नगरिएका शुद्ध परिकार सेवन गरे। छठको पहिलो दिन कार्तिक शुक्लपक्ष चतुर्थीलाई ‘नहाय -खाय’

वा ‘अरबा - अरबाइन’ भनिन्छ। यस दिन व्रतालु खोला, नदी, पोखरी तथा अन्य जलाशयमा गई स्नान गरेर शुद्ध भई चोखो खाना मात्र खान्छन्।

छठ पर्वको दोस्रो दिन अर्थात् कार्तिक शुक्लपक्ष पञ्चमीमा खरना गरिन्छ। खरना शनिबार परेको छ। खरनाका दिन व्रतालुहरू दिनभरि निर्जल व्रत बस्छन् र साँझपख स्नान गरी चोखो भएपछि कुलदेवता स्थापना गरिएको पूजा कोठामा नयाँ चुलो बनाएर प्रसाद तयार पार्छन्।

प्रसादका रूपमा विशेषगरी सख्खर (गुड) र साठी चामलबाट बनाइएको खीर, गहुँको पिठोको रोटी, मुला र केरा चढाउने चलन छ। आँगनलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाइन्छ। साठी चामलबाट तयार पारिएको खीरलाई भूमि देवतालाई अर्पण गरेपछि व्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई अघ्र्य दिएर सोही प्रसाद ग्रहण गर्छन्। खरनापछि व्रतालुहरू पूर्ण व्रतमा बस्छन्।

छठ पर्वको तेस्रो दिन कार्तिक शुक्लपक्ष षष्ठीमा अस्ताउँदौ सूर्यलाई अघ्र्य दिइन्छ। यो कर्म आइतबार हुँदै छ। यस दिन गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटेर पिठो बनाइन्छ। सोही पिठोबाट छठ पर्वको विशेष प्रसादका रूपमा ठेकुवा तयार गरिन्छ।

छठी मातालाई चढाइने ठेकुवा बनाउँदा विशेष सावधानी अपनाइन्छ। पूजाका सामग्री पूर्ण रूपमा चोखो र शुद्ध हुनुपर्ने धार्मिक मान्यता छ। सामग्री जुठो भए अनिष्ट हुने जनविश्वाससमेत छ। व्रतालु जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्।

छठ पर्वको चौथो तथा अन्तिम दिन कार्तिक शुक्लपक्ष सप्तमीलाई ‘पारण’ भनिन्छ। यस वर्ष पारण सोमबार परेको छ। पारणमा व्रतालु बिहानै पुनः जलाशयमा पुगेर अघिल्लो दिनकै विधिअनुसार उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। यससँगै छठ पर्वको समापन हुन्छ। अर्घ्य दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतालुहरूले छठ व्रतको कथा सुन्ने र सुनाउने गर्छन्।

यो पर्वमा पातसहितका चारवटा उखु गाडेर त्यसको बिचमा पूजा गर्ने परम्परा रहेको बन्जरियाकी ७० वर्षीया बबुनिया देवीले बताइन्। छठ पर्वको महत्त्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएकाले यसको लोकप्रियता बढ्दै गएको उनको बुझाइ छ। ‘म विवाह गरेर माइतीबाट यहाँ आउँदा मेरी सासूआमाले छठ पर्व मनाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘अहिले म बुढी भएपछि मेरा बुहारीहरूले छठको व्रत सुरु गरेका छन्।’

छठ पर्वमा प्रत्यक्ष देवताका रूपमा सूर्य र सन्तानकी रक्षक देवीका रूपमा छठी माताको पूजा गरिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै जीवनका सुख–दुःख दुवै परिस्थितिमा समान रूपमा शक्ति प्राप्त होस् भन्ने कामना गरिन्छ। छठको व्रत बस्दा चर्मरोग लगायत शारीरिक कष्ट निको हुने तथा परिवारमा सुख, शान्ति र सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ।

सामाजिक सद्भाव र सांस्कृतिक संरक्षण

छठ पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउँदै आएको छ।

समाजमा विद्यमान जातीय छुवाछुत र विभेदलाई बेवास्ता गर्दै धनी–गरिब, दलित तथा गैरदलितलगायत विभिन्न समुदायका मानिस छठ घाटमा एकसाथ उभिएर सूर्यको आराधना गर्छन्। यसले सामाजिक समानता, भाइचारा र एकताको सन्देश प्रवाह गर्छ। छठी माताको पूजा गरिने घाटको सरसफाइ, सजावट तथा पूजासामग्री व्यवस्थापनमा विभिन्न समुदायका मानिस मिलेर काम गर्छन्। सामूहिक सहभागिताले पनि आपसी सम्बन्ध र भाइचारालाई थप बलियो बनाउँछ।

छठ पर्वका लागि आवश्यक बाँसका सामग्री (नाङ्लो, कोनिया, ढाकी), माटाका भाँडा, केरा, उखु तथा ठेकुवालगायत सामग्री र परिकारको माग बढ्ने भएकाले किसान र व्यवसायीले प्रत्यक्ष लाभ लिने गरेका छन्।

पूजामा प्रयोग गरिने भएकाले केरा, मुला, उखु, नरिवल, अदुवा, बेसार, भोगटे र सुथनीजस्ता मौसमी कृषि उपजको माग बढी हुन्छ। यसले किसानलाई उत्पादनको बजार र उचित मूल्य दिलाउँछ। बाँसका सामग्री बनाउने डोम समुदाय तथा माटोका दियो, कलश र हात्तीजस्ता सामग्री बनाउने कुमाल समुदायको पेसा र व्यवसाय पनि छठका बेला फस्टाउने गरेको छ।

नयाँ लत्ताकपडा, गरगहना, खाद्यान्न तथा पूजासामग्रीको किनमेलले गाउँदेखि सहरसम्मका बजारमा आर्थिक गतिविधि बढ्छ। यसले साना तथा मझौला व्यापारीको आयआर्जन बढाउने बारा बन्जरियाका राजेश मिश्रा बताउँछन्।

तराई–मधेसमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व अहिले संघी राजधानी काठमाडौं उपत्यका, पोखरालगायत देशका विभिन्न भागमा समेत मनाउन थालिएको छ। यसले राष्ट्रिय एकता र सांस्कृतिक विविधताप्रतिको सम्मान अभिवृद्धि गर्न सहयोग पुर्‍याएको मिश्राको भनाइ छ।

छठ पूजाका लागि नदी, पोखरी तथा तलाउको सरसफाइ गरिनुका साथै पूजामा बाँसका नाङ्लो, माटाका दियो र प्राकृतिक फलफूल प्रयोग गरिन्छ। यसले वातावरणमैत्री जीवनशैलीको सन्देशसमेत प्रवाह गर्ने उनले बताए।

छठ पर्व सुरु हुनुभन्दा करिब दुई साताअघिदेखि नै छठी मैयाको महिमा वर्णन गरिएका परम्परागत भोजपुरी लोकगीत सुनिन थाल्छन्। यस्ता लोकगीतले मौलिक संस्कृति, नारी संवेदना र पारिवारिक प्रेमलाई जीवन्त राख्न सघाउँदै आएको मिश्राको बुझाइ छ।

विशेषगरी मधेस प्रदेशका वीरगन्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, जनकपुर, सिरहा र राजविराज लगायत स्थानमा छठ पूजाका लागि घाट सजाउने काम अन्तिम चरणमा पुगेको छ। छठ पूजा गरिने पोखरी तथा नदी किनारमा छठी माताको पूजाका लागि घाट सजाउन भक्तजनहरू व्यस्त छन्। पर्व सुरु भएसँगै वीरगन्जका मुख्य छठ घाटहरूमा सरसफाइ, सजावट तथा व्यवस्थापनको काम तीव्र पारिएको छ।

छठको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई र त्यसको भोलिपल्ट सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्न व्रतालुहरू छठ घाट पुग्नेछन्।

केही वर्षयता वीरगन्जका छठ घाटको सजावटमा लाखौं रुपैयाँ खर्च गर्ने प्रवृत्ति बढेको छ। नदी, पोखरी तथा तलाउका किनारमा बनाइने घाटलाई झिलिमिली बत्ती र रंगीचंगी पण्डालले सजाउने गरिन्छ। घाटभन्दा करिब सय मिटर वरैदेखि पण्डाल र झिलिमिली बत्ती जडान गरी आकर्षक बनाउनुका साथै सुरक्षा व्यवस्थापनमा समेत लाखौं रुपैयाँ खर्च गर्ने प्रचलन बढ्दै गएको छ।

कलैयाको रामजानी मठ, बरेवा पोखरी तथा वीरगन्जका घडीअर्वा, मुर्ली, नगवा, छपकैया, रानीघाट र आदर्शनगर स्वीमिङ पुललगायत स्थानका छठ घाटको सजावट तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पूजा समितिका पदाधिकारीहरूले बताएका छन्।

लाखौं रुपैयाँ खर्च गरेर सजाइएका घाटहरू अवलोकन गर्नसमेत सर्वसाधारणको भीड लाग्छ। वीरगन्जको बिचमा रहेको घडीअर्वा पोखरीको छठ घाटलाई विशेष महत्त्वका साथ हेरिन्छ। पोखरीको बिचमा रहेको सूर्य भगवान्को मन्दिरका कारण घडीअर्वा छठ घाट आकर्षणको केन्द्र बन्ने गरेको छ।

प्रकाशित: २८ कार्तिक २०८३ ०६:३१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
20h ago
छठ पर्वको विधि सुरु, आज ‘नहाय–खाय’

छठ पर्वको विधि सुरु, आज ‘नहाय–खाय’

अगाध आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।

#पर्व #शुक्रबार
Compare →
Hamro Patro News
20h ago
नहाय–खायसँगै सुरु भयो छठ पर्व, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी

नहाय–खायसँगै सुरु भयो छठ पर्व, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी

काठमाडौं – आस्था, श्रद्धा र पवित्रताको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखो भोजन ग्रहण गर्ने ‘नहाय–खाय’...

#पर्व #व्रतालु
Compare →

Related Stories

Business & Economy
Build #2612