पाँच वर्षभित्र स्वदेशमै ग्रिन मल उत्पादन गरी नेपाली बजारमा पुर्याउने लक्ष्यसहित नेपालले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरेको छ ।
काठमाडौँ — नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। आगामी पाँच वर्षभित्र स्वदेशमै ग्रिन मल उत्पादन गरी नेपाली बजारमा पुर्याउने लक्ष्यसहित सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरेको छ।
कोप-३१ अन्तर्गत नेपाल पेभिलियनमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथि कृषि, वन तथा पर्यावरणमन्त्री माननीय गीता चौधरीले ग्रिन हाइड्रोजनमा आधारित मल उद्योग स्थापना गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । उनले उद्योग स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने, उद्योगलाई प्रतिस्पर्धी बनाउन सहुलियत दरमा विद्युत् उपलब्ध गराउने, उपकरण तथा मेसिनरी आयातमा कर छुटलगायतका सहुलियत प्रदान गर्ने र आवश्यकताअनुसार नीतिगत संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रविधि प्रदायकलाई ठोस प्रस्तावसहित परियोजनामा सहभागी हुन आग्रह गरिन् ।
सत्रका अध्यक्ष प्रतिनिधिसभा सदस्य राम लामाले सरकारले अघि सारेको ‘नेपालमा व्यावसायिक हरित युरिया उत्पादन कारखाना स्थापनाको अवधारणा, विवरण तथा कार्यविधि’का आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताबाट प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गरी परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइने जानकारी दिए ।
परियोजनालाई व्यावसायिक रूपमा लगानीयोग्य बनाउन सस्तो र भरपर्दो विद्युत् आपूर्ति, उत्पादित मलको बजार तथा मूल्य सुनिश्चितता महत्वपूर्ण हुने उनको भनाइ थियो । लामाले स्वदेशी तथा विदेशी निजी क्षेत्र, अन्तर्राष्ट्रिय लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई ठोस लगानी तथा कार्यान्वयन प्रस्तावसहित अघि आउन आह्वान गरे ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार विराजसिंह थापाले जलविद्युतबाट उत्पादित स्वच्छ ऊर्जाको प्रयोग गरी ग्रिन हाइड्रोजन, अमोनिया र युरिया उत्पादन गर्न सकिने प्राविधिक सम्भावनाबारे प्रस्तुति दिए । त्यसैगरी, एसियाली विकास बैंकका प्रतिनिधि इनीज मानन्धरले परियोजनाको प्राविधिक तथा आर्थिक सम्भाव्यता पुष्टि भएमा सम्भावित लगानी र सहकार्यका विषयमा थप छलफल गर्न सकिने बताए ।