तिहार बिदामा विद्यालय सुनसान हुनुपर्ने हो । तर, सन्धिखर्क नगरपालिका–८ पकलेस्थित जनताकृष्ण माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई यतिबेला फूल टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ ।
अर्घाखाँची — तिहार बिदामा विद्यालय सुनसान हुनुपर्ने हो । तर, सन्धिखर्क नगरपालिका–८ पकलेस्थित जनताकृष्ण माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई यतिबेला फूल टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ ।
विद्यालय नजिकैका केही शिक्षक–विद्यार्थी भने स्कुलमा फूलखेती जोगाउँदै बिक्री गर्न व्यस्त छन् । तिहारका लागि फूल किन्न सन्धिखर्कबाट व्यापारीसहित ग्राहक स्कुलमा पुगेर किन्ने गरेका छन् । दिनभर शिक्षक र विद्यार्थीले फूल टिप्दै बिक्री गर्छन् । फूल टिप्दै बिक्री गर्दा सोमबार डेढ क्विन्टल फूल बिक्री भएको विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश भुसालले बताए । सोमबार आठ जना विद्यार्थी र पाँच जना शिक्षकले दिनभर फूल टिपेर बिक्री गरे । दुई रोपनीभन्दा बढी क्षेत्रफलमा फूलखेती छ । तिहारमा बिक्री गर्ने उद्देश्यले खेती गरिएको हो । सयपत्री फूल प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री भएको छ । अहिलेसम्म एक लाख रुपैयाँ आम्दानी भएको उनले बताए ।
यसरी फूलखेती गरेका विद्यार्थीले हुर्काएका हुन् । यहाँ कक्षा ९ देखि १२ सम्म बाली विज्ञान विषय पढाइ हुन्छ । सो विषय पढ्ने ६० जना विद्यार्थीले फूलखेती गरेका हुन् । उनीहरू आफैंले बारीमा फूल रोप्ने, गोडमेल गर्ने, सिँचाइ र मलखादको व्यवस्था तथा रोगकिराबाट जोगाएर फूल हुर्काएका हुन् । अहिले उत्पादन भएको फूल टिपेर बिक्री गर्ने चरणमा पनि विद्यार्थी उत्तिकै सक्रिय छन् ।
उनीहरूले प्रायोगिक काम गर्न खेती गर्छन् । फूलबाहेक मौसमी तथा बेमौसमी विभिन्न थरीका तरकारी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । तरकारी, अन्नबाली, फूल, च्याउ उत्पादन हुँदै आएको छ । ‘विद्यार्थीले किताब मात्रै पढेर हुँदैन,’ भुसालले भने, ‘कोदालो बोकेरै बारीमा काम गर्नुपर्छ । यसले पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सिकाइ पनि हुन्छ ।’ कुन समयमा कस्तो खेती, कुन बाली हुन्छ भन्ने विद्यार्थीको सिकाइका लागि खेती गर्दै आएको छ । बालीलाई चाहिने बीउमल, जल, रोगकिराबाट बचाउने उपाय, थोरै जग्गामा धेरै उत्पादन गर्ने तरिकालगायतका खेती गर्ने तरिका विद्यार्थीले सिकेका छन् ।
कृषि उद्यमबाटै भविष्य उज्ज्वल छ भन्ने सन्देश पनि दिने र पढेपछि विद्यार्थीले आफ्नै खेतबारी वा लिजमा लिएर अन्नबाली, फलफूल, तरकारी, मसलाबाली खेती गरेर परिवार स्वरोजगार बन्न सक्ने उनले बताए ।
विद्यार्थीले पनि रुचिपूर्वक बारीमा कृषि खेती गर्छन् । हंसपुरकी रोजिता थापा विद्यालयमा होस्टलमा बसेर पढ्छिन् । उनले फूलखेतीमा पानी, मल, स्याहारसुसार, गोडमेल गरेर बोट हुर्काउँछिन् । टिप्ने भएपछि बिक्री गर्न पनि सहभागी भइन् । फूलखेती गर्ने तरिका र कृषि उद्यम गरेरै आम्दानी गर्न सकिन्छ भन्ने सोचमा उनी छिन् ।
वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।