तरकारी बिक्रीबाट जम्मा भएको आम्दानी उद्यम कोषमा राखेर विद्यालयले विपन्न विद्यार्थीलाई सहयोग गर्ने योजना बनाएको छ।
अर्घाखाँची — दसैतिहार विदामा विद्यार्थीहरु घरमा चाडपर्व मनाउन व्यस्त छन् । तर, भूमिकास्थान नगरपालिका–३ धारापानीमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सुवासचन्द्र बञ्जाडे गोलभेड बेच्न दौडधुपमा छन् ।
मोटरसाइकलमा गोलभेडा क्यारेटभित्र राखेर ग्राहक खोज्दै स्थानीय बजारमा डुलाउँदै हिँडेका छन् । विद्यालयको नाममा १३ रोपनी जग्गा छ । जसमध्ये दुई रोपनीमा प्लाष्टिक टनेलमा गोलभेडा, काउलीलगायतका तरकारी उत्पादन हुँदै आएको छ ।
यतिबेला टनेलभित्र राताम्मै पाकेका गोलभेडा बञ्जाडेले आफै टिप्छन् र बजारमा डुलाएर बिक्री गर्छन् । यो गोलभेडा कक्षा ६ देखि १० सम्म पढ्ने विद्यार्थीले उत्पादन गरेका हुन । गोलभेडासहित मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुन्छ । तरकारीका विरुवा पनि उत्पादन गरेर बिक्री हुन्छ ।
विद्यालयलाई प्लाष्टिक टनेल भूमिकास्थान नगरपालिकाले सहयोग गरेको हो । स्कुल पढ्दै गर्दा कृषि उत्पादनमा जोडेपछि भविष्यमा कृषि उद्यम गरुन् भन्ने उद्देश्य रहेको बञ्जोडे बताउँछन् । यो स्कुलमा बाली विज्ञान विषय पढाई हुँदैन । तर, सोही स्कुलका शिक्षक भेषराज भुसालको कृषि अनुभव विद्यार्थीका लागि व्यावहारिक पाठशाला जस्तै बनेको छ ।
उनले घरमा दशकदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका छन् । त्यही अनुभव विद्यार्थीलाई बाँड्दै आएका छन् । कुन मौसममा कुन बाली लगाउने, मलजल, सिँचाइ, रोगकिराबाट बाली जोगाउने उपायसहित थोरै जग्गामा धेरै उत्पादन गर्ने तरिकाबारे विद्यार्थीलाई भुसालले सिकाउँछन् ।
बजारमा तरकारीको माग, मूल्यको समेत समय मिलाएर खेती गर्नुपर्ने उनले सिकाएका छन् । पिरियड खाली भएको बेला र हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यार्थीलाई श्रममा जोडिने उनी बताउँछन् । उत्पादित वस्तु बजारमा बिक्री गर्ने तरिका पनि विद्यार्थीलाई सिकाइएको उनले बताए । ‘मैले घरमा एकदशकदेखि मौसमी तथा बेमौसमी तरकारी खेती गरेको छु, स्कुल विदामा बिहान साँझ मेरो श्रम कृषि उद्यममा हुन्छ,’ उनले भने, ‘काम गर्दै जाँदा कुन बाली कतिबेला लगाउने, कसरी जोगाउने, मलजलको आवश्यक्ता र बजारको मागलाई ध्यानमा राखेर उत्पादन गर्छु । मैले घरको बारीमा जसरी उत्पादन गर्छु, त्यही विद्यार्थीलाई सिकाएको छु, सफल भएको छ ।’
एसईईपछि धेरै विद्यार्थी वैदेशिक रोजगारीमा जान्छन् । त्यहाँ जानुभन्दा गाउँमै तरकारी, अन्नबाली, फलफुल, मसलाबाली उत्पादन गर्ने हो भने विदेशको कमाई माटोमै खेलेर आम्दानी गर्न सकिने अनुभव उनको छ । विद्यालयमा तरकारी खेती गर्न सिकेपछि घरको करेसाबारीमा पनि केही विद्यार्थी साग, खुर्सानी, काउलीलगायतका तरकारी खेती गर्न सुरु गरेका छन् ।
यतिबेला टनेलभित्र गोडभेडा धमाधम पाकेका छन् । विद्यालय विदा भएकाले प्रध्यानाध्यापक बञ्जाडे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद भुसाल सक्रिय भएर बिक्री गरेका छन् । अरुबेला विद्यार्थीलाई पनि मार्केटमा पठाइन्छ । गोलभेडा खुद्रामा प्रतिकिलो ९० र थोकमा ८० रुपैयाँ बिक्री हुँदै आएको छ ।
विद्यालयको बारीमा गोलभेडा फलाउनु र बजारमा लगेर बेच्नु अन्नपूर्ण माविका विद्यार्थीका लागि व्यावहारिक सिकाइ बनेको छ । उनीहरूले खेती गर्ने, उत्पादन लिने, बजारसम्म पुर्याउने र बिक्री गर्ने अभ्यास गर्दै आएका छन् । विद्यार्थीलाई कृषि कर्मसँग जोड्ने अभ्यास गत वर्षदेखि सुरु गरिएको हो ।
गत वर्ष तरकारी बिक्रीबाट ६० हजार रुपैयाँ बचत भएको थियो । यो वर्ष काउलीका विरुवा बिक्रीबाट १० हजार रुपैयाँ आम्दानी भएको छ । गोलभेडा बिक्री गरेर सकिएपछि हिसाब गरिने उनले बताए । विद्यालयले कृषि उत्पादनबाट भएको आम्दानी जम्मा गर्न उद्यम कोष स्थापना गरेको छ । कोषमा जम्मा भएको रकम गरिब तथा विपन्न विद्यार्थीलाई सहयोग गर्ने योजना रहेको प्रध्यानाध्यापक बन्जाडेले बताए ।
यसरी विद्यार्थीले किताब पढेर मात्रै भन्दा माटोमा खेलेर कृषि उत्पादन गर्न व्यवहारमा उतार्ने अवसर पाएका छन् । उत्पादन भएपछि त्यसलाई कसरी बजारसम्म पुर्याउने, उचित मूल्यमा कसरी बेच्ने र आम्दानीको व्यवस्थापन कसरी गर्ने भन्ने ज्ञान पनि उनीहरूले लिइरहेका छन् । विद्यार्थीलाई बीउ रोपेर बिरुवा हुर्काउने, फलाउने रोगकिराबाट जोगाउने उपाय सिकाइन्छ । गाउँमै बसेर कृषि उद्यम गर्न सकिन्छ र त्यसबाट पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिन विद्यालयले विद्यार्थीलाई खेतीमा जोडेको बञ्जाडे बताउँछन् । विद्यार्थीलाई श्रमको सम्मान गर्न, उत्पादनमा सहभागी हुन र उद्यमशील बन्न प्रेरित गरिएको उनले बताए । विद्यालयको बाँकी जग्गामा पनि कृषि खेती विस्तार गर्ने र कफी खेती सुरु गर्ने लक्ष्य छ । विद्यालयको जग्गालाई उत्पादनसँग जोडेर विद्यार्थीलाई थप व्यावहारिक सीप सिकाउने योजना रहेको बन्जाडेले बताए ।
वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।