तुलसीपुरको सृजनशील आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोष परियारले विद्यार्थीमैत्री सिकाइका लागि बिदाको समय चित्र बनाउन र विद्यालय सजाउन खर्चिरहेका छन् ।
दाङ — धेरैजसो स्कुल दसैंदेखि तिहारसम्म बिदा छन् । सबै शिक्षकहरू चाडपर्वको माहोलमा रमाइरहेका छन् । पारिवारिक भेटघाट, घुमघाम र रमाइलोमा व्यस्त छन् तर तुलसीपुर उपमहानगरपालिका–१ छोटेस्थित सृजनशील आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोष परियार भने स्कुल रंगाउन व्यस्त छन् ।
उनले विद्यालयका भित्तामा बालबालिकालाई सिकाइ हुने विभिन्न चित्रहरू बनाइरहेका छन् । बिदाको समय घर बस्नुको साटो उनी समय मिलाएर स्कुल पस्छन् अनि भित्ता रंगाउन थाल्छन् । उनी चित्रकलामा निपुर्ण छन् । अन्य समयमा पनि चित्र बनाउँदै विद्यार्थीलाई पढाउँछन् । यही कलालाई उनले बिदाको समयमा पनि पस्किरहेका छन् ।
फूल, जनावर, प्रकृति, शैक्षिक गतिविधिसँग सम्बन्धित चित्रका साथै बालबालिकालाई आकर्षित गर्ने कलात्मक चित्रहरू स्कुलका भित्तामा कोरिएका छन् । विद्यार्थीलाई कक्षा कोठामा आकर्षित गर्न र शैक्षिक सिकाइलाई उपलब्धिमूलक बनाउन चित्रले सहयोग गर्ने परियारले बताए । उनले स्कुलका लागि निःशुल्क श्रम र सीप खर्चिरहेका छन् । चित्र बनाउने रंग भने उनले निलकृष्ण जसोदा सिटौला फाउन्डेसनबाट सहयोग पाएको बताए ।
गीत, संगीत र चित्रको माध्यमबाट शिक्षण गर्ने परियार विद्यार्थीलाई संस्थागत स्कुलबाट कसरी सामुदायिकमा फर्काउने भन्ने चिन्तनमा छन् । ‘कक्षा कोठा र स्कुलका भित्तालाई सिकाइको माध्यम बनाउने गरेको छु,’ उनले भने, ‘विद्यालयको वातावरण रमणीय बनाउन र सिकाइ क्रियाकलाप बालमैत्री बनाउन चित्रको प्रयोग गरिरहेको छु ।’
परियार कलात्मक र सिर्जनशील तरिकाले शिक्षण गरेका भिडियो सामाजिक सञ्जालमा पनि पोस्ट गर्छन् । उनलाई सामाजिक सञ्जालमा धेरैले ‘भाइरल सर’ भनेर चिन्छन् पनि । सानैमा बुबाआमा गुमाएका परियारले निकै संघर्ष गर्दै आफूलाई एक शिक्षक हुँदै प्रधानाध्यापकसम्म पुर्याउन सफल भए । ६ कक्षा पढ्दापढ्दै बुबा र ८ कक्षा पढ्दा आमाको निधन भएको थियो ।
कपडा सिलाएर जीविका चलाउँदै आएका बाआमा नरहेपछि १४ वर्षको उमेरमा परियारले घरको आर्थिक भार आफूले बोकेका थिए । एक दिदी, एक बहिनी र एक भाइलाई संरक्षण गर्दै उनले अध्ययन यात्रा अघि बढाएका थिए । १२ कक्षासम्म विभिन्न सहयोग पाएर पढे । परियारले १२ कक्षा उत्तीर्ण गर्नेबित्तिकै शिक्षक सेवा आयोगमा आवेदन दिए । पहिलोपटकमै उनको निमावि तहको अंग्रेजी शिक्षकमा नाम निकाले । त्यसपछि काम गर्दै पढ्दै गरेर स्नातक पूरा गरे ।
२०७१ सालदेखि उनले बबई गाउँपालिका–१ गंगटेस्थित सरस्वती जनता माविबाट शिक्षकको स्थायी जागिर सुरु गरे । १० कक्षा उत्तीर्ण भएदेखि नै पढाउन सुरु गरेका परियार शिक्षणमा जहिले पनि सिर्जनशील र रचनात्मक विधिहरू अवलम्बन गर्थे । गीत, संगीत, चित्र, अभिनय र व्यावहारिक अभ्यासका अनेक उपाय गरेर उनले शिक्षण गर्ने भएकाले शिक्षक र विद्यार्थीकामाँझ फरक पहिचान बनाए । दुई वर्ष गंगटेमा पढाएपछि तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरस्थित जनज्योति माविमा पाँच वर्ष पढाए । त्यसपछि तुलसीपुरकै बालमितेरी मावि भोजपुर हुँदै हालको विद्यालयमा पुगेका हुन् ।
‘विद्यार्थीलाई कसरी पढाइमा रमाउने बनाउन सकिन्छ भनेर धेरै अध्ययन गर्छु । शिक्षण कलासम्बन्धी धेरै पुस्तकहरू पढेको छु,’ परियारले भने, ‘त्यसपछि विद्यार्थीको चाहनाअनुसार पढाइको विषयलाई गीत, चित्र र अभिनयमा ढालेर पढाउँछु ।’ उनी हेरेर मानिसको अनुहार जस्ताको त्यस्तै चित्रमा उतार्न सक्छन् । यही कलाका कारण उनलाई अहिले आफ्नो मात्रै होइन, अन्य विभिन्न विद्यालयका भित्ता र कक्षाकोठामा शिक्षणसम्बन्धी चित्र बनाउन बोलाउने पनि गरेको सुनाए ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।