काठमाडौंको नयाँबानेश्वरबाट सुरु अभियानमा सामुदायिक कुकुरको तथ्यांक, स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने लागत र स्थानीय सहकार्यको प्रभावकारिताबारे अध्ययन गरिने फाउन्डेसनले जनाएको छ ।
काठमाडौँ — कुकुर तिहारको अवसर पारेर गोल्याण फाउन्डेसनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवर्धन गर्ने उद्देश्यले ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु गरेको छ । महानगरपालिका–१०, नयाँबानेश्वरस्थित छक्कुबक्कु टोलबाट अभियानको शुभारम्भ गरिएको हो ।
कुकुर तिहारमा एक दिन फूलमाला लगाएर सम्मान गर्ने परम्परालाई वर्षभरि नै माया, दया र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यका साथ अभियान सुरु गरिएको फाउन्डेसनले जनाएको छ । अभियानबाट सामुदायिक कुकुरको स्वास्थ्य र सुरक्षासँगै पशुजन्य रोगको जोखिम न्यूनीकरण, मानव र जनावरबीचको सहअस्तित्व प्रवर्धन हुने अपेक्षा गरिएको छ ।
गोल्याण फाउन्डेसनका अनुसार प्रारम्भिक चरणमा तीन महिनाको पाइलट परियोजनाका रूपमा अभियान सञ्चालन हुनेछ ।अभियानअन्तर्गत सामुदायिक कुकुरलाई पौष्टिक खाना खुवाउने, आवश्यक खोप लगाउने र तिनीहरुको स्वास्थ्य र संरक्षणबारे जनचेतना अभिवृद्धि गरिनेछ ।
यस पाइलट परियोजना अवधिभर सामुदायिक कुकुरहरूको वास्तविक तथ्यांक, तिनीहरूको स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने लागत र स्थानीय सहकार्यको प्रभावकारिता परीक्षण गरी अध्ययन गरिनेछ। यसरी प्राप्त तथ्यांंकका आधारमा भविष्यमा यस्ता अभियानलाई दिगो र वैज्ञानिक बनाउने ठोस ढाँचा तयार गरिने फाउन्डेसनले जनाएको छ।
अभियानको शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले मान्छेको असल साथी र समुदायको सुरक्षा पहरेदार रहेको कुकुरप्रतिको सम्मानमा मानवीयता झल्किएको बताइन् । `यो अभियान सुरू गरेर गोल्याण फाउन्डेसनले पशुप्रति उच्च मानवता प्रकट गरेको छ, सामुदायिक कुकुरको सम्मानले समुदायलाई समेत जिम्मेवार बनाएको छ,´ उनले भनिन् ।
गोल्याण ग्रुप तथा गोल्याण फाउन्डेसनका अध्यक्ष अक्षय गोल्याणले समुदायको असल साथी र बफादार सुरक्षापालक कुकुरको सुरक्षा र सम्मानमा अभियानले टेवा पुर्याउने बताए । `सम्मान गर्न लायक भएरै वर्षमा एक दिन कुकुरको पूजा गर्ने सांस्कृतिक परम्परा रहेको छ, यस्तो सम्मान र माया एक दिनमात्र होइन हरेक दिन गर्नुपर्छ भनेर अभियान थालिएको हो,´ उनले भने ।
फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले सडक तथा सार्वजनिक क्षेत्रमा आश्रित कुकुरको आधारभूत आवश्यकता पूरा गर्न र उनीहरूप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन अभियानले भूमिका खेल्ने बताइन् । गैह्रेले सकारात्मक अपिल गर्दै थपिन्, `सबैले कुकुरलाई माया गर्नैपर्छ भन्ने छैन, तर कम्तीमा ढुंगा नहान्न, दुर्व्यवहार नगर्न र खुवाउने स्वयंसेवकहरूलाई अवरोध नगर्न हामी सम्पूर्ण समुदायसँग आग्रह गर्दछौँ ।´
फाउन्डेसनले अभियानमा काठमाडौं महानगरपालिका र वडा नं. १० कार्यालयसँग समन्वय गरेको छ । अभियान सञ्चालनको लागि फाउन्डेसनका आफ्नै स्वयंसेवक तथा साझेदारहरू खटिनेछन् । स्वयंसेवकहरूले आफ्नो तोकिएको क्षेत्रभित्रका सामुदायिक कुकुरलाई दैनिक एक छाक भात–मासुसहितको पोसिलो खानेकुरा दिनेछन् । त्यसैगरी भेटेरिनरी टोली र विशेषज्ञहरूबाट नियमित स्वास्थ्य परीक्षण र आवश्यकताअनुसार खोप लगाइनेछ ।
फाउन्डेसनले वडा नम्बर १० क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक कुकुरलाई रेबिज, डिस्टेम्पर र क्यानिन केरेना भाइरस खोप लगाउने जिम्मेवारी लिएको छ । यसका अतिरिक्त कुकुरहरूको नियमित स्वास्थ्य परीक्षणसमेत गरिनेछ । जुका, लुतो, एलर्जीजस्ता रोगको पहिचान र उपचार पनि गरिने फाउन्डेसनले जनाएको छ ।