झापाका विभिन्न स्थानसँगै भारतको नक्सलबारी, पानीटंकी, सिलिगुडी क्षेत्रबाट समेत दर्शक कन्सर्टमा सहभागी बनेका थिए ।
झापा — झापाको मेचीनगरस्थित चारआलीको हातेमालो वन क्षेत्रको मैदान शनिबार राति नेपाली लोकप्रिय ब्यान्ड नेपथ्यको सांगीतिक प्रस्तुतिले गुञ्जायमान बन्यो । नेपथ्यका चर्चित गीतमा हजारौं दर्शक एकसाथ झुम्दा चारआलीको मैदान सांगीतिक उत्सवमा परिणत भएको थियो ।
तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीतमा सक्रिय नेपथ्यका मुख्य गायक अमृत गुरुङ स्टेजमा उक्लिएसँगै दर्शकले हुटिङ र तालीले स्वागत गरे । गुरुङले दर्शकलाई अभिवादन गर्दै नेपथ्यका लोकप्रिय गीत मात्रै सुनाएनन् दर्शकसँगै आफ्नै शैलीमा छमछमी नाचे ।
गुरुङले बहुचर्चित ‘रेशम’, ‘तालको पानी’, ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘पोखरा बजार’, ‘रुकुम’ लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए । पुराना र लोकप्रिय गीतको धुनसंगै दर्शकले स्वर मिलाउँदा कार्यक्रमस्थलमा उत्साह थपिएको थियो ।
कन्सर्ट मनोरञ्जनमा मात्रै सीमित रहेन । गुरुङले नेपाली संगीत र संस्कृतिलाई माया गर्न, आपसी एकता कायम राख्न पनि आह्वान गरे । हिमाल, पहाड र तराईको विविधताले बनेको नेपाललाई संगीतले जोड्ने काम गरिरहेको उल्लेख गर्दै उनले नेपाली समाजबीच एकता र सद्भाव कायम राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा झापाका विभिन्न स्थानसँगै भारतको नक्सलबारी, पानीटंकी, सिलिगुडी क्षेत्रबाट समेत दर्शक कन्सर्टमा सहभागी बनेका थिए ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।