प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट २ लाख ९६ हजार ८ सय र जुवा खेलिरहेको स्थानबाट १६ हजार ५ सय रुपैयाँ भेटिएको छ।
धनकुटा — धनकुटाको पाख्रीबास नगरपालिका–४ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति करिब २ बजे पाख्रीबास नगरपालिका–४ स्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक मयंक मिश्रको कमान्डमा प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १६ वटा कौडासहित नगद १६ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ । यस्तै, पक्राउ परेका १५ जनाको साथबाट थप २ लाख ९६ हजार ८ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले जुवा खेलिरहेको स्थान र पक्राउ परेका व्यक्तिहरूबाट गरी कुल ३ लाख १३ हजार ३ सय रुपैयाँ नगद बरामद गरेको छ ।
पक्राउ पर्नेहरूमा पाख्रीबास नगरपालिका–६ फलाटेका ४२ वर्षीय बुद्धिमान राई र ६५ वर्षीय डिकबहादुर बस्नेत रहेका छन् । त्यस्तै, पाख्रीबास–८ मुगाका ३३ वर्षीय रञ्जित राई, ५३ वर्षीय सिंहराज घिसिङ, ३६ वर्षीय जीवन राई, ३४ वर्षीय दिनेश राई र ३८ वर्षीय नगेन्द्र राई रहेका छन् ।
यस्तै, पाख्रीबास–४ बुद्धचोकका ३९ वर्षीय रविकुमार राई, पाख्रीबासका ५२ वर्षीय लालबहादुर पाख्रीन, निरौला गाउँका ४८ वर्षीय राजकुमार निरौला, पाख्रीबासका ४६ वर्षीय पूर्णबहादुर गुरुङ, ४२ वर्षीय देवेन्द्र पौडेल र ४२ वर्षीया सुम्निमा लिम्बू पक्राउ परेका छन् । धनकुटा नगरपालिका–१ हिलेका ५३ वर्षीय नन्दकुमार तामाङ र ५८ वर्षीय टीकाराम तामाङ पनि पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा ल्याइएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।
रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।