तिहारमा सयपत्री र मखमली फूलको माग उच्च हुन्छ । लक्ष्मीपूजा गर्न र भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला उन्न सयपत्री र मखमली प्रयोग हुन्छन् ।
चितवनका मुख्य बजार क्षेत्रमा सयपत्री र मखमली बेच्ने र किन्नेहरूको भीडभाड देखिन्छ । आइतबार साँझ लक्ष्मीपूजा भएका कारण बिहानै फूल किन्न आउनेहरू बजारमा प्रशस्तै भेटिए ।
नारायणगढ आँपटारीको पुरानो चौतारो तल सयपत्री र मखमलीका साथै तिहारमा प्रयोग हुने अमिलो र बिमिरोका दानासमेत बिक्री भइरहेका थिए । चितवनको पहाडी भेग इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेदेखि माथिका गाउँका बासिन्दा आफ्नो उत्पादन, फूलदेखि साग, बोडी, बिमिरो र अन्य उत्पादन बेच्न बिहान चारै बजे त्यहाँ आइपुगेका थिए ।
गाउँमै फुलेका फूल र तरकारी किन्ने बजारवासी बाक्लै थिए । त्यहाँ सयपत्री मुठा पारेर र मखमलीको माला नै बिक्री भइरहेको थियो । सयपत्री फूल एक मुठाको ३० देखि ५० रुपैयाँ र मखमलीको माला एउटाको सय रुपैयाँमा बिक्री भइरहेको थियो । मखमलीको माला भरतपुर महानगरपालिका–१६ मंगलपुर क्षेत्रबाट बिक्री गर्न त्यहाँ ल्याइएको थियो । चितवनमा पछिल्ला वर्षमा फूलखेती फस्टाउँदो छ ।
आँपटारीका साथै नारायणगढ बजारका अन्य चोकमा पनि गाडीमा राखेर सयपत्रीका माला बिक्री गर्दै हिँडेका थिए । साइकल र ठेलामा पनि माला र फूलहरू बिक्री भइरहेका थिए । तिहारमा फूलको प्रयोग अत्यधिक हुन्छ । यसपटक पालिकाहरू र प्रशासन कार्यालयले तिहारमा प्लास्टिकका फूलमाला नकिन्न र प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरेका छन् । त्यसैले फूलको व्यापार फस्टाएको छ । सबै तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।