डम्फु सेलो कार्यक्रमका एक सय अंकको विश्लेषण गर्दै अनुसन्धानकर्ता एवं पत्रकार सुशीला तामाङले तयार पारेको उक्त पुस्तक काठमाडौंमा शुक्रबार एक समारोहबीच लोकार्पण गरिएको हो ।
काठमाडौँ — लोकप्रिय सांगीतिक कार्यक्रम ‘डम्फु सेलो’को विश्लेषणात्मक अध्ययनमा आधारित पुस्तक ‘डम्फु सेलो शतक यात्रा’ सार्वजनिक गरिएको छ ।
डम्फु सेलो कार्यक्रमका एक सय अंकको विश्लेषण गर्दै अनुसन्धानकर्ता एवं पत्रकार सुशीला तामाङले तयार पारेको उक्त पुस्तक काठमाडौंमा शुक्रबार एक समारोहबीच लोकार्पण गरिएको हो । कृति विमोचनमा तामाङ समुदायका राजनीतिक व्यक्तित्व, सांस्कृतिक अभियन्ता, ताम्बा, बोन्बो, अनुसन्धानकर्ता तथा संस्कृतिकर्मीहरूको सामूहिक सहभागिता थियो ।
पुस्तकमा सेलो र तामाङ समुदाय, डम्फु सेलो कार्यक्रमको विश्लेषण तथा कार्यक्रमले उठाएका सामाजिक र सांस्कृतिक बहसलाई समेटिएको छ ।
इन्डिजिनियस टेलिभिजन र आईटीभी नेपालबाट संयुक्त रूपमा प्रसारण हुँदै आएको डम्फु सेलोका १०० अंक समेटिएको छ । तर कार्यक्रमका अहिलेसम्म १ सय ३४ भाग तयार भइसकेको प्रस्तोता जगतमान तामाङ (दोङ) ले जानकारी दिए ।
कार्यक्रममा तामाङ संस्कृति र डम्फु सेलोको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक पक्षबारे छलफलसमेत भएको थियो । छलफलमा संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री परशुराम तामाङले डम्फु सेलो मनोरञ्जनको माध्यम मात्र नभई तामाङ मानवशास्त्रको महत्त्वपूर्ण अंग भएको बताए । उनले डम्फु सेलोका गीतमा प्रेम र मायाप्रीतिका विषयसँगै महिला सशक्तीकरण, घर छोड्दाको पीडा तथा वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेका समस्यासमेत उजागर हुँदै आएको उल्लेख गरे ।
मानवशास्त्री बुद्धिबहादुर तामाङले परम्परागत सेलोमा सृष्टिका कथा, इतिहास र परम्परागत ज्ञान तथा सूचना अभिव्यक्त हुने गरेकोमा अहिले डम्फु सेलोका गीत डिजिटल युगमा प्रवेश गरेको बताए । डम्फु सेलोमा प्रस्तुत गीतहरूले जैविक विविधता, जलवायु परिवर्तन तथा आदिवासी तामाङ समुदायका प्रथा, परम्परा र इतिहासका विविध पक्ष अभिलेखीकरण गरिरहेको उनको भनाइ थियो ।
साहित्यकार बिना तामाङले डम्फु सेलोका केही गीतमा महिलाप्रति द्वेषपूर्ण शब्द चयन भएको विषय उठाउँदै यस्ता त्रुटिप्रति कार्यक्रम उत्पादन गर्ने संस्था जिग्मे मिडिया सचेत हुनुपर्ने सुझाव दिइन् ।
सेलो गायक रोज मोक्तानले तामाङ समाजका विविध भाका र सांगीतिक शैलीलाई डम्फु सेलोले समेटेकोमा खुसी व्यक्त गरे । उनले म्हेन्दोमाया, खान्दोके भाका र फापरे सेलोका भाकाहरूको समेत प्रवर्द्धन गर्न सुझाव दिए ।
अनुसन्धानकर्ता तामाङले आफ्नो समुदायको लिखित इतिहास कमजोर रहेको अवस्थामा पुस्तकले समुदायको सांस्कृतिक तथा सामाजिक इतिहास अभिलेखीकरणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरिन् ।
पुस्तकका सम्पादक कैलाश राईले डम्फु सेलो ठट्टा र मनोरञ्जनको विषय मात्र नभई गम्भीर सामाजिक तथा सांस्कृतिक मुद्दा उठाउने सशक्त माध्यम भएको बताए ।
कार्यक्रम निर्देशक सूर्य लामाले पुस्तकका अनुसन्धानकर्ता सुशीला तामाङ, सम्पादक कैलाश राई र आवरण डिजाइनर किशोरा प्रधानलाई मायाको चिनो प्रदान गरेका थिए ।
इन्डिजिनियस टेलिभिजनका अध्यक्ष देवकुमार सुनुवारले टेलिभिजनले उत्पादन गरिरहेका दर्जनौं कार्यक्रममध्ये डम्फु सेलो लोकप्रिय कार्यक्रमका रूपमा स्थापित भएको बताए ।