Trending
Prev Story
Next Story

सोनिया गान्धीको संस्मरणका मुख्य खुलासाहरू

Onlinekhabar •
November 13, 2026 • 12:00 PM
1
1 reads 0 reactions

भारतीय कांग्रेसकी नेता सोनिया गान्धीको संस्मरण, 'विलङ्गिङ : अ जर्नी अफ लभ ले भारतमा तरंग ल्याएको छ । उक्त पुस्तकमा प्रसंगहरूलाई लिएर सत्तारुढ भाजपाले आपत्ति जनाएपछि यसको चर्चा झन् चुलिएको छ । गत नोभेम्बर १० मा …

सोनिया गान्धीको संस्मरणका मुख्य खुलासाहरू

भारतीय कांग्रेसकी नेता सोनिया गान्धीको संस्मरण, ‘विलङ्गिङ : अ जर्नी अफ लभ ले भारतमा तरंग ल्याएको छ । उक्त पुस्तकमा प्रसंगहरूलाई लिएर सत्तारुढ भाजपाले आपत्ति जनाएपछि यसको चर्चा झन् चुलिएको छ ।

गत नोभेम्बर १० मा विमोचन गरिएको हार्परकोलिन्स इन्डियाद्वारा प्रकाशित ५४४ पृष्ठको यस संस्मरणले गान्धीको जीवनका महत्त्वपूर्ण घटनाक्रमहरूको व्यक्तिगत वृत्तान्त प्रस्तुत गर्दछ ।

जसमा उनका पति राजीव गान्धीको हत्यादेखि लिएर क्यान्सरसँगको उनको लडाइँ र सन् २००४ मा उनले प्रधानमन्त्रीको पद अस्वीकार गर्नुका कारणहरू समावेश छन्।

पुस्तकले स्वतन्त्र भारतको इतिहासका केही विवादास्पद घटनाक्रमहरूलाई पनि पुनः स्मरण गरेको छ, जसमा सन् १९८४ को अपरेसन ब्लु स्टार, सन् १९७५ को सङ्कटकाल र सन् १९९२ को बाबरी मस्जिद विध्वंस सामेल छन्।

संस्मरणका केही महत्त्वपूर्ण खुलासाहरू यस्ता छन्

गान्धीले सन् १९७५ मा लगाइएको सङ्कटकाल लाई एक गल्तीका रूपमा वर्णन गरेकी छिन् र तत्कालीन प्रधानमन्त्री रहेकी आफ्नी सासू इन्दिरा गान्धीले पनि अन्ततः त्यस्तै महसुस गरेको आफूलाई विश्वास रहेको बताएकी छिन्।

उनले सञ्जय गान्धीलाई ‘नियन्त्रणमा’ राख्न सकिएको भए उक्त निर्णयपछि भएको धेरैजसो क्षतिलाई रोक्न सकिने थियो भनी लेखेकी छिन्।

संस्मरण विमोचन हुनुअघि द गार्डियन सँगको एक अन्तर्वार्तामा सोनियाले भनेकी थिईन्, ‘मलाई सधैँ लाग्छ इन्दिरा गान्धी हृदयदेखि नै लोकतन्त्रवादी थिइन्। मलाई थाहा छ धेरैजना यस कुरालाई हाँसोमा उडाउने छन् । तर उनी सङ्कटकालको अवधिमा कहिल्यै सहज थिइनन्। मलाई लाग्छ – यसले उनको मनमा भारी बोझ पारेको थियो,’ उनले थपिन्।

सोनियाका अनुसार, उक्त निर्णयले परिवारभित्रै विभाजन सिर्जना गरेको थियो। उनका पति राजीव गान्धीले उक्त कदमको विरोध गरेका थिए । आफ्नी आमालाई अर्को चुनावसम्म पर्खन सल्लाह दिएका थिए। तर, उनका कान्छा छोरा सञ्जयले भने यसका लागि जोड दिएका थिए, र एक पारिवारिक रात्रिभोजमा विपक्षीहरूले आफ्नी आमालाई ध्वस्त पारिदिने तर्क गर्दै उनलाई भनेका थिए, ‘तिनीहरूलाई रोक्नै पर्छ।’

बाबरी मस्जिद विध्वंस एक टर्निङ प्वाइन्ट

सन् १९९२ मा बाबरी मस्जिदको विध्वंसलाई पुनः स्मरण गर्दै गान्धीले यसलाई भारतको राजनीतिक यात्राको एक टर्निङ प्वाइन्ट र बीजेपी-आरएसएस गठबन्धनको बढ्दो प्रभावको सङ्केतका रूपमा वर्णन गरेकी छिन्।

त्यहाँ बीजेपी-आरएसएस र तिनीहरूका सहयोगीहरूले एकलौटी रूपमा आफ्नो विभाजनकारी एजेन्डालाई अगाडि बढाउँदै थिए। धेरै वर्षदेखि यसका स्पष्ट सङ्केतहरू आईरहेका थिए ।

सन् १९९२ को बाबरी मस्जिदको विदारक विध्वंस र त्यसपछि उत्पन्न साम्प्रदायिक हिंसाको शृङ्खलाका निश्चित सूचकहरू थिए । ती सङ्गठनहरू अब पर्दा पछाडि मात्र काम गर्ने वाला थिएनन्। बीजेपी आफ्नो पूर्ण सत्ताको सपनाको नजिक पुग्दै थियो,’ उनले लेखेकी छिन्।

द गार्डियन सँगको एक अन्तर्वार्तामा गान्धीले सन् १९९२ डिसेम्बर ६ मा अयोध्यामा बाबरी मस्जिद भत्काइँदै गरेको दृश्य हेर्दा आफू भक्कानिएर रोएको स्मरण गरिन्।

उनले उक्त घटनाले महात्मा गान्धी, जवाहरलाल नेहरू र भारतका संस्थापक पुस्ताका अन्य नेताहरूको धर्मनिरपेक्ष दृष्टिकोण जोगाउन लामो सङ्घर्ष गर्नुपर्नेछ भन्ने महसुस गराएको बताइन्। यो वृत्तान्त त्यसयता बीजेपीसँगको एक प्रमुख विवादको बिन्दु बनेको छ।

मनमोहन सिंहलाई किन प्रधानमन्त्री रोजिन्?

सन् २००४ को आम निर्वाचनपछि उनले प्रधानमन्त्री बन्ने आफ्नो पार्टीको प्रस्ताव अस्वीकार गरिन् । तब पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई यूपीए सरकारको नेतृत्व गर्नका लागि सही व्यक्ति किन ठानिन् भन्नेबारे पनि गान्धीले व्याख्या गरेकी छिन्।

संस्मरणमा, उनले सिंहलाई निर्विवाद इमानदारी र शासन प्रणालीको गहिरो ज्ञान भएका व्यक्तिका रूपमा वर्णन गरेकी छिन्। उनले सिंह कंग्रेसभित्रको कुनै विशेष गुटसँग नजोडिएको र कम्युनिस्ट पार्टीहरूको समर्थनमा बनेको सरकारको नेतृत्व गर्न उपयुक्त स्थानमा रहेको पनि स्पष्ट पारेकी छिन्।

उहाँ पार्टीको कुनै पनि खेमामा आबद्ध हुनुहुन्नथ्यो। समयको अन्तरालसँगै कंग्रेसलाई वामपन्थी झुकाव भएको पार्टीका रूपमा चित्रित गरिएको थियो ।

अब हाम्रो सरकारलाई कम्युनिस्ट पार्टीहरूको पनि समर्थन रहनेवाला थियो । वर्षौँअघि सुरु गरिएका नीतिहरूलाई व्यवस्थापन गर्ने र निरन्तरता दिने हाम्रो क्षमतामाथि धेरैले राखेको शङ्कालाई डा. मनमोहन सिंहले साम्य पार्नुहुनेछ भन्ने मलाई लाग्यो,’ उनले लेखेकी छिन्।

संस्मरणमा गान्धीले स्वास्थ्यावास्थामा भोग्नु परेका कठिन क्षणहरूको पनि वर्णन रहेको छ । जसमा सन् २०१० मा स्तन क्यान्सर पहिचान भएको र त्यसको एक वर्षपछि प्यान्क्रियाजमा मासु पलाएको घटना समावेश छ।

उनी लेख्छिन् कि स्तन क्यान्सर पहिचान हुनुअघि उनलाई कहिलेकाहीँ दम, एलर्जी र पेटसम्बन्धी समस्याहरू देखिने गरे पनि त्यस्तो कुनै गम्भीर स्वास्थ्य चिन्ता थिएन।

‘तैपनि, म स्तब्ध र चिन्तित महसुस गरिरहेकी थिएँ । म र मेरा छोराछोरीलाई अब खेर फाल्ने समय छैन भनिएको थियो, र मेरो मन सम्भावित डरलाग्दो परिणामतर्फ दौडिन थाल्यो,’ उनले स्मरण गरेकी छन् ।

गान्धीले इटालीको मिलान बाहिर रहेको युरोपियन इन्स्टिच्युट अफ अङ्कोलोजीमा शल्यक्रिया गर्ने विकल्प रोजिन्।

उनी शल्यक्रियाका लागि एक वरिष्ठ अधिकारी, आफ्ना छोराछोरी राहुल र प्रियंका गान्धी, प्रियंकाका पति रोबर्ट वाड्रा र आफ्ना दिदीबहिनीहरूसँग यात्रा गरेकी थिइन्। उक्त शल्यक्रिया प्रख्यात शल्यचिकित्सक डा. अम्बर्टो भेरोनेसीको मार्गदर्शनमा सम्पन्न गरिएको थियो।

अपरेसन ब्लु स्टारपछि घरमै ग्रिनेड फेला

गान्धीले सन् १९८४ को अपरेसन ब्लु स्टारपछि आफ्नो घरको एउटा कोठामा ग्रिनेडहरू फेला परेको घटनाबारे लेखेकी छिन्। अमृतसरको गोल्डेन टेम्पलमा गरिएको उक्त सैन्य कारबाही भारतको इतिहासकै सबैभन्दा अशान्त घटनाहरूमध्ये एक थियो।

उनको यस वृत्तान्तले त्यस अवधिमा गान्धी परिवारलाई घेरेको सुरक्षा त्रास र अनिश्चितताको झलक प्रस्तुत गर्दछ।

उक्त सैन्य कारबाहीले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई कति गहिरो असर पारेको थियो भन्ने पनि उनले स्मरण गरेकी छिन्।

सन् १९८४ जुनमा भएको कारबाहीपछि जब इन्दिरा गान्धीलाई पहिलो पटक स्वर्ण मन्दिरभित्रको विनाशका तस्बिरहरू देखाइयो, तब ‘उनको अनुहारबाट आँसु बगेको थियो,’ सोनियाले लेखेकी छिन्।

गान्धीले नेहरू-गान्धी परिवारमा आफ्ना सुरुवाती दिनहरू सधैँ सहज नभएको स्मरण गरेकी छिन् । विशेष गरी जब कुरा आफ्नी सासूको रिस झेल्नु पर्ने अवस्था आउँथ्यो।

संस्मरणमा, उनले इन्दिराको कहिलेकाहीँको क्रोधको विस्फोटको वर्णन गरेकी छिन् । त्यसले गर्दा उनका कर्मचारीहरूलाई समेत भयभीत बनाउँथ्यो। एउटा घटनामा, इन्दिराको भेटघाटबारे सम्झाउन बिर्सने एक कर्मचारीलाई कुनामा उभिन लगाइएको थियो। अर्को घटनामा, गान्धीले एक वरिष्ठ कंग्रेस नेतालाई भित्तातिर फर्केर उभिन आदेश दिइएको देखेकी थिइन्।

‘तर जबसम्म मैले उहाँलाई राम्ररी चिनिनँ, म आफ्नो सिटमै थरथर काँप्थेँ,’ उनले लेखेकी छिन्।

यूपीए सरकारलाई नियन्त्रण गरेको आरोपको जवाफ

गान्धीले मनमोहन सिंहको प्रधानमन्त्री कार्यकालमा आफूले ‘ब्याक-सिट ड्राइभर’ को रूपमा काम गरेको वा सरकारमाथि अनधिकृत नियन्त्रण अभ्यास गरेको भन्ने आरोपहरूको पनि प्रतिवाद गरेकी छिन्।

उनले सरकार सञ्चालन गर्ने जिम्मा सिंहको र कंग्रेस पार्टीको नेतृत्व गर्ने जिम्मा आफ्नै रहेको भन्दै जिम्मेवारीहरूको एक अघोषित विभाजन रहेको वर्णन गरेकी छिन्।

उनले प्रशासनिक मामिलाहरूमा हस्तक्षेप गरेको वा सरकारी फाइलहरूमा पहुँच राखेको भन्ने कुरालाई अस्वीकार गर्दै आफूले आफ्नो पदको मर्यादा र सीमाहरूलाई सधैँ सम्मान गरेको दाबी गरेकी छिन्।

प्रणव मुखर्जीको प्रधानमन्त्री बन्ने इच्छा

गान्धीले सन् २०१० मा पूर्वराष्ट्रपति प्रणव मुखर्जीसँग भएको एक कुराकानीको स्मरण गरेकी छिन्, जतिबेला उनले कथित रूपमा शीर्ष नेतृत्वमा परिवर्तन गर्ने समय आएको सुझाव दिएका थिए।

गान्धीले उक्त टिप्पणीलाई प्रधानमन्त्री बन्ने मुखर्जीको लामो समयदेखिको महत्त्वाकाङ्क्षाको सङ्केतका रूपमा बुझिन्। गान्धीले लेखेकी छिन् कि उनले नम्रतापूर्वक विषय परिवर्तन गरिन् र मुखर्जीले उनको प्रतिक्रियाप्रति कहिल्यै असन्तुष्टि वा रिस राखेको महसुस गराएनन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षे कार्यकालमा उनीसँग आफ्नो व्यावहारिक रूपमा कुनै वास्तविक सम्पर्क भएको छैन।

सोनियाका अनुसार, जब उनीहरू एउटै कोठामा हुन्छन् । मोदीले अन्तै हेर्ने र आँखा जुधाउन पन्छिने गर्छन् । उनीहरूबीचको संवाद मुख्यतया आधिकारिक समारोहहरूमा हुने औपचारिक अभिवादनमा मात्र सीमित रहँदै आएको छ। यद्यपि, अस्पताल बसाइपछि मोदीले एकपटक संक्षिप्त रूपमा आफ्नो स्वास्थ्यबारे सोधपुछ गरेको कुरा उनले स्वीकार गरेकी छिन्।

संस्मरणको सबैभन्दा अन्तरंग खुलासाहरूमध्ये एक सन् १९६९ मा आफ्नो पहिलो सन्तान गुमाएको पीडासँग सम्बन्धित छ। बच्चा समय नपुगी जन्मिएको थियो र जन्मिएको केही समयपछि नै उसको मृत्यु भयो। गान्धीले उक्त पीडादायी अनुभवलाई स्मरण गरेकी छिन् । बच्चाको पार्थिव शरीरलाई गाडिनुपर्छ भन्ने जिद्दी आफूले गरेको बताएकी छिन्।

सोनिया गान्धीले देवरानी मेनका गान्धीसँगको सम्बन्ध सुरुमा न्यानो भए पनि समयसँगै बिग्रिँदै गएको स्मरण गरेकी छिन्। मेनकाले सन् १९७४ मा १८ वर्षको उमेरमा सञ्जय गान्धीसँग विवाह गरिन् र कान्छी बुहारीको रूपमा परिवारमा भित्रिएकी थिइन्। सोनिया लेख्छिन् उनीहरूबीचको भनाभन समयसँगै बढ्दै गयो र मेनकाले इन्दिरा गान्धीको सामूसमेत कहिलेकाहीँ कठोर र अपमानजनक शब्दहरू प्रयोग गर्ने गरेकी थिइन्।

सन् १९८० को जुनमा विमान दुर्घटनामा सञ्जयको मृत्यु भएपछि, मेनकाको राजनीतिक महत्त्वाकाङ्क्षाका बीच तनाव थप चुलियो । त्यसबेला २३ वर्षकी र तीन महिनाको छोरा वरुणकी आमा रहेकी मेनकालाई नेतृत्वको भूमिकाका लागि इन्दिराले अति कच्चा ठानिन्। सन् १९८२ मा इन्दिरा लन्डनमा भएको बेला मेनकाले आफ्ना सामानहरू घरबाट सार्न थालेपछि यो फाटो अझ गहिरियो। मेनकाले पछि उनी र राजीवलाई ‘शत्रु’ का रूपमा हेर्न थालिन् र पत्रकारहरूप्रति उनीहरूका बारेमा विभिन्न कुराहरू लिक गर्ने काम गरिन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण

प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण

नयाँदिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध युवाहरूको बढ्दो असन्तुष्टिबाट राजनीतिक शक्ति पुनः प्राप्त गर्ने प्रयास गरिरहेका बेला पार्टीकी पूर्वअध्यक...

#गान्धी #संस्मरण #सोनिया
Compare →
Nagarik News
3d ago
यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

भारतको प्रमुख विपक्षी दल कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्ना पति राजीव गान्धी प्रधानमन्त्री बनेको आफूले चाहना नराखेको खुलासा गरेकी छन्।

#गान्धी #सोनिया #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2611