शुक्रबार उद्घाटन गरिएको ५० शय्याको भवनसँगै जनशक्ति र दरबन्दी थपेर आगामी आर्थिक वर्षमा अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना छ।
संखुवासभा — जिल्ला अस्पताल संखुवासभाको नवनिर्मित भवन शुक्रबार उद्घाटन गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले जिल्ला अस्पताललाई आगामी आर्थिक वर्षमा ५० शय्याबाट स्तरोन्नति गरी १०० शय्याको बनाउने प्रतिबद्धता व्यक्त गरे। अस्पतालको भौतिक संरचनासँगै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक जनशक्ति र कर्मचारी दरबन्दीसमेत थप गरिने उनले बताए।
अस्पतालको क्षमता विस्तारसँगै विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जिल्लावासीले सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाइने बताए।
जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जिल्ला अस्पतालले संखुवासभासहित छिमेकी भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको विस्तार आवश्यक रहेको उनको भनाइ थियो।
भवन उद्घाटन कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली, आर्थिक मामिलामन्त्री विदुर लिङ्थेप, पूर्वस्वास्थ्यमन्त्री तथा सांसद राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो। कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, पूर्वसांसद राजेन्द्र गौतमलगायतले सम्बोधन गर्दै जिल्ला अस्पताललाई ५० शय्याबाट स्तरोन्नति गरी १०० शय्याको बनाउनुपर्नेमा जोड दिएका थिए।
सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत २७ करोड २७ लाख ८० हजार रुपैयाँको लागतमा जिल्ला अस्पतालको ५० शय्या क्षमताको नयाँ भवन निर्माण गरिएको हो। २०७५ असार २२ गते निर्माणको जिम्मा लिएको विकोई/स्वामीनारायण/आशीर्वाद निर्माण कम्पनीले लामो समयपछि भवन निर्माण सम्पन्न गरेको हो।
निर्माण सम्झौताअनुसार २०७८ असार २२ गतेभित्र सम्पन्न हुनुपर्ने भवनको काम निर्धारित समयभन्दा करिब चार वर्षपछि मात्रै पूरा भएको हो । प्राविधिक कारणले निर्माण कार्य करिब दुई वर्ष रोकिँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको बताइएको छ ।
कुल १ हजार ६ सय ४१ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको नयाँ भवनमा तीनवटा ब्लक रहेका छन् । आधुनिक तथा सुविधासम्पन्न संरचनासहित निर्माण भएको भवनबाट अस्पतालको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी भएको अस्पतालका प्रमुख डा सन्तोष देवले बताए ।