Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा : पुन:निर्माणका लागि सहयोग, रणनीतिक सम्बन्ध र थाती रहेका विवाद

Ekantipur •
November 05, 2026 • 05:32 PM
1
1 reads 0 reactions

६ मंसिरदेखि सुरु हुने प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित चारदिने भारत भ्रमणमा नेपालले पुनर्निर्माणका लागि आर्थिक सहयोग, हवाई सम्पर्क विस्तार र रोकिएका परियोजनामा प्रगति खोजिरहेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा : पुन:निर्माणका लागि सहयोग, रणनीतिक सम्बन्ध र थाती रहेका विवाद

६ मंसिरदेखि सुरु हुने प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित चारदिने भारत भ्रमणमा नेपालले पुनर्निर्माणका लागि आर्थिक सहयोग, हवाई सम्पर्क विस्तार र रोकिएका परियोजनामा प्रगति खोजिरहेको छ ।

काठमाडौँ — नेपाल र भारतले प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणको तयारी तीव्र पारेका छन् । विकासको प्राथमिकता र लामो समयदेखिको भूराजनीतिक संवेदनशीलताबीच सन्तुलन खोजिरहेको नेपालका लागि यो भ्रमणले भारतसँगको सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको चारदिने भारत भ्रमण ६ मंसिरदेखि सुरु हुने गरी प्रस्ताव गरिएको छ । नेपालले विपद्पछिको पुनर्निर्माणका लागि भारतसँग ठूलो आर्थिक सहयोगको अपेक्षा गरेको समयमा प्रधानमन्त्रीको भ्रमण हुन लागेको हो । साथै, हवाई सम्पर्क, जलस्रोत, व्यापार र पारवहनसम्बन्धी पुराना सरोकार सम्बोधन गर्न पनि नेपालले नयाँदिल्लीलाई आग्रह गरिरहेको छ । नेपाल र भारतबीच उच्च राजनीतिक तहमा पटक–पटक प्रतिबद्धता जनाइए पनि कतिपय ठूला परियोजना वर्षौंदेखि अघि बढ्न सकेका छैनन् ।

गत १३ चैतमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शाहका लागि यो भ्रमण सरकारको विदेश नीतिको प्राथमिकता परीक्षण गर्ने पहिलो अवसर पनि हो । साथै, सरकारले भारतीय नेतृत्वसँगको राजनीतिक संवादलाई ठोस आर्थिक तथा रणनीतिक उपलब्धिमा रूपान्तरण गर्न सक्छ कि सक्दैन भन्ने पनि यो भ्रमणले स्पष्ट पार्नेछ । अर्कोतर्फ, नेपालको भौगोलिक अवस्थिति, आर्थिक निर्भरता र रणनीतिक महत्त्वका कारण भारतका लागि पनि नयाँ राजनीतिक नेतृत्वसँगको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा यो भ्रमण रहनेछ ।

भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने काठमाडौं भ्रमणका क्रममा प्रधानमन्त्री शाहको भारत भ्रमणको प्रस्तावित मिति तय भएको हो । बिहीबार सम्पन्न उक्त भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनले रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगनकुमार थापासँग पनि भेट गरेका थिए ।

प्रस्तावित मितिअनुसार ७ मंसिरमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । सोही अवसरमा भारतले नेपालका लागि विशेष आर्थिक सहायता प्याकेज घोषणा गर्ने अपेक्षासमेत गरिएको छ । भारतीय विदेश सचिव मिस्रीको भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका सन्दर्भमा सम्भावित उपलब्धि र नयाँ पहलका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपालको प्रमुख प्राथमिकतामध्येको एक भारतबाट करिब ३ खर्ब रुपैयाँ (२ अर्ब अमेरिकी डलर) बराबरको सहयोग जुटाउनु हो । १ अर्ब डलर सहुलियत ऋण, ५० करोड डलर अनुदान र भोटेकोशीले पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि ५० करोड डलर गरी २ अर्ब डलरभन्दा बढी सहयोगका लागि नेपालले औपचारिक रूपमा प्रस्ताव गरेको छ । ‘हाम्रोतर्फबाट प्रस्ताव पेस भइसकेको छ । अब यसबारे निर्णय गर्ने जिम्मेवारी भारतको हो,’ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने ।

नेपालले प्रस्ताव गरेको यो रकमले विपद्पछिको तत्कालीन आर्थिक आवश्यकतालाई उजागर गरेको छ । भोटेकोशी बाढीले पूर्वाधारमा व्यापक क्षति पुर्‍याउनुका साथै चीनसँगको व्यापारिक सम्पर्कसमेत अवरुद्ध पारेको थियो । नेपालको पुनर्निर्माण र विकासका प्राथमिकतालाई सहयोग गर्न भारतले कसरी तयारी गरिरहेको छ भन्ने विषयका लागि उसको आगामी निर्णय महत्त्वपूर्ण संकेत हुनेछ ।

भारतीय विदेश सचिव मिस्रीको भ्रमणका क्रममा भारतीय अधिकारीहरूले नेपालको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी सहयोगका प्रस्तावमाथि विचार गर्न आफूहरू तयार रहेको बताएका थिए । यस विषयमा प्रारम्भिक द्विपक्षीय छलफल भइसकेको छ भने प्रधानमन्त्री शाहको भ्रमणका क्रममा थप विस्तृत छलफल हुने अपेक्षा छ ।

नेपाली अधिकारीहरूका अनुसार मिस्रीले भनेका थिए, ‘भोटेकोशी बाढीपछिको कठिन परिस्थितिले द्विपक्षीय साझेदारी प्रदर्शन गर्ने अवसर दिएको छ ।’ उनले नेपालको पूर्वाधारमा ठूलो क्षति भएको जनाउँदै पुनर्निर्माणसम्बन्धी प्रस्तावमा भारतले विशेष रूपमा विचार गर्ने बताएका थिए । भेटमा बाढीपछि तत्काल उद्धार, राहत सामग्री उपलब्ध गराउने र उद्धार टोली परिचालन गर्ने भारतको भूमिकाप्रति प्रधानमन्त्री शाहले प्रशंसा गरेका थिए । साथै विपद्पछि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत ऐक्यबद्धता जनाएकामा पनि शाहले धन्यवाद दिएका थिए ।

पुनर्निर्माण सहयोगबाहेक नेपालले दुई वटा रणनीतिक महत्त्वका विषय भारतबाट थप हवाई प्रवेश मार्ग प्राप्त गर्ने र लामो समयदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउनेबारे प्रगति खोजिरहेको छ । नेपालले सन् २०१४ देखि भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सहज सञ्चालनका लागि भारतसँग थप हवाई प्रवेश मार्ग माग्दै आएको छ । उपयुक्त अन्तर्राष्ट्रिय हवाई मार्गको अभावमा यी विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न कठिनाइ भइरहेको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि यस विषयमा टुंगो लगाउन दुवै देशका नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू आगामी १० दिनभित्र बैठक बस्ने तयारीमा छन् । नेपालका दुई वरिष्ठ अधिकारीका अनुसार भारत नेपालको प्रस्तावप्रति सकारात्मक देखिए पनि अन्तिम सहमति भने भइसकेको छैन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश अनुमति दिने विषयमा प्राविधिक तहको बैठक बस्न दुवै पक्ष सहमत भएका छन् ।

नेपालका लागि थप हवाई मार्ग प्राप्त गर्नु नागरिक उड्डयनको विषय मात्र नभई अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सम्भाव्यता, पर्यटन विस्तार र समग्र अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालसँग जोडिएको मुद्दा पनि हो । यसले अन्तर्राष्ट्रिय बजारसम्म नेपालको पहुँच भौगोलिक रूपमा भारतीय हवाई क्षेत्रमाथि निर्भरताबाट कत्तिको प्रभावित छ भन्ने तथ्यलाई पनि उजागर गर्छ ।

भ्रमणको कार्यसूचीमा रहेको अर्को महत्त्वपूर्ण परियोजना पञ्चेश्वर बहुउद्देश्यीय आयोजना हो । सन् १९९६ मा हस्ताक्षर भएको महाकाली सन्धिअन्तर्गतको यो परियोजना दशकौंसम्मको वार्तापछि पनि कागजमै सीमित छ । तर, पछिल्लो समय निर्माण लागत बाँडफाँटका विषयमा दुवै देशबीच केही प्रगति भएको छ । छलफलका क्रममा नेपालले कुल लागतको २५ देखि ३० प्रतिशत र भारतले ७० देखि ७५ प्रतिशत बेहोर्ने सम्भावित ढाँचाबारे कुराकानी भएको छ । तर जलस्रोतबाट प्राप्त हुने लाभ (पानी र बिजुली) को बाँडफाँटसम्बन्धी विवाद भने अझै सुल्झिन सकेको छैन ।

‘परियोजना निर्माणको लागत बाँडफाँटमा नेपाल र भारतबीचको मतभिन्नता कम भएको छ तर मुख्य विषय भनेको पानीको बाँडफाँट नै हो,’ छलफलमा सहभागी एक अधिकारीले भने । प्रधानमन्त्री शाहको भ्रमणअघि यस विषयमा थप एक चरणको प्राविधिक छलफल गर्ने सहमति भएको छ । महाकाली सन्धिको मर्मअनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिई अघि बढाउने उद्देश्य राखिएको छ । विद्युत् उत्पादन, पानीको बहाव नियमन र सिँचाइ सुविधाका दृष्टिले पञ्चेश्वर आयोजना नेपालका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ । तर लाभको गणना र बाँडफाँटको विधिमा मतभेद हुँदा यसको प्रगति पटक–पटक रोकिँदै आएको छ ।

प्रस्तावित भ्रमणमा आर्थिक सहकार्य र पूर्वाधार विकासले प्राथमिकता पाउने भए पनि नेपाल–भारत सम्बन्धलाई जटिल बनाउँदै आएका केही संवेदनशील राजनीतिक मुद्दा अझै विद्यमान छन् । विशेषगरी कालापानी, लिम्पियाधुरा र सुस्तासम्बन्धी सीमा विवाद सुल्झिन बाँकी छ । नेपाली अधिकारीहरूका अनुसार मिस्रीका कुनै पनि भेटवार्तामा यी विषयले प्रवेश पाएनन् । यद्यपि, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मुख्य कार्यसूचीमा यी विषय समेटिने अपेक्षा गरिएको छ । नेपालका लागि छिमेकीसँग रचनात्मक र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै क्षेत्रीय अखण्डतासँग जोडिएका दाबीहरूलाई पनि सशक्त रूपमा अघि बढाउनु ठूलो चुनौती छ ।

त्यस्तै, व्यापार तथा पारवहन पनि नेपालका पुराना सरोकारका क्षेत्र हुन् । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र विदेशी लगानीको प्रमुख स्रोत भए पनि चुलिँदो व्यापार घाटाले नेपालको बाह्य अर्थतन्त्रमाथि ठूलो दबाब सिर्जना गरिरहेको छ । मिस्रीको काठमाडौं बसाइका क्रममा यी विषयले धेरै प्राथमिकता नपाए पनि अर्थमन्त्री वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईसँगको भेटमा कुरा उठाइएको थियो ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार र तेस्रो मुलुकसँगको पारवहनका लागि भारतीय मार्गमाथि ठूलो निर्भरता छ, जसले दुई देशबीचको सम्बन्धलाई स्वाभाविक रूपमा केही असमान बनाएको छ । नेपालले उत्तरी नाकासहित अन्य सम्पर्क मार्ग विविधीकरण गर्न खोजे पनि पूर्वाधारको कमी र कठिन भूगोलका कारण वैकल्पिक मार्गको उपयोग सोचेजति सहज हुन सकेको छैन ।

हालै भोटेकोशी बाढीले चीनसँगको नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी अवरुद्ध पारेको छ, जसले नेपालको सीमापार आपूर्ति शृंखलाको जोखिमलाई पुनः उजागर गरेको छ । यस घटनाले सीमित नाकामा निर्भर हुनुको सट्टा व्यापार तथा पारवहनका धेरै विकल्प विकास गर्नुपर्ने आवश्यकता स्पष्ट पारेको छ । यसै पृष्ठभूमिमा नेपालले अनावश्यक भूराजनीतिक जटिलता सिर्जना नगरी दुवै छिमेकी मुलुकसँगको सम्पर्क र सहकार्य विस्तार गर्ने नीति लिएको छ ।

अर्कातर्फ, भारतका पनि नेपालमा आफ्नै रणनीतिक तथा आर्थिक स्वार्थहरू छन् । विशेषगरी जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापार, पूर्वाधार सम्पर्क र क्षेत्रीय सुरक्षामा भारतको प्रत्यक्ष चासो रहँदै आएको छ । मिस्रीको भ्रमणका क्रममा नेपालमा सञ्चालित भारतीय जलविद्युत् आयोजनाहरूले भोगिरहेका व्यावहारिक चुनौतीबारे पनि छलफल भएको थियो । साथै ऊर्जा, सडक, पुल, रेलमार्ग, पेट्रोलियम पाइपलाइन, प्रसारणलाइन र डिजिटल सम्पर्क विस्तारमा सहकार्यलाई तीव्र बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय सहयोगमा सञ्चालित केही ठूला परियोजनाको संयुक्त उद्घाटन तथा शिलान्यास हुने कार्यक्रम छ । दुवै देशका प्रधानमन्त्रीले काभ्रेको पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान, दार्चुलाको सीमा पुल, भैरहवास्थित एकीकृत जाँच चौकी र महाकाली नदीमाथि बनेको पक्की पुलको संयुक्त उद्घाटन गर्ने तयारी छ । त्यसैगरी, दोधारा चाँदनीस्थित एकीकृत जाँच चौकी, तल्लो अरुण जलविद्युत् आयोजना र भारतको सिलिगुडीदेखि नेपालको झापासम्म विस्तार हुने पेट्रोलियम पाइपलाइन निर्माणको संयुक्त शिलान्यास हुने अपेक्षा गरिएको छ ।

यसैबीच, भारतले अयोध्या र जनकपुरबीच रेल सेवा सञ्चालनका लागि तयारी पूरा भएको जानकारी नेपाललाई दिएको छ । भारतीय विदेश सचिव मिस्रीका अनुसार बिहीबार उक्त रेलमार्गमा सफल परीक्षणसमेत भइसकेको छ । यो रेल सम्पर्कले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै जनस्तरको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउनेछ ।

भारतीय पक्षले प्रधानमन्त्री शाहलाई नयाँदिल्लीबाहेक गुजरातको अहमदाबाद भ्रमण गराउने प्रस्ताव पनि राखेको छ । गुजरात प्रधानमन्त्री मोदीको गृहराज्य हो । तर नेपालले भने यस प्रस्तावमाथि अझै निर्णय गरिसकेको छैन । फजुल खर्च कटौती गर्ने नीतिअनुरूप प्रधानमन्त्री शाहले आफ्नो भ्रमण टोली सानो (१५ जनाभन्दा कम) बनाउन निर्देशन दिएका छन् ।

नेपाल र भारतबीच सीमा व्यवस्थापन, व्यापार, सुरक्षा, जलस्रोत, जलविद्युत् र सम्पर्क विस्तारलगायत विषयमा ४० भन्दा बढी द्विपक्षीय संयन्त्र क्रियाशील छन् । ती संयन्त्रका नियमित बैठकहरू हालै सम्पन्न भएको जानकारी विदेश सचिव मिस्रीले गराएका थिए । तर, मुख्य चुनौती भनेको ती संयन्त्रमा भएका सहमतिलाई व्यवहारमा द्रुत गतिमा कार्यान्वयन गर्नु हो । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण नयाँ सरकारका लागि नयाँदिल्लीसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र वर्षौंदेखि नसुल्झिएका मुद्दाहरूमा ठोस प्रतिबद्धता हासिल गर्ने महत्त्वपूर्ण अवसर हो ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
7h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत #भ्रमण
Compare →
Hamro Patro News
10h ago
चीन भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

चीन भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई नेपालको राष्ट्रिय हित र आर्थिक विकासका सम्भावना खोज्न निर्देशन दिएका छन् । शुक्रबार ...

#भ्रमण #प्रधानमन्त्रीको
Compare →
Nagarik News
4h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#भ्रमण
Compare →
Bizshala
6h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2611