Trending
Prev Story
Next Story

आईजीपी हेरफेर विवाद सर्वोच्चमा, अध्ययनमै भन्दै दर्ता गरिएन

Ekantipur •
November 05, 2026 • 05:32 PM
1
1 reads 0 reactions

आफूलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने मन्त्रिपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई प्रहरी महानिरीक्षकको हैसियतमा कामकारबाहीमा रोक लगाउने अन्तरिम आदेश जारी गर्न दानबहादुर कार्कीको माग

आईजीपी हेरफेर विवाद सर्वोच्चमा, अध्ययनमै भन्दै दर्ता गरिएन

आफूलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने मन्त्रिपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई प्रहरी महानिरीक्षकको हैसियतमा कामकारबाहीमा रोक लगाउने अन्तरिम आदेश जारी गर्न दानबहादुर कार्कीको माग

काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । सर्वोच्च अदालत प्रशासनले भने अध्ययनका लागि समय लागेको भन्दै रिट दर्ता गरेको छैन ।

कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने बुधबारको मन्त्रिपरिषद् निर्णय बदर गर्न र केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै बिहीबार सर्वोच्चमा रिट लगिएको हो । कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले बिहीबार बिहान ११ बजे रिट पेस गरेका थिए । सर्वोच्च प्रशासनले भने अध्ययन गर्ने भन्दै दिनभर रिट आफ्नो जिम्मामा राखेको थियो । सर्वोच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार रिट निवेदन अध्ययनकै क्रममा रहेकाले शुक्रबार मात्रै त्यसबारे निर्णय हुनेछ ।

सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्री र मुख्य रजिस्ट्रार बिमल पौडेल यूएनडीपीको एक कार्यक्रममा सहभागी हुन गएकाले अध्ययनमा ढिलाइ भएको सर्वोच्च प्रशासनका एक अधिकारीले बताएका छन् । रिट अध्ययन गर्नकै लागि मुख्य रजिस्ट्रार पौडेल करिब १ बजे सर्वोच्च अदालत फर्किएका थिए । त्यसपछि रिटबारे छलफल भए पनि समय नपुगेकाले शुक्रबार निर्णय गर्ने जानकारी दिइएको अधिवक्ता कुँवरले बताए ।

शुक्रबार मात्रै रिट दर्ताको टुंगो लाग्ने भएपछि तिहारअघि सुनुवाइको सम्भावना टरेको छ । २७ कात्तिकमा मात्रै अदालत खुल्ने भएकाले त्यसपछि मात्र रिट पेसीमा चढ्नेछ । सर्वोच्च प्रशासनले रिट दरपीठ गरे त्यसविरुद्ध इजलासमा निवेदन दिने प्रक्रिया पनि तिहारपछि मात्रै अघि बढ्नेछ ।

सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्ति गर्ने र केसीलाई नयाँ आईजीपी नियुक्ति गर्ने निर्णय गरेको थियो । केसीले बुधबार नै दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हालिसकेका छन् । तर आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा हटाइएको दाबी कार्कीले रिटमा गरेका छन् ।

प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई सरकारले आफूलाई हटाएको दाबी पनि रिटमा गरिएको छ । सुविधा सन्तुलन र सार्वजनिक हितका दृष्टिले कानुनबमोजिम नियुक्त प्रहरी महानिरीक्षकलाई पूर्ववत् पदमा कायम राख्दा प्रत्यर्थीहरूलाई कुनै कानुनी हानि नहुने जिकिर रिटमा छ । बरु दुई प्रहरी महानिरीक्षकस्तरका पदाधिकारी रहँदा आदेश शृंखलामा उत्पन्न हुने अन्योल अन्त्य गरी प्रहरी संगठनको स्थिरता कायम गर्नुपर्नेमा जोड निवेदकको छ ।

रिटको अन्तिम टुंगो नलागेसम्म मन्त्रिपरिषद्को बुधबारको निर्णय र त्यसका आधारमा भएका कामकारबाही कार्यान्वयन नगर्नु–नगराउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । ‘निवेदकलाई प्रहरी महानिरीक्षक पदमा रही कामकाज गर्न दिनु, विपक्षी मनोज केसीलाई प्रहरी महानिरीक्षकको हैसियतमा कुनै कामकारबाही गर्न नदिनु भनी प्रत्यर्थीहरूका नाममा अन्तरिम आदेश जारी गरी पाऊँ,’ रिटमा भनिएको छ ।

केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय तथा त्यसका आधारमा जारी भएका पत्र, पदस्थापन, पदबहाली र दर्ज्यानी चिह्न प्रदानलगायत सम्पूर्ण निर्णय तथा कामकारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । अधिकारपृच्छाको आदेश माग गर्दै केसी कुन कानुनी अख्तियारीका आधारमा नेपाल प्रहरीको महानिरीक्षक पदमा बहाल रहेको भन्ने प्रश्न पनि रिटमा उठाइएको छ ।

परमादेशमार्फत निवेदकलाई प्रहरी नियमावली, २०७१ को नियम १२७ बमोजिमको पदावधि पूरा नहुँदासम्म नेपाल प्रहरीको महानिरीक्षक पदमा पूर्ववत् कायम राखी जिम्मेवारी निर्वाह गर्न दिन माग गरिएको छ । विवादित निर्णयपूर्वको कानुनी हैसियत, अभिलेख, तलब, भत्ता तथा सेवा–सुविधासमेत पुनःस्थापित गर्न परमादेश जारी हुनुपर्ने भनिएको छ । रिटमा प्रतिषेधको आदेश पनि माग गरिएको छ । ‘निवेदकलाई प्रहरी महानिरीक्षक पदबाट कानुनबमोजिमको आधार र कार्यविधि अवलम्बन नगरी हटाउने, अन्यत्र खटाउने वा पदावधिअगावै अवकाश दिने तथा सो पदमा अन्य व्यक्तिलाई नियुक्त वा बढुवा गर्ने कार्य नगर्नु–नगराउनु भनी प्रतिषेधको आदेश जारी गरी पाऊँ,’ रिटमा भनिएको छ । अन्तरिम आदेशसँगै सुनुवाइमा अग्राधिकार दिनसमेत माग गरिएको छ ।

रिटमा अच्युतकृष्ण खरेल (पूर्वआईजीपी) विरुद्ध ध्रुवबहादुर प्रधान तथा हितेन्द्रदेव शाक्य (नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक) विरुद्ध नेपाल सरकार भएको मुद्दाका नजिरसमेत पेस गरिएको छ । कुनै व्यक्तिलाई पदबाट हटाउनुअघि हटाउनुपर्ने आधार र कारणसहित स्पष्टीकरण सोध्नुपर्ने र त्यसमा चित्त नबुझेको अवस्थामा मात्रै कारबाही प्रक्रिया अघि बढाउन सकिने जिकिर रिटमा छ । सरकारले सिधै नयाँ पद सिर्जना गरेर कार्कीलाई त्यसमा खटाउनु बदनियत रहेको दाबी गरिएको छ । बदनियत राखेर काम गर्ने अधिकार सरकारलाई कानुनले नदिने भएकाले पुनर्बहाली गर्नुपर्ने निवेदकको जिकिर रिटमा छ ।

शुक्रबार रिट दर्ता भए तिहार बिदापछि सुनुवाइका लागि पेसी तोकिनेछ । पहिलो सुनुवाइ एकल इजलासमा हुनेछ । गोला प्रक्रियाबाट तोकिने एकल इजलाससमक्ष मुख्यतः दुई विकल्प रहनेछन् । पहिलो विकल्प अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णय कार्यान्वयन नगर्नु भनी यथास्थितिमा राख्नु हो । सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै दुवै पक्षलाई छलफलका लागि बोलाउन सक्छ । अन्तरिम आदेश जारी भए कार्कीलाई पुरानै अवस्थामा फर्काउनुपर्नेछ भने नवनियुक्त आईजीपी केसीले काम गर्न पाउने छैनन् ।

दोस्रो विकल्प भनेको कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाउने हो । यस्तो अवस्थामा तत्काल अन्तरिम आदेश जारी नहुने भएकाले केसीले आईजीपीका रूपमा काम गर्न पाउनेछन् भने कार्की जिम्मेवारीमा फर्कन पाउने छैनन् ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
प्रहरीमा भावी नेतृत्व जोडिएको एआईजी बढुवाको रस्साकसी

प्रहरीमा भावी नेतृत्व जोडिएको एआईजी बढुवाको रस्साकसी

२६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका प्रमुख तथा आईजीपी दानबहादुर कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्‍यो । १८ कात्तिकको आकस्मिक मन्त्रिपरिषद् बैठकले सुरक्षा सल्लाहकारको दरबन्दी सिर्जना गर्दै कार्कीलाई सरुवा मात्रै गरेन, एआईजी डा. मनोजकुमार …

#मन्त्रिपरिषद् #कार्की
Compare →
Hamro Patro News
11h ago
भीमफेदीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

भीमफेदीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ- सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज...

#मन्त्रिपरिषद् #अध्ययन
Compare →

Related Stories

National (Nepal)
Build #2611