Trending
Prev Story
Next Story

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

Nagarik News •
November 13, 2026 • 03:48 PM
1
1 reads 0 reactions

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनसँगको राजनीतिक, आर्थिक तथा प्राविधिक सम्बन्ध विस्तारसँगै त्यहाँको विकास मोडेल, विपद् व्यवस्थापन र स्थानीय सरकार सञ्चालन प्रणालीको अध्ययनलाई प्राथमिकतामा राख्दै ११ दिने चीन भ्रमणको तयारी गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणको कार्यतालिका निश्चित भएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहने प्रतिनिधिमण्डलले कात्तिक २९ गते (नोभेम्बर १५) देखि चीन भ्रमण गर्नेछ। टोली सिचुवान प्रान्तको छेङ्दुबाट भ्रमण सुरु गरी विभिन्न प्रान्तका औद्योगिक, शैक्षिक, प्राविधिक तथा प्रशासनिक संरचनाको अध्ययन गर्दै बेइजिङ पुगेर भ्रमण सम्पन्न गर्नेछ।

भ्रमणको पहिलो चरणमा सिचुवान प्रान्तका विकास आयोजना र संस्थाहरूको अवलोकन गर्ने कार्यक्रम छ। नोभेम्बर १६ मा टोलीले त्यहाँस्थित ‘हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्क’ को भ्रमण गर्नेछ। सोही दिन सीपीसीको पार्टी स्कुलका नेताहरूसँग विचार आदानप्रदान गर्ने कार्यक्रम पनि तय भएको छ। उक्त छलफलमा रास्वपाका तर्फबाट महामन्त्री आचार्यले धारणा राख्नेछन्।

नोभेम्बर १७ मा टोलीले सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेन्चुआन क्षेत्रको भ्रमण गर्नेछ। उक्त भूकम्पमा ८७ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। भूकम्पपछि पुनर्निर्माणका लागि अपनाइएका विधि, संरचना पुनःस्थापना र विपद्पछिको व्यवस्थापनबारे टोलीले अध्ययन गर्नेछ।

नोभेम्बर १८ मा छेङ्दुस्थित अनुसन्धानमा आधारित ‘जायन्ट पाण्डा ब्रीडिङ’ केन्द्रको अवलोकन गर्ने कार्यक्रम छ। त्यसै दिन सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी हुनेछ। प्राकृतिक विपद्को जोखिममा रहेको नेपालका लागि विपद् पूर्वतयारी, उद्धार, राहत र पुनर्निर्माणका अभ्यास अध्ययन गर्नु भ्रमणको एउटा महत्त्वपूर्ण पक्षका रूपमा रहेको छ।

नोभेम्बर १९ मा टोली जेजियाङ प्रान्तका लागि प्रस्थान गर्नेछ। त्यहाँ नोभेम्बर २० मा रोबोटिक्स प्रविधिसम्बन्धी क्षेत्रको भ्रमण तथा औद्योगिक पार्कको अवलोकन गर्ने कार्यक्रम छ। औद्योगिक उत्पादन, स्वचालित प्रविधि र आधुनिक उद्योग सञ्चालनका अभ्यासबारे जानकारी लिने टोलीको तयारी छ।

नोभेम्बर २१ मा तीव्र गतिको रेलमार्फत यीवू अन्तर्राष्ट्रिय व्यापार केन्द्रको भ्रमण गर्ने कार्यतालिका छ। त्यसै दिन ग्रामीण तहमा सरकार सञ्चालन र तल्लो तहसम्म पार्टी संरचना निर्माणसम्बन्धी अभ्यासको अवलोकन गर्नेछ। स्थानीय सरकारको कार्यसम्पादन, सेवा प्रवाह र ग्रामीण विकासका मोडेलबारे अध्ययन गर्ने कार्यक्रमलाई पनि भ्रमणमा समेटिएको छ।

नोभेम्बर २२ मा जेजियाङ विश्वविद्यालयमा ‘थिंक ट्यांक’ विकाससम्बन्धी अध्ययन हुनेछ। त्यसको भोलिपल्ट नोभेम्बर २३ मा जिन्ह्वामा चीन–नेपाल उद्यमीबीच ‘इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्स’ आयोजना हुनेछ। उक्त कार्यक्रममा दुवै देशका उद्यमी सहभागी हुनेछन्। रास्वपाका तर्फबाट महामन्त्री आचार्यले विचार राख्ने कार्यक्रम छ। यसले दुई देशबीच व्यापार, लगानी र उद्यमशीलताका क्षेत्रमा सहकार्यका सम्भावना पहिचान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

भ्रमणको अन्तिम चरणमा नोभेम्बर २४ मा प्रतिनिधिमण्डल बेइजिङ पुग्नेछ। त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सीपीसीका विज्ञहरूसँग छलफल गर्नुका साथै पार्टीको ऐतिहासिक संग्रहालयको अवलोकन पनि गर्नेछ। चीनको राजनीतिक इतिहास, पार्टी सञ्चालन प्रणाली र विकास यात्राबारे जानकारी लिने कार्यक्रमसमेत भ्रमणमा समेटिएको छ।

११ दिने भ्रमण पूरा गरी टोली नोभेम्बर २६ मा स्वदेश फर्कनेछ।

महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी छन्।

त्यस्तै सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।

चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको थियो। प्रधानमन्त्रीले सांसदहरूलाई भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न, दुई देशबीचको सम्बन्ध र सहकार्यका सम्भावनाबारे अध्ययन गर्न तथा भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको विकास र नीतिनिर्माणमा उपयोग गर्न निर्देशन दिएका थिए।

विकास, प्रविधि र राजनीतिक सम्बन्ध विस्तारमा जोड

रास्वपाको चीन भ्रमणलाई केवल औपचारिक राजनीतिक भ्रमणमा सीमित नराखी विकासका विभिन्न क्षेत्रको अध्ययन र अनुभव आदानप्रदानसँग जोडिएको देखिन्छ। भ्रमणको कार्यतालिका हेर्दा औद्योगिक विकास, रोबोटिक्स, तीव्र गतिको रेल, विपद् व्यवस्थापन, विश्वविद्यालय तथा अनुसन्धान संस्था, ग्रामीण शासन प्रणाली र उद्यमशीलता मुख्य प्राथमिकतामा छन्।

विशेषगरी प्राकृतिक विपद् व्यवस्थापन र पुनर्निर्माण, स्थानीय तहको प्रभावकारी सञ्चालन तथा औद्योगिक र प्राविधिक विकासका चिनियाँ अभ्यास नेपालका लागि अध्ययनका विषय बन्न सक्छन्। त्यस्तै, सीपीसीका उच्च नेताहरूसँगको भेटवार्ता र पार्टी तहको विचार आदानप्रदानले दुई राजनीतिक दलबीचको सम्बन्ध विस्तारको अवसरसमेत प्रदान गर्नेछ।

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

प्रकाशित: २७ कार्तिक २०८३ २१:३३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
चीन भ्रमणलाई आर्थिक विकाससँग जोड्न प्रधानमन्त्रीको रास्वपा टोलीलाई निर्देशन

चीन भ्रमणलाई आर्थिक विकाससँग जोड्न प्रधानमन्त्रीको रास्वपा टोलीलाई निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा जान लागेको सांसद तथा पार्टी नेताहरूको टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको छ। नोभेम्बर...

#भ्रमण #रास्वपा #चीन
Compare →
Onlinekhabar
11h ago
रास्वपाका २० नेताले चीन भ्रमण गर्दै

रास्वपाका २० नेताले चीन भ्रमण गर्दै

२७ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता चीन भ्रमणमा जान लागेका छन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन जान लागेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) निमन्त्रणामा रास्वपा …

#भ्रमण #रास्वपा #चीन
Compare →
Ekantipur
1d ago
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#भ्रमण #रास्वपा #चीन
Compare →

Related Stories

Politics & Governance
Build #2611