उत्तर कोरियासँग जोडिएका ह्याकरहरूले नक्कली भिडियो कल, चोरी गरिएका पहिचान र एआईबाट बनाइएका डिपफेक भिडियो प्रयोग गरेर १८ महिनामा ४० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरी गरेको अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ।
हालको विनिमय दरअनुसार ४० करोड अमेरिकी डलर नेपाली रुपैयाँमा ६० अर्ब २९ करोड रुपैयाँभन्दा धेरै हुन्छ।
एफबीआईले यस साइबर अपराध अभियानलाई ‘फेसस्टिलर’ नाम दिएको छ। ह्याकरहरूले मुख्य रूपमा क्रिप्टोकरेन्सी र वेब–३ क्षेत्रमा काम गर्ने व्यक्तिलाई निशाना बनाएको बताइएको छ।
फेसस्टिलर अभियानमा ह्याकरहरूले पहिलेका पीडितको सामाजिक सञ्जाल तथा सञ्चार खातामा पहुँच बनाएर उनीहरूकै चिनेजानेका व्यक्तिलाई भिडियो बैठकको निम्तो पठाउने गर्छन्। बैठकमा पुगेपछि पीडितलाई आफूले चिनेको व्यक्तिको जस्तो देखिने नक्कली भिडियो देखाएर विश्वासमा लिइन्छ।
ह्याकरहरूले प्रभावशाली तथा चर्चित व्यक्तिको एआईबाट बनाइएको डिपफेक भिडियोसमेत प्रयोग गर्ने गरेको एफबीआईले जनाएको छ।
भिडियो बैठकका क्रममा ‘अडियो चलेन’ वा अन्य प्राविधिक समस्या भएको बहाना बनाइन्छ। त्यसपछि समस्या समाधान गर्ने भन्दै पीडितलाई लिंक खोल्न वा केही निर्देशन पालना गर्न लगाइन्छ। लिंकमा क्लिक गरेपछि पीडितको उपकरणमा हानिकारक सफ्टवेयर अर्थात् मालवेयर प्रवेश गराइन्छ।
उपकरणमा पहुँच पाएपछि ह्याकरहरूले क्रिप्टोकरेन्सी चोरी गर्नुका साथै पीडितको सम्पर्क सूची, सामाजिक सञ्जाल र सञ्चार एपमा पहुँच बनाउन सक्छन्। त्यसपछि पीडितकै चिनेजानेका अन्य व्यक्तिलाई पनि यही तरिकाले ठगीको निशाना बनाइन्छ।
एफबीआईका साइबर शाखाका सञ्चालन निर्देशक ब्रेट लेदरम्यानले उत्तर कोरियाली सरकारले अवैध हतियार कार्यक्रमका लागि रकम जुटाउन ठूलो मात्रामा क्रिप्टोकरेन्सी चोरी गर्ने गरेको बताएका छन्। उनका अनुसार पछिल्ला वर्षमा यसरी अर्बौं डलर चोरी भएको छ।
एफबीआईको लस एन्जलस कार्यालयका सहायक निर्देशक प्याट्रिक ग्रान्डीले फेसस्टिलरलाई अत्यन्त प्रभावकारी सामाजिक इन्जिनियरिङ ठगीको विधि बताएका छन्। उनका अनुसार यसले प्राविधिक ज्ञान भएका र साइबर सुरक्षाप्रति सचेत व्यक्तिलाई समेत झुक्याउन सक्छ।
एफबीआईका अनुसार अनुसन्धानका क्रममा फेसस्टिलरका पीडितका ९०० भन्दा बढी वेबक्याम भिडियो बरामद गरिएका छन्।
उत्तर कोरियाली ह्याकरहरूले मानिसले चिनेजानेका व्यक्तिमाथि गर्ने विश्वास र भिडियो कलप्रतिको भरोसालाई नै ठगीको हतियार बनाएको एफबीआईले जनाएको छ। एजेन्सी
प्रकाशित: २७ कार्तिक २०८३ २१:३९ शुक्रबार